सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज नरैनापुरकाे बस्तीमा आगालागीः खरानी भए अनाज

नेपालगन्ज । पक्की घरभन्दा धेरै फुसका झुप्रा भएका नरैनापुरको खोदवामा आइतबारको दृश्य अलि फरक थियो । बाँके सदरमुकाम नेपालगन्जबाट ४० किलोमिटर दूरी पार गरेपछि पुगिने यो बस्तीमा फुसका झुप्रा निकै कम देखिन्थे ।

बाँकेको नरैनापुर–४ खोदवामा शनिबार घर जलेर खरानी भएको स्थानमा आइतबार दिउँसो केही भेटिन्छ कि भनेर खोज्दै पीडितहरू । आगलागीमा ६८ परिवारका १ सय २० घरटहरा ध्वस्त भए ।

झुप्राका काला भग्नावशेषमा केही गाउँले खरानीका थुप्रोमा केही सामान भेटिन्छ कि भन्दै खोज्दै थिए । भग्नावशेषमा खटिया हालेर बसेका केही भने घरसँगै भकारीमा डढेर खानै नमिल्ने भएको अन्न हेर्दै टोलाइरहेका देखिन्थे । केहीचाहिँ विस्थापितका लागि लहरै उभ्याइएका नीला टेन्टबाट भित्र–बाहिर गर्दै थिए ।

बाँकेको नरैनापुर गाउँपालिका–४ खोदवा गाउँमा शनिबार आगलागी हुँदा १ सय २० वटा घरटहरा ध्वस्त भएका थिए । फकिर खाँको गोठबाट सुरु भएको आगोले केहीबेरमै बस्तीका अधिकांश झुप्रालाई खरानी बनाएको थियो । भागदौडमा ४ जना गाउँले घाइते पनि भए ।

गहुँ काटेर भित्र्याउने समय परेकाले अधिकांश स्थानीय खेतमा काम गर्न गएका बेला बस्तीमा आगो फैलिएको थियो । धनमाल, अन्नपात कसैले केही झिक्न भ्याएनन् । कतिपयको दाउनी गरेर घर भित्र्याएको धान–गहुँ भकारीभित्रै डढेको छ । दमकल, प्रहरी र स्थानीय मिलेर आगो निभाएका हुन् । काठपातमा लागेको आगो आइतबार पनि पूरै निभेजस्तो देखिँदैनथ्यो । खोदवामा पस्दा चारैतिर आगोको राप ९तातो० महसुस हुन्थ्यो ।

सुगा यादव शनिबार खेतमा काम गरिरहेका थिए । उनका ५ र ६ वर्षका छोरा घरैमा खेलिरहेका थिए । आगो लागेको हल्ला सुनेर गाउँतिर हेर्दा उनलाई खेतमै बेहोस हुन्छुझैं भएको थियो । ‘धन्न बूढीले छोराछोरीलाई घरबाट बाहिर निकालिछन् । ज्यान बच्यो, अरू केही बचेन,’ उनले भने, ‘घरमा भएको गहुँ, चामल सबै जलेर सखाप भए । हामीसँग अब जीउमा लगाएको लुगा मात्र छन् ।’ घटनाको रात परिवारसहित खेतमा बितेको उनले बताए । ‘पक्की घर हुनेको जोगियो, फुसको छानो भएका हामी सबैको स्वाहा भयो,’ उनले भने ।

बस्तीमा आगलागी हुँदा नीलमकुमारी यादव पनि घरमा थिइनन् । छोराहरू मात्र थिए । “गहुँ काटेर खेतमा राख्दै थिएँ, एक्कासि धूवाँको मुस्लो देखें,” उनले सुनाइन्, “खेतमा भएका हामी दौडँदै घर पुग्यौं । आगो हाम्रो घरमा आइपुगेको थिएन तर फैलिरहेको थियो ।’ घरसम्म पक्कै आइपुग्छ भन्ने लागेपछि छोराहरूलाई लिएर बाहिर भागेको उनले बताइन् । आगोले उनको पनि घर ध्वस्त भयो । मालसामान केही निकाल्न पाइनन् । गाउँमा भागाभाग हुँदा ६ वर्षका छोरा लडेर घाइते भएका छन् ।”

यस्तै प्रमोद यादवले भरखर भित्र्याएको सात क्विन्टल गहुँ आगोले खरानी बनाएको बताए । “वर्षभरिको मिहिनेत छिनमै खरानी भयो,” उनले भने,“‘अब बाँच्न धेरै समस्या भयो ।” आगलागीमा परी गाउँका धार पनि डढेको उनले बताए । “सरकारले राहत दिनको सट्टा घर बनाइदिए कल्याण हुने थियो,” उनले भने । स्थानीय विनय दीक्षित आगलागी समाधानका लागि दीर्घकालीन विकल्प हुनुपर्ने बताउँछन् । ‘वर्षैपिच्छे हामी आगलागीको समस्या भोग्छौं । घटना हुन्छ, नेतादेखि सबै राहत बाँडेर पन्छिन्छन्,’ उनले भने, “दीर्घकालीन समाधानका लागि यस्तो गर्नुपर्छ भनेर ठोस काम कसैबाट हुँदैन ।”

पीडितका लागि राहतको व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ । ४० वटा टेन्ट राखेर बासको अस्थायी व्यवस्था गरिएको छ । एउटा टेन्टभित्र ८ जना बसेका छन । । आइतबार राति गाउँपालिकाले नै पीडितका लागि खानाको व्यवस्था गरेको थियो । ‘खाना र राहतको व्यवस्था गरिरहेका छौं,’ नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयाक अहमद शाहले भने, “राहतका भन्दा पनि अब उनीहरूको घर बनाउने कुरा प्रमुख हो । यसका लागि कसले कसरी बजेट जुटाउने भन्नेमा छलफल भइरहेको उनले बताए । शनिबारको घटनामा ६८ परिवारको घर जलेको जानकारी उनले दिए । पीडितमध्ये केहीको बेग्लै पक्कीघर पनि भएकाले उनीहरूलाई भने टेन्टमा राख्नु परेको छैन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले अग्निपीडितको पुर्नस्थापनाका लागि सरकारको तर्फबाट प्रतिपरिवार २० हजार रूपैयाँ राहत दिइने बताए । “सबैको पहलमा उहाँहरूलाई प्राथमिक आवश्यकता पूरा गरिरहेका छौं,’ उनले भने, ‘प्रदेश सरकारले कस्तो सहयोग गर्न सक्छ भन्नेमा छलफल भइरहेको छ ।”

आगलागीको उच्च जोखिम भएको स्थानीय तह रहेकाले नरैनापुले हालै एउटा दमकल खरिद गरेको थियो । शनिबार उक्त दमकलसँगै नेपालगन्जका दुई वटा थपिँदा पनि आगो नियन्त्रणमा लिन निकै समय लागेको थियो । आगलागीको चपेटमा परेको खोदवा बस्ती पर्ने नरैनापुर–४ मा १ हजार २ सय ४८ घरधुरी छन । अधिकांश घर खरले छाएका र एकआपसमा जोडिएका छन् ।

कान्तिपुर दैनिकले छापेकाे रिर्पाेटकाे साभार

भर्खरै

सम्बन्धित खबर

Language »