सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पर्वतारोहण र पदयात्रामा ११ अर्ब ७० करोड क्षति

काठमाडौँ । कारोना भाइरसको त्रास बढेपछि सरकारले विदेशी नागरिकको अनअराइभल भिसा रोक्दा पर्वतारोहण र पदयात्रामा मात्रै ११ अर्ब ७० करोड रुपैयाँ हाराहारीको आम्दानी गुमेको छ ।

१८ सय हाराहारी ट्रेकिङ कम्पनीहरुको छाता संगठन टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार यस पटकको वसन्तकालीन हिमाल आरोहण तथा पदयात्रामा नेपाल सरकार र व्यवसायीहरुले ११ अर्ब ७० करोड रुपैयाँ हाराहारीको कारोबार गुमाउनु परेको हो। यसमा एयरलायन्स, होटल लगायतको कारोबार समेटिएको छैन।

टानको प्रक्षेपण अनुसार, यसमा १ अर्ब ४३ करोड रुपैयाँ बराबरको आम्दानी सगरमाथा हिमालबाट मात्रै गुमाउनु परेको छ। ‘४४ करोड रुपैयाँ हाराहारी पर्यटन विभागले गत वर्ष सगरमाथाबाट सलामी दस्तुरमात्रै उठाएको थियो,’ अध्यक्ष सुवेदीले कान्तिपुरसँग भने,‘यसमा एक्सपिडिसन कम्पनी गाइड, भरिया लगायतसँग जोडिएको कारोबार पनि जोड्दा १ अर्ब ४३ करोड रुपैयाँ हाराहारी आम्दानी सगरमाथाबाट मात्रै गुमाएका छौं।’

सगरमाथासहित ३० वटा हिमचुचुराबाट विभागले गत वर्षको वसन्तकालीन हिमाल आरोहण सिजनमा करिब ५० करोड सलामी दस्तुर संकलन गरेको थियो। जसमा ४ दर्जन मुलुकका करिब ९ सय विदेशीलाई हिमाल आरोहणको अनुमति दिइएको थियो।

यसपटक भम्रण वर्ष अभियान पनि घोषणा भएकाले यो दर झन्डै दोब्बर हुन सक्ने अनुमान गरिएको थियो। तर, सरकारले वैशाख १८ सम्म अनअराइभल भिसा नै बन्द गरेपछि यसपटकको आरोहण सिजन बन्दै भएको छ।

चार सिजनमध्ये वसन्तकालीन याम पर्वतारोहणबाहेक पदयात्रा पनि अत्याधिक हुने बेला हो। तर, यसबेला पदयात्रा पनि रोकिएको छ। ‘सरकारले पदयात्रा रोकेको घोषणा कतै गरेको छैन तर भिसा नै नदिने भएपछि विदेशी नै आएन,’ सुवेदीले भने,‘१४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू भएपछि पदयात्रा त त्यसै नै रोकिन पुग्यो।’

टानको तथ्यांक अनुसार, वसन्तकालीन सिजनमा सगरमाथा, अन्नपुर्ण र लाङटाङ सर्वाधिक पदयात्रा हुने क्षेत्रमा पर्छन्। यसबेला हजारौं विदेशी पदयात्रामा जान्थे। तर, पदयात्रा रोकिँदा ती क्षेत्रका होटल, पथप्रर्दशक, भरिया, ट्रेकिङ कम्पनी आदिले करिब १० अर्ब हाराहारीको आम्दानी गुमाउनु परेको अध्यक्ष सुवेदीले भने।

पदयात्रा, हिमाल आरोहण, होटल, एयरलायन्स लगायतका २० वटा पर्यटन क्षेत्रसम्बन्धित संस्थाहरुले सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग पर्यटन बजारको अवस्थाबारे छलफल गरेका थिए। पर्यटन बोर्डको सहकार्यमा सिंहदरबारमा भएको उक्त बैठकमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्रीले निजी क्षेत्रलाई तीन दिनभित्र माग प्रस्तुत गर्न भनेको बोर्डका सीईओ धननञ्जय रेग्मीले बताए।

उक्त बैठकमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विदेशी नागरिकहरुको आवागमन घटेका कारण अन्तर्राष्ट्रिय उडान दैनिक ६१ प्रतिशतले कटौती भएको बताएका थिए। पोखरेलका अनुसार आइतबार मध्यरातसम्म १ सय १६ विदेशी उडानको तालिका थियो तर ५१ वटामात्रै भए।

भर्खरै

सम्बन्धित खबर

Language »