सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमोबुद्धमा तीन दिने तालिम समापन

भकुण्डेबेशी। नमोबुद्ध नगरपालिकाद्वारा आयोजित कार्यालय व्यवस्थापन, जिन्सी खरिद र लेखासम्वन्धी तीन दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

तालिममा नमोबुद्ध नगरपालिकाका ३२ जना र रोशी गाउँपालिकाका ६ जना गरी ३८ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको समापन गर्दैै नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले जनप्रतिनिधिले तयार पारेका नीतिलाई कर्मचारीले कार्यान्वयन गर्ने भएकाले यस्ता तालिमले त्यसमा सहयोग पु¥याउने बताए ।

विगतमा पनि समयसमयमा कर्मचारीहरुलाई क्षमता विकासका लागि तालिम दिइएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने तिमल्सिनाले बताए । उनले कर्मचारी र जनप्रतिनिधिबीच सहकार्य जरुरी रहेको भन्दै त्यसले समृद्ध नगर बनाउने सपना साकार पार्न मद्दत पुग्ने बताए । उनले यो तालिममा नमोबुद्ध नगर र यसअन्तर्गतका कार्यालयका कर्मचारीमात्रै नभई छिमेकी रोशी गाउँपालिकाका कर्मचारी समेत सहभागी भएको र आगामी दिनमा पनि अन्य पालिकासँग यस्ता तालिममा सहकार्य गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तालिमले अध्ययनको दायरा बढाउने बताए । उनले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न कर्मचारीहरुलाई आग्रह गर्दै आगामी दिनमा पनि क्षमता विकासका लागि यस्ता तालिम आयोजना गर्ने बताए । यस्तै वडा नं. ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्लेले तालिम लिएर सिकाईमा मात्रै सीमित नराखी त्यसलाई व्यवहारमा कार्यान्वयन गरेमात्रै प्रतिफल प्राप्त हुने बताए । समापन कार्यक्रममा तालिमका सहभागीहरुमध्ये बलराम पौडेल र रमा विश्वकर्माले तालिम प्रभावकारी बनेको र तालिमले आफूहरुको क्षमता विकासमा थप टेवा पुगेको बताए ।


सहभागीहरुलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सहसचिव नारायण अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बाबुराम ज्ञवाली, नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल तथा नमोबुद्ध नगरपालिकाका लेखा अधिकृत रिपुध्वज केसीले प्रशिक्षण दिएका थिए । तालिमको समापन समारोहमा नगरपालिका उपप्रमुख रामदेवी तामाङ, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव जनार्दन रिजाल, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »