सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाँच पोखरीमा यो वर्ष जनै पूर्णिमामा मेला लाग्ने

सिन्धुपाल्चोक बाट सन्जिव स्याङ्बोको रिपोर्ट
सिन्धुपाल्चोक । जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँच पोखरीमा यो वर्ष पनि मेला लाग्ने भएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङमा रहेको पाँच पोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेको थिएन । यसपालि भने जनै पूर्णिमा मेला भर्न पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो ।
यो वर्षको जनै पूर्णिमा साउन २७ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा ताल रहेका छन् ।
संसारकै उच्च स्थानमा रहेको पोखरीमध्ये नवौँ स्थानमा पर्ने पाँचपोखरी सिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । इन्द्रावतीको उद्गमस्थल पाँच पोखरीमा साना ठूला धार्मिक र पर्यटकीय महत्त्वका पोखरीहरू रहेका छन् । पाँच पोखरीमा एकादशीदेखि जनै पूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्ला सहित काठमाडौँ उपत्यकाबाट समेत ठूलो सङ्ख्यामा दर्शनार्थीहरु पुग्ने गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँच पोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो, दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतीपातीमा उन्नतिको आशीर्वाद माग्ने गर्छन् । पाँच पोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले शिव सरह श्रीमान् पाउने र बिहे पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।
अहिले पाँचपोखरी सम्म पुग्ने बाटो निमार्ण, सूचना पाटी राख्ने तथा ताल संरक्षणको काम गरिएको पाँचपोखरी थाङपाल गाउँपालिका –३ भोताङका अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।
पाँचपोखरी थाङपाल गाउँपालिका –४ थाङपालकोटको रैथाने महादेव मन्दिर तथा पोखरीमा आज सरसफाइ गरिएको छ । स्थानीय, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागितामा सरसफाइ गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »