सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाललाई ओलीले फोहोरको झिंगाको संज्ञा दिए

एमाले अध्यक्ष केपी ओलीले आफ्ना पूर्वसहकर्मी माधव नेपालप्रति अमर्यादित अभिव्यक्ति दिएका छन् । ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई फोहोरको झिँगासँग तुलना गरेका छन् । एमाले काठमाडौंद्वारा बिहीबार आयोजित जिल्ला कार्यकर्ता भेलामा ओलीले एमालेलाई मौरी र नेपाललाई झिँगासँग तुलना गरेका हुन् ।

‘मौरीको संगत लागेर गए फूलबारी पुगिन्छ, झिँगाको पछि लागे फोहोरको डंगुरमा पुगिन्छ । त्यसकारण मौरीका पछि लाग्नुस्,’ ओलीले भने, ‘एमाले भनेको मौरीको गोलो हो । मौरीले जहाँबाट यस्तो चिज टिपेर ल्याउँछ, पवित्र, निरोगी मह बनाउँछ । झिँगाले कहिले मह बनाउँछ ? रोग फैलाउने मात्रै हो । त्यसकारण रोग फैलाउनेका पछाडि लाग्नुहुँदैन ।’

नेपालले व्यक्तिगत इगो र तुष्टि परिपूर्तिका लागि पार्टी फुटाएर समाप्तिको बाटो अख्तियार गरेको दाबी गरे । ‘घरमा आगो लगाएर, खरानी धसेर तीर्थयात्रामा हिँडेका माधव नेपाललाई म केही भन्दिनँ । तर, माधव नेपालले भ्रममा पारेका, झुक्याएका मान्छे फर्किनुस्,’ माधवले व्यक्तिगत महत्वाकांक्षा, व्यक्तिगत इगो, व्यक्तिगत अहंकार, ईष्र्याभाव र कुण्ठाबाट ग्रसित भएर अनेकका जिन्दगीसँग खेलबाड गरेको दाबी गर्दै ओलीले प्रश्न गरे, ‘आफ्नो स्वार्थका लागि दुनियाँका जिन्दगीसँग खेलबाड गर्ने ? इगोका लागि अरूको भविष्यसँग खेलबाड गर्ने ? देशको भविष्यसँग खेलबाड गर्ने ?’ ओलीले अब एमालेमा नेपालको आवश्यकता नरहेको बताए । ‘हुन त कतिपय साथीहरू माधव कमरेड आउनुस्, तपाईंको आवश्यकता छ भन्नुहुन्छ । फुटाउन आवश्यकता छ र उहाँको यहाँ ? केलाई आवश्यकता छ ? म त्यो बुझ्दिनँ,’ ओलीले भने, ‘उहाँ छइन्जेल पार्टी गुटबन्दीबाहेक केही भएन ।’

ओलीले प्रचण्डलाई भैँसी र भेडाभन्दा पनि काम नलाग्ने व्यक्तित्वका रूपमा तुलना गर्दै कठोर व्यंग्य गरेका छन् । ‘गाईलाई, भैँसीलाई घाँस हाल्यो भने दूध दिन्छ । भेडालाई घाँस हाल्यो भने ऊन दिन्छ । प्रचण्डलाई के दिएर …के दिन्छ ?’ ओलीले प्रचण्डले फकाएर मान्छे लगेको दाबी गर्दै भने, ‘मन्त्री दिन्छु भन्थे, अहिले त दुई महिना नि नाघिसक्यो । फकाउने वेलामा यहाँ पनि हाल्दिन्छु, यता पनि गहना, यता पनि गहना (हातले हाउभाउ गर्दै) भनेकोथ्यो, दुई दामको टप लाइदिएको त्यसपछि छैन ।’

माओवादी आन्दोलन समाप्तिको दिशातिर उन्मुख भएको ओलीको टिप्पणी थियो । ‘प्रचण्डलाई थाहा भइसक्यो, अब आफ्नो यात्रा सानोसानो हुँदै जान्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट प्लेन उडेको देखिन्छ नि, नजिकैबाट उड्दा विशाल प्लेन हुन्छ, कति धेरै मान्छे बोकेको हुन्छ, तर उड्दै गयो, सानो हुँदै जान्छ, खिइँदै जान्छ, सानो हुँदै…सानो हुँदै एकछिनपछि देखिनै छाड्छ,’ ओलीले भने, ‘अब प्रचण्डपथ पनि त्यही हो । यत्रो जहाज उडेको अलिक पर गयो, अलिक छैन, अलि पर्तिर गएपछि देखिन छोड्छ, कता गए प्रचण्ड, कता गयो प्रचण्डपथ । यात्रा त्यही हो अब ।’

ओलीले प्रचण्डको मनोबल गिरेको दाबी गर्दै माओवादी केन्द्रमा कसैको भविष्य सुरक्षित नरहेको बताए । माओवादी केन्द्र समाप्तिको दिशामा लागेकैले प्रचण्डबाट असन्तुलित सम्बोधन आउन थालेको उनको दाबी थियो । ‘अचेल भनेको सुन्न थाल्नुभयो होला नि– दुई वर्षपछि त म एक्लै हुन्छु कि क्या हो ! सुनिहाल्नुभो होला– होइन हामीलाई त अब वडा जित्न पनि गाह्रो छ कि क्या हो !’ प्रचण्डका पछिल्ला अभिव्यक्तिमाथि ओलीको टिप्पणी थियो, ‘यो पार्टी अब काम लाग्दैन, विघटन गर्दिए हुन्छ भनेको पनि सुन्न थाल्नुभो होला ! ४९ जना नै मन्त्री हुन मात्र खोज्छन्, म त हैरान परेँ भन्दै टाउको समाएको पनि देख्नुभो होला नि ! त्यसकारण मान्छेहरूको मनोबल अब टुटिसकेको छ ।’

भर्खरै

सम्बन्धित खबर

Language »