सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकासंग व्यवसायीक र घरबहाल कर छुट दिन माग गरे


नेपालगन्ज नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्ज उपमहानगरपालिकासंग व्यवसायीक र घरबहाल कर छुट दिन माग गरेको छ ।

लामो समयदेखि उद्योग, व्यवसाय ठप्प रहेको भए पनि सरकारका तर्फबाट कुनै प्रकारको सहुलियत नदिएको भन्दै यहाँका व्यवसायीले स्थानीय तहको अभिभावकत्व खोजेका छन् ।

नेपालगन्जका मेयर धवल शम्सेर राणासंग सोमवार भेटेर संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले पश्चिमको आर्थिक केन्द्रलाई उकास्न कार्यमा सहयोग गर्न आग्रह गरे । ज्ञापनपत्र बुझाउँदै अध्यक्ष मन्सुरीले घरबहाल र व्यवसायीक घरमा छुट दिन माग गरे ।


‘बिश्वभर महामारीको रुप लिएको कोरोना (कोभिड–१९) संक्रमण रोक्न लकडाउन लागु गरिएको झण्डै तीन महिना बितेको छ ।’ संघका अध्यक्ष मन्सुरीले भने–‘लकडाउन कहिले खुल्छ भन्ने अनिश्चितता र सरकारका तर्फबाट कुनै प्रकारका छुट सुविधा नदिइरहेको परिप्रेक्ष्यमा पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगन्जको निजीक्षेत्र मर्माहत भएको छ ।’
लामो समयसम्म पसल, व्यवसायमा ताला झुण्डिएको छ । यतिबेला नतव्यापार न कुनै आम्दानीको स्रोत नै रहेको छ । संघका तर्फबाट बुझाईएको ज्ञापनपत्रमा भनिएको छ,–‘तर राज्यलाई तिर्नुपर्ने करका लागि पटक पटक ताकेता गरिएको छ । बैंकको ब्याज, घरधनीको घरभाडाका लागि साँझ बिहानको करकर्ले उद्योगी व्यवसायीलाई झेल्नै नसकिने तनाव सिर्जना भएको छ ।’
कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजीक्षेत्रलाई सरकारले राहत दिनुको सट्टा लकडाउनकै बीच कर तिर्नु भनी गरेको ताकेताले अझ हतोत्साहीत र मर्माहत बनाएको संघको भनाई छ ।
निजीक्षेत्रले भोग्नुपरिरहेको कठिनाईलाई पुर्णरुपमा वेवास्ता गरिएको, हालसम्मको सहनशिलता र धैर्यतालाई कमजोरीका रुपमा हेरिएको महसुस भइरहँदा पश्चिमको आर्थिक केन्द्र नेपालगन्जको उद्योग, व्यवसायीक्षेत्रलाई राहत दिन नेपालगन्ज उपमहानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने आशा र भरोसो गरिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।

उनका अनुसार। स्थानीय तहका तर्फबाट व्यवसायीक र घरबहाल करमा सतप्रतिशत छुट दिइ यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा स्थापित यहाँको निजीक्षेत्रलाई अगाडी बढ्नका लागि प्रोत्साहित गरिने कुरामा बिश्वास गरिएको छ ।

त्यसैले घरबहाल र व्यवसायीक करमा छुट प्रदान गरी कोरोनाको महामारीबाट मर्माहत भएको उद्योग, व्यवसायलाई मल्हम लगाउन र स्थानीय तहले चाहेमा निजीक्षेत्रलाई प्रोत्साहित गर्न सक्ने निर्णय गर्न सक्छन् भन्ने सन्देश प्रभाव हुने अपेक्षा गरिएको छ ।
व्यवसायीका समस्याका बारेमा मेयर राणा सकारात्मक देखिएका छन् । उनले समस्या समाधानका लागि छलफल गरी निर्णय गर्ने जानकारी दिएको संघले जनाएको छ ।

लकडाउनका कारण उपमहानगरको राजश्व संकलन पनि घटेको अवस्था रहेको बताउँदै मेयर राणाले त्यसका बाबजुद पनि समस्या समाधानको पहल गर्ने प्रतिवद्धता जनाएका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, प्रवक्ता टंकबहादुर धामी लगायतको उपस्थिती थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »