सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँचौँ महाभूकम्पको स्मरण:राष्ट्रपति र प्रधानमन्त्रीद्वारा सन्देश

काठमाडौँ । आज पछिल्लो विनाशकारी भूकम्प गएको ५ वर्ष पूरा भएको छ । यसै अवसरमा आज पाचौँ भूकम्प स्मृति दिवस मनाइँदै छ ।

पाँच वर्षअघि आजैका दिन (०७२ वैशाख १२ गते) गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई ७.८ म्याग्निच्यूड स्केलको भूकम्प गएको थियो । सो विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाएकाहरूको स्मरण गर्दै राष्ट्रपछि विद्यादेवी भण्डारीले उनीहरूप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले भूकम्प स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै भूकम्पमा परी घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहेकाहरूको सहज जीवनको कामना गर्नुभएको छ ।

‘भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ । भूकम्पको निरन्तर धक्काहरूको कारण त्रास र भयमा रहनु भएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं,’ राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ, ‘सङ्कटका बेला एकजुट हुने हाम्रो असल परम्परालाई हामीले कायम राख्नु पर्दछ । प्राकृतिक विपद्ले ल्याएको सङ्कटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई अघि बढाएको र यसबीच करिव पाँचलाख निजी आवास पुनर्निर्माण सम्पन्न हुनाका साथै करिब दुईलाख निजी आवास पुनर्निर्माणको प्रक्रियामा रहेको पनि उहाँले बताउनुभएको छ ।

प्रधानमन्त्रीद्वारा सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ०७२ सालकाे विनाशकारी भूकम्प स्मरण गर्दै पाँचाैँ भूकम्प स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्नुभएकाे छ । उहाँले भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझैँ सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरस विरुद्धको लडाइमा एकताबद्ध हुन सबैमा आग्रह गर्नुभएकाे छ ।

विषम परिस्थितिका बीच अनेक दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुट्न प्रधानमन्त्रीले आग्रह गर्नुभएकाे छ ।

‘सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ,’ सन्देशमा भनिएको छ, ‘यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको सर्वविदितै छ, मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ ।’

प्रधानमन्त्रीले सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै काेराेनाविरूद्धकाे लडाइँमा पनि विजयी हुने बताउनुभएकाे छ । उहाँले पुनःनिर्माण तथा पुनःस्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको भन्दै पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग पुर्याउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी सबैलाई धन्यवाद दिनुभएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »