सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल टेलिकमको समर अफर तथा थप सुविधाहरु

नेपाल टेलिकमले समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ। कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ। नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन ५५ रुपैयाँमा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ।

त्यसैगरी, लकडाउन अफरको रूपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ। लकडाउन अफर अन्तर्गतको ‘बोनस अन रिचार्ज’ अफरलाई भने हटाइएको छ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटक उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत् राखिएको छ।

उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ। कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप अफरलाई पनि थप आकर्षक बनाइएको छ। कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ।

अब प्रिपेडमा २०० को प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ।

त्यसैगरी, सीयूजी ५०० पोस्टपेडअन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुनेछ।

नेपाल टेलिकमले हाल प्रयोगमा रहेका सीडीएमए सेवाका प्रयोगकर्तालाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजनाअन्तर्गत सीडीएमए प्रिपेड र सीडीएमए पोस्टपेड प्रयोगकर्ताका लागि निःशुल्क सिमका साथै निःशुल्क भ्वाइस, निःशुल्क डाटा प्याकेज र निःशुल्क एसएमएस सुविधा उपलब्ध गराउने भएको छ।

यसका लागि सीडीएमए प्रयोगकर्ताले नजिकको नेपाल टेलिकमको कार्यालयमा गएर आफ्नो पुरानो रिमकार्ड बुझाउनु पर्नेछ। सीडीएमए मोबाइल (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जिएसएम (पोस्टपेड र प्रिपेड) नम्बर उपलब्ध गराइने बताइएको छ।

यसैगरी, सीडीएमए फिक्स्ड (पोस्टपेड र प्रिपेड) का लागि नयाँ जीएसएम पोस्टपेड नम्बर उपलब्ध गराइनेछ। सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकले ६ महिनासम्म निःशुल्क मासिक ३०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्नेछन्।

त्यसैगरी, जिएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निःशुल्क रूपमा मासिक ४०० मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० वटा अन नेट एसएमएस गर्न सक्नेछन्।

पुससम्म जिएसएममा रुपान्तरण हुने सीडीएमए पोस्टपेडले ग्राहकलाई मासिक रेन्टल शुल्क छुट दिएको जनाएको छ। समर अफरअन्तर्गत विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415# डायल गर्नुपर्ने छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »