सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगञ्जमा अन्त्र्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहमति

नेपालगञ्ज, नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उप–महानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रा ताल र कर्वलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा बाँडफाँडमा सहमति जुटेको छ ।

बैठकमा रंगशाला निर्माण, मुस्लिम समुदायको कर्वला निर्माण, ६ नम्बर वडा कार्यालय तथा हिन्दुहरुको मुर्चुवा पुजास्थल निर्माण भौतिक संरचना निर्माणका लागि उप–महानगरपालिकाले प्रस्ताव गरेको नक्सालाई सामान्य हेरफेर गरि पश्चिमतर्फ मुस्लिम समुदायको कर्वला धार्मिक पर्यटकीय स्थल बनाउने, पुर्वतर्फ वडा कार्यालय र पुर्वउत्तर तर्फ हिन्दुहरुको मुर्चुवा पुजा स्थल निर्माण गर्ने सर्वसम्मतिबाट निर्णय गर्दै जग्गा बाँडफाँडका लागि वडा कार्यालयमा आवश्यक कागजात पेश गर्ने निर्णय गरिएको छ ।

धार्मिक पर्यटकीय स्थलका लागि छुट्टाइएको जग्गामा आ–आप्mनो प्रचलन अनुसार पुजापाठ गर्ने तर कुनै किसिमको मन्दिर, मस्जिद, कव्रस्थान र समशानघाट र नियमित पुजा, अजान संचालन नगर्ने निर्णय गरिएको छ ।

राजनीतिक दलका नेता, मुस्लिम समुदायका अगुवा र वडाका जननिर्वाचित प्रतिनिधी लगायतको उपस्थिती रहेको बैठकले नक्सामा बन्ने संरचना निर्माणका लागि उपमहानगरपालिकाले नेतृत्वदायी पहल गर्ने निर्णय गरेको छ ।

बैठकमा नगर प्रमुख डा. राणाले लामो समयको प्रयासपछि रंगशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य सुरु गर्ने बताउनुभयो । रंगशाला निर्माणका लागि आईसिसी, संघ र प्रदेश सरकारसमक्ष पहल गर्ने बताउनुभयो ।

यसवर्ष माटो पटानका लागि एक करोड बजेट छ । यसैगरी पर्खाल निर्माणका लागि एक करोड ५० लाख रुपिया बजेट रहेको छ ।

बैठकमा क्रिकेट मैदान स्थान छनौट समितिका संयोजक तथा सहजिकरण समितिका संयोजक सुनिलसिंह हमालले छिटो भन्दा छिटो नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि अघि बढेको बताउनुभयो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्य मो. हारुन, नेपालगञ्ज नगर अध्यक्ष डिल्ली बराल, प्रदेशसभा सदस्य मो. याकुब अन्सारी, नगर सभापति प्रशान्त विष्ट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधीको सहभागिता थियो ।

बैठकमा वडा अध्यक्ष सुधीरप्रताप सिंहले वडाभित्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण हुनु वडाबासी र नगरबासीका लागि खुशीको क्षण भएको बताउनुभयो ।

११ बिघा ६ कठ्ठा जग्गा मध्ये रंगशालाका लागि ३ विघा ३ कठ्ठा, पेभिलियनका लागि ५ कठ्ठा, कर्वलाका लागि ३ विघा, हिन्दु मुर्चुवाका लागि २ विघा ३ कठ्ठा र वडा कार्यालयका लागि ३ कठ्ठा जग्गा छुट्टाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »