सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल प्रहरीमा (एआईजी) र (डीआईजी) को दरबन्दी थप

काठमाडौं । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ ।

गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) मन्त्रिपरिषद्मा पठाएको थियो । तर, सरकारले एआईजीको दरबन्दीसमेत थप गरेर स्वीकृत गरेको हो ।

एआईजीको दरबन्दी थप्ने प्रयासका कारण लामो समयदेखि ओएण्डएम स्वीकृत हुन सकेको थिएन ।

दरबन्दी थपिएको सम्बन्धी पत्र बुधबार प्राप्त भएको गृह मन्त्रालयको प्रशासन महाशाखाका सह–सचिव थानेश्वर गौतमले अनलाइनखबरलाई बताए । दरबन्दी थप भएसँगै प्रहरी प्रधान कार्यालयले रिक्त पदमा बढुवाको तयारी थालेको छ ।

थपिएको दरबन्दी महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा रहनेछ । हाल एआईजी बढुवा प्रतिष्पर्धाका लागि रानीपोखरीमा रहेका डीआईजी विश्वराज पोखरेल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का सहकुलबहादुर थापा र प्रदेश २ प्रहरी प्रमुख धिरजप्रताप सिंह दौडमा छन् ।

उनीहरुमध्ये पोखरेलले यसअघि पनि एआईजीमा बढुवाका लागि दाबेदारी प्रस्तुत गरेका थिए । तर, अन्तिम समयमा सरकारले हालकै महानिरीक्षक शैलेश थापा क्षेत्रीको ब्याचका हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा गरेको थियो ।

उनीहरु एआईजी बनेपछि डीआईजीका तीन दरबन्दी खाली भएका थिए । अब थपिएका पाँचसहित ८ पदमा बढुवाको तयारी थालिएको छ । त्यसका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।

प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »