सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नगरपालिकाले क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा रातभर खुल्ला चौरमा सुताई

रौतहट । भारतबाट क्वारेन्टाइनमा बस्न भनेर आएका रौतहटका युवाहरु रातभर खुुल्ला चौरमा बस्न बाध्य भएका छन् । जिल्लाको चन्द्रपुर नगरपालिकाले उनीहरुलाई राख्नको लागि क्वारेन्टाइनको व्यवस्था गर्न नसक्दा उनीहरु एक रातभर खुला चौरमा सुत्न बाध्य भएका थिए ।

उनीहरुले बुधबारको रात खुल्ला चौर र ट्रकमुनि बसेर कटाएका थिए । चन्द्रपुर नगरपालिकाका वडा नम्बर ३, ९, १०, ४, ८ र ६ नम्बर ५१ जना युवाहरु बिहीबार पनि दिनभर खुल्ला आकाशमुनि चौरमै बस्नु परेको थियो ।

उनीहरुलाई चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रवि देवकोटाले सीमा क्षेत्र गएर बुधबार दिउँसो ल्याएका थिए । यी मध्ये अधिकांश चन्द्रपुर- ३ का रहेका छन् । वडा अध्यक्ष देवकोटाले चन्द्रपुर- ६ स्थित एन्फा महिला एकेडेमीमा रहेको क्वारेन्टाइनमा कोरोना संक्रमण पुष्टि भएकाहरु राखिएको र थप मानिसहरु राख्न ठाउँ पनि नभएकाले उनीहरुलाई अन्त कतै व्यवस्था गर्न नसक्दा चौरमै राख्नुपरेको बाध्यता सुनाउनुभयो । उहाँले ती युवाहरुलाई लिएर एक-दुई अन्य स्थानमा राख्ने प्रयास गर्दा पनि नसकेपछि चौरमा बसाउनुपर्ने बाध्यता सुनाउनुभयो ।

बुधबार दिउँसो भारतको सिमाबाट चन्द्रपुर आएका उनीहरुलाई बिहीबार साँझ मात्र व्यस्थापन गरिएको थियो । उनीहरुलाई अहिले चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित सुवलाल भागवत मा.वि.मा राखिएको छ । सो विद्यालयमा राख्ने क्रममा स्थानीयले केहीबेर अवरोध गरे पनि पछि उनीहरुलाई सोही विद्यालयमै व्यवस्थापन गरिएको थियो ।

दुई दिनको हण्डर र दुःखपछि बस्न पाएकोमा भारतबाट आएक युवाहरुले राहतको सास फेरेका थिए । उनीहरुले आफूहरु भारतमा लकडाउन र कोरोनाको कहरले गर्दा दुःख पाएर आफ्नो देश र आफ्नो गाँउ फर्कदा पनि बस्नको लागि ठाउँ नपाएकोमा दुःख लागेकाे बताए । उनीहरुले नगरपालिकालाई भारतबाट फर्कनेहरुको उचित व्यस्थापन गर्न अविलम्ब पहल गर्न सुझाउँदै आफुहरुले जस्तो मानसिक र शारीरिक कष्ट अरुले नपाउन् भनेर कामना पनि गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »