सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालको पहिलो टि-२० शतकको एक वर्ष पूरा

काठमाडौं। काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष आजकै दिन नेपाली क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि पहिलो टि२० शतक प्रहार गरेका थिए ।

पारस त्रिकोणात्मक टि-२० सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध टि२० आई क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका थिए । पहिलो दिन जित नजिक पुगेको नेपाल टेष्ट टोली जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । जिम्बावेसँग पराजित भएपनि उक्त प्रर्दशनले खेलाडीको मनोबल बढाएको थियो ।

टस जितेर पहिला ब्याटिङ थालेको सिंगापुरले कप्तान टिम डेविडको अविजित ६४ रनमा ३ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको नेपालले पारसको शतकमा १६ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य सहजै भेट्यो ।

नेपाल त्यस शतकको एक महिना अघि आईसीसी टि२० विश्वकप एसिया छनोटको निर्णायक अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । उपाधिको प्रमुख दाबेदार नेपाल एसिया छनोटबाटै बाहिरिएपछि कप्तान पारस आलोचित समेत बने । समर्थक र शुभचिन्तकले धेरै आशा गरेको हुँदा नतिजाले बढि निराशा दिलायो ।

सिंगापुर र जिम्बावेसँग त्रिकोणात्मक सिरिज खेल्न जानु अघि नेपालको सोच पनि त्यसै हारको पिडा कम गर्ने र नेपालको असली स्तर देखाउने थियो । कप्तान पारस र ईशान पाण्डे ओपनरको रुपमा इन्डियन एसोसियसन मैदान छिरेका थिए । पहिलो दिन डेब्यू खेलमा ४ रनमा आउट भएका इशान दोस्रो दिन जनक प्रकाशको एलवी डब्लू सिकार बन्दै ५ रनमा पेभिलिएन फर्किए ।

त्यसअघि पारसले पहिलो ओभरमा तेस्रो बलमा एक रन बटुल्दै स्ट्राइक इशानलाई दिए । पारसको सुरुवाती समय सोच स्ट्राइक आफु भन्दा अन्य आरिफ शेखलाई दिने देखिन्थ्यो । दोस्रो ओभरमा पारस ठूला सटको लागि खासै जोड दिएनन् ।

तेस्रो ओभरमा स्पिनर बिनोथ बसकरनलाई दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो र चौथो बलमा ठूलो सटको लागि प्रयास गरेपनि असफल हुन पुग्दै डट खान पुगे । पाँचौ बलमा पारसले स्ट्रेटमा छक्का प्रहार गरे । जुन नेपालको इनिङमा पहिलो छक्का थियो । लगत्तै अर्को बल छक्काको खाएको दबाबमा वाइड फाले । अन्तिम बलमा पारसले एक्स्ट्रा कभरमा चौका प्रहार गरे ।

चौथो ओभरमा आरिफ शेखले चौथो बलमा २ रन जोड्न बाहेक अन्य सबै डट खान पुगे । पाँचौ ओभरको पहिलो बलमा टिम डेविडले पारसलाई डट राखे । दोस्रोमा १ रन लिदैं पारसले स्ट्राइक आरिफलाई दिए । पारसले छैटौं ओभरको तेस्रो बलमा स्क्वायर लेगमा सिद्धान्त सिंहलाई चौका प्रहार गरे । पारसले चौथो र पाँचौ बल डट खान खाए । अन्तिम बलमा १ रन लिर्दै स्ट्राइक आफ्नो साथमा राखे ।

पारसले सातौं ओभरको पहिलो बलमा विजय कुमारलाई ठूलो सट प्रहार गर्न चाहेनन् । गल्लीमा फिल्डर भएको कारण १ रन लिन पाएनन् । दोस्रो बलमा भने लग वनमा कडा छक्का प्रहार गरे । लगत्तै अर्को बल पारसले फाइन लेगमा प्रहार गर्दै १ रन बटुले । पाँचौ बलमा १ रन लिए ।

सातौ ओभरमा पारसले अनन्त कृष्णलाई पहिलो बलमा २ रन लिए । दोस्रो बल डट खान पुगे । तेस्रो बलमा ठूलो सट प्रहार गर्न खोजेका पारसले जीवन दानपाए । डिप र एस्ट्रा कभरमा तीन फिल्डरको बीचमा बल खसेको थियो । पारसले चौथो र पाँचौ बलमा लगातार दुई छक्का प्रहार गर्दै अर्ध शतक नजिक पुगे । अन्तिम बलमा पारसले रन लिन चाहेनन् ।

पारसले नवौं ओभरको चौथो बलमा मिड विकेटमा विजय कुमारलाई १ रन प्रहार गर्दै आफ्नो टि२० आई करिअरको चौथो अर्ध शतक पुरा गरे । २९ बलमा अर्ध शतक पुरा गरेका थिए । अर्ध शतक पछि कप्तान पारसले रनको गतीलाई बढाए । अन्तिम बलमा चौका प्रहार गरे ।

नवौं ओभरपछि पारसले आरिफलाई केहि सम्झाउदै स्ट्राइकमा पठाएका थिए । त्यस वेला सम्म आरिफले १८ बलमा १२ रन जोडेका थिए । आरिफले ९ औं ओभरको पहिलो बलमा कृष्णलाई चौका प्रहार गर्दा अर्को बलमा १ रन लिए । पारसले तेस्रो र चौथो बलमा लगातार स्टेटमा कडा छक्का प्रहार गरे । लगतै अर्को बलमा १ रन लिए ।

११ औं ओभरमा भने आरिफलाई पारसले मौका दिए । पारस १२ औं ओभरमा पनि ठूला सटमा जोखिम उठाएनन् । पारस आफू अविजित रहँदै जिताउने सोचले १२ ओभरको तेस्रो बलमा २ र चौथो बलमा १ रन दिँदा अन्य बलमा स्ट्राइक आरिफलाई दिए । पारसको ब्याटिङ र सुझावले आरिफको दबाब हटिसकेको थियो । त्यसैको कारण सुरुवाती समय रन जोड्न निकै संघर्ष गरिरहेका आरिफ खुलेर खेल्न थाले । १३ ओभरको पहिलो बलमा आरिफले लेग साइडमा चौका र अर्को बलमा १ रन जोड्दै स्ट्राइक पारसलाई दिए ।

तेस्रो बलमा सिद्धान्तलाई पारसले एक्स्ट्रा कभरमा सुन्दर चौका प्रहार गरे । पारस यतिकैमा रोकिएनन् । लगत्तै अर्को बलमा पनि चौका प्रहार गरे । पारसले पाँचौ बलमा स्टेटमा कडा छक्का प्रहार गर्दै बल मैदान बाहिर पुर्याए । अन्तिम बलमा लेग साईडमा बल धकेल्दै आफ्नो व्यक्तिगत स्कोर ८६ मा पुर्याए । यसअघि पनि पारसको उच्च ब्यक्तिगत स्कोर ८६ रन अविजित मलेसियाविरुद्ध थियो । अव सबैको ध्यान शतकमा थियो । टि२० मा नेपालबाट हालसम्म शतक नबनेको हुँदा विशेष महत्त्वका साथ हेरिएको थियो ।

१४ ओभरको पहिलो बलमा अर्यायमन सुनिलको बलमा स्टेटमा हान्न खोज्दा बल स्टम्पमा लागेर रोकियो । लगत्तै अर्को बलमा १ रन लिए । त्यति बेला सम्म पारसले व्यक्तिगत उच्च स्कोरको रेकर्ड तोडिसकेका थिए । पारसले चौथो बलमा लङ वनमा छक्का प्रहार गर्दै नयाँ कीर्तिमान रचे । पारस टि२० इतिहासमा नेपालबाट सर्वाधिक रन बनाउने खेलाडी बने । यो सफलता हात पार्न पारसले महबुब आलमलाई पछि पारेका थिए । आलमले सन् २०११ मा टियू मैदानमा साउदी अरेयिबाविरुद्ध ८८ रन प्रहार गरेका थिए । त्यो छक्कासँगै पारस व्यक्तिगत स्कोर ९३ रन पुग्यो ।

९० रन जोडेपछि धेरै ब्याट्सम्यानलाई खुलेर खेल्न र विकेट गुम्ने डर हुन्छ । पाँचौ डट खाएका पारसले अन्तिम बलमा १ रन लिदै स्ट्राइक लिए । समर्थक र पेभिलिएनमा बसेका खेलाडीमा भित्रभित्रै पारस नर्भस नाइन्टिजको शिकार नबनुन् भन्ने थियो । आत्माविश्वासी पारसले आफ्नै पुरानै शैलीलाई निरन्तरता दिए ।

१५ औं ओभरको पहिलो बलमा डेविडले १ रन दिए । आरिफले अर्को बलमा चौका प्रहार गरे । अन्य दुई बल डट खाए र पाँचौमा १ रन लिदै अन्तिम बलमा पारसलाई स्ट्राईक दिए । पारसले एक रन लिदै स्ट्राइक आफुले राख्ने अनुमान गरिएको थियो । तर डेविडलाई छक्का प्रहार गर्दै पारसले ४९ बलमा शतक पूरा गरे । उक्त शतक पूरा गर्न पारसले ६ चौका र ९ छक्का प्रहार गरेका थिए ।

शतक प्रहारसँगै इतिहास पनि रचे । नेपालबाट टि२० आई इतिहासमा पहिलो शतक प्रहार गर्ने खेलाडी बने । १६ ओभरको अन्तिम बलमा सुनिललाई पारसले चौका प्रहार गर्दै ९ विकेटको कीर्तिमानी जित पक्का गरे । पारस ५२ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै १ सय ६ रनमा अविजित रहे ।

अन्तर्राष्ट्रिय टि२० क्रिकेटमा नेपालबाट शतक प्रहार सामान्य कुरा होइन । तर ऐतिहासिक पहिलो शतक प्रहार गरेका पारसको सेलिब्रेसन सामान्य रह्यो । अन्तर्राष्ट्रिय टि२० क्रिकेटमा पहिलो शतक प्रहार गर्दा अन्य खेलाडीको हाउ भाउ फरक हुने गर्दछ । पारसले सामान्य रुपमा ब्याट उठाएर समर्थकलाई अभिनन्दन गरेका थिए ।

जुन नेपालको मात्र पहिलो टि-२० शतक थिएन अन्तर्राष्ट्रिय टि२० आईमा लक्ष्य पछ्याउँदा कप्तानको पहिलो शतक समेत थियो । लामो समय देखी विवादमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको नेतृत्व पनि त्यसै दिन पाएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »