सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरले ल्यायो २०७७/७८ को नीति तथा कार्यक्रम बजेट बुधबार आउने


नरैनापुर(बाँके), नरैनापुर गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

गाउँपालिकामा मंगलबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहले ५० बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड–१९ संक्रमणलाई स्थिर बनाउँदै नरैनापुरलाई कोरोनारहित पालिका बनाउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको छ ।

कोभिड–१९ लाई नियन्त्रणमा लिन कुनै अभाव नहुने गरी बजेटको व्यवस्था मिलाउने, कोभिड महामारीका कारण विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सिपको विवरण रोजगार सूचना केन्द्रमा अद्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्रको रोजगारदातासंग समन्वय गरी रोजगारी प्रदान गर्न सहजीकरण गर्ने, पालिकाभित्रका १६ बर्ष माथिका युवाहरुलाई सुरक्षा निकायमा रोजगारीका लागि छनोट हुन सहयोग पुग्ने उद्देश्यले आवश्यक तालिमको व्यवस्था मिलाउने, काम गर्ने उमेर र जोश जाँगर भएका युवायुवतीलाई व्यवसायिक तथा सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार तथा रोजगारीमा आवद्ध गर्ने विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा विपन्न परिवारका महिलाहरुलाई उच्च अध्ययनमा सघाउन छोरी बुहारी छात्रबृत्ति कार्यक्रम, नयाँ जन्मिने हरेक छोरीको विमा गर्ने, आफ्ना बालबच्चालाई विद्यालय नपठाउने अभिभावकलाई वडा कार्यालय र गाउँपालिकाबाट दिइने सेवा प्रवाहबाट बञ्चित गर्ने, गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने, लोकसेवा आयोग तयारी कक्षाको व्यवस्था गर्ने, कृषि पकेट क्षेत्र घोषणा गर्दै व्यवसायिक कृषि खेतीलाई प्रोत्साहन गर्ने, कृषकलाई बगर खेतीका लागि प्रोत्साहन गर्ने, नश्ल सुधार कार्यक्रम अन्तर्गत् कृत्रिम गर्भाधारणका लागि आवश्यक मेसिन ल्याबको व्यवस्था गर्ने, युवा कृषकहरुको गाउँपालिका स्तरीय सञ्जाल बनाई तिनीहरुलाई अनुदान तथा सहयोगको व्यवस्था गर्ने विषयहरु समेटिएका छन् ।

त्यस्तै लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा स्तरबृद्धि गरी आँखा उपचार सहितको सेवा विस्तार गर्ने, सरसफाईमा वडा तथा बस्तीहरुबीचमा प्रतिष्पर्धाको वातावरण सिर्जना गर्ने, विद्यालयहरुमा प्रविधिमैत्री शिक्षण तथा भर्चुअल कक्षा संचालनको लागि आवश्यक व्यवस्था मिलाउने, विद्यालयमा कक्षा छोड्ने दर घटाई टिकाउदरमा सुधार गर्न तथा छात्रा सहभागितामा बृद्धि गर्न प्रोत्साहन कार्यक्रम संचालन गर्ने, गाउँपालिकामा एफएम रेडियो सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने, नरैनापुर–अगैया सडकलाई शिघ्र निर्माण गर्नका लागि नेपाल सरकार, प्रदेश नम्बर ५ सरकार तथा राप्तीसोनारी गाउँपालिकासंग समन्वय गरी बाटो विस्तार कार्यलाई अघि बढाउने, औद्योगिक ग्राम स्थापना गर्ने, हुलाकी सडकदेखि वडा कार्यालयहरुसम्म पक्की सडकले जोड्ने लगायतका बुँदाहरु नीति तथा कार्यक्रममा उल्लेख छन् ।

गाउँसभा उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना शेष, वडा नम्बर ५ का अध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का अध्यक्ष विरेन्द्रपाल सिंह, गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायतले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्नुभएको थियो ।

उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्मा, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको गाउँसभाको सञ्चालन प्रशासन तथा जिन्सी इकाई प्रमुख भरत महतोले गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »