सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमोबुद्धका युवालाई उद्यमशील बनाउन अभियान शुरु

काठमाडौ। सहुलियतपूर्ण कर्जा प्रवाहको व्यवस्था गरी युवाहरुलाई उद्यमशील बनाउन नमोबुद्ध नगरपालिकाले अभियान शुरु गरेको छ । सोही अभियानअन्तर्गत सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम सोमबारबाट भकुण्डेबेसीमा सुरु भएको छ ।

तालिमको उद्घाटन कार्यक्रम राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलको प्रमुख आतिथ्यता तथा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष ढुंगेलले नमोबुद्ध नगरपालिकालाई उद्यमको केन्द्र बनाउन सकिने भन्दै त्यसैका लागि नमोबुद्धमा राष्ट्रियस्तरको युथ इनोभेसन सेन्टरको काम सुरु गरिएको बताए । युवा परिषदले विना धितो युवाहरुलाई उद्यमका लागि ऋण दिने व्यवस्था ल्याएको बताउँदै उनले सहुलियतपूर्ण कर्जाको व्यवस्थाले एकैपटक मुलुकका चार लाख युवालाई समेट्ने बताए । सोही अभियानअन्तर्गत अहिले विभिन्न पालिकाहरुमा तालिम आयोजना गरिएको र युवालाई उद्यमशिलतातर्फ आकर्षित गरिएको ढुंगेलले बताए । अहिलेसम्म झण्डै ३३ हजार युवाले सहुलियतपूर्ण कर्जामार्फत उद्यम गरिरहेको उनले बताए । युवा परिषदले विभिन्न बैंकहरुसँग सहकार्य गर्दै स्वरोजगार बन्न चाहने युवाका लागि सहुलियतपूर्ण कर्जा प्रवाहको लागि सहजीकरण गरिरहेको भन्दै ढुंगेलले लगानी र ऋण अभावमा काम गर्न नरोकिने बताए ।

कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले युवालाई विदेश जान रोक्ने र गाउँघरमै उद्यमी बनाउने उद्देश्यले नगरपालिकाले काम गरिरहेको बताए । नगरभित्रका युवाहरुलाई उद्यमशील बनाउन नगरपालिकामा रहेका बैंकहरुसँग छलफल भइसकेको जानकारी दिँदै तिमल्सिनाले सहुलियतपूर्ण कर्जा प्रवाहका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए । उनले उर्जाशिल युवालाई उद्यमी बनाउन चाहेको भन्दै राष्ट्रिय युवा परिषद लगायत विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए । युवामैत्री नगर बनाउने उद्देश्यले नै नगरपालिकामा युवा परिषद गठन गरेर कार्यक्रमहरु सञ्चालन गर्न सुरु गरिएको पनि उनले जानकारी दिए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विदेश नगई स्वदेशमै स्वरोजगार बन्न चाहने युवालाई उद्यमशिल बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । युवाहरुलाई उद्यमशील बनाउन सके समग्र नगरको आर्थिक विकासमा टेवा पुग्ने पनि पौडेलले बताए ।

तालिममा नमोबुद्ध नगरपालिकाका वडा न।। ३, ४, ५, ७ र ११ गरी ५ वटा वडाका २५ जना युवाहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई देवीप्रसाद अधिकारी र रचना पण्डितले प्रशिक्षण दिइरहेका छन् । तालिम एक सातासम्म सञ्चालन हुने र बाँकी वडाका युवाहरुका लागि दोस्रो चरणको तालिम आयोजना गरिने नमोबुद्ध नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले जानकारी दिए । तालिमपछि युवाहरुले बिजनेश प्लान तयार गर्ने र त्यसैको आधारमा सहुलियतपूर्ण कर्जा उपलव्ध गराउन पहल गर्ने खनालले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »