सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्व शहरी विकास मन्त्री राईको आग्रह ‘घरमै नमाज पढ्नुस्’

नेपालगन्ज,पूर्व शहरी विकास मन्त्री एवम् समाजावादी पार्टीका सचिव मोहम्मद इस्तियाक राईले घरमै बसेर नमाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेका छन् ।

मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने संघीय सांसद समेत रहेका पूर्व शहरी विकास मन्त्री राईले एक विज्ञप्ति जारी गर्दै सामाजिक दूरी कायम गर्न समेत आग्रह गरेका छन् ।

‘कोरोना भाइरसविरूद्धको लडाइँ जित्न भौतिकरूपमा सामाजिक दूरी कायम राख्दै समाजमा एकता प्रस्तुत गर्नुपर्न अहिलेको आवश्यक्ता हो,’उनले विज्ञप्तिमा भनेका छन्,’अहिले मस्जिदमा गएर नमाज पढ्दै आइरहेका सम्पूर्ण मुस्लिम दाजुभाइलाई घरमै बसेर नमाज पढिदिनुहुन आग्रह गर्दछु ।’

नमाज पढ्दै आएको मस्जिदमा कोरोना भाइरसको संक्रमणको अवधिमा कोही विदेशी नागरिक आएर आश्रय लिइरहेको भए उनीहरूलाई सम्बन्धित पालिकामार्फत् क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउन समेत उनले अपिल गरेका छन् ।

साथै, कोरोना संक्रमणको जोखिममा रहेका व्यक्तिहरूको सम्पर्कमा आएकाहरूलाई पनि क्वारेन्टाइनमा बस्न उनले अनुरोध समेत गरेका छन् । पालिकाका जनप्रतिनिधि,प्रशासनका अधिकारी र मौलना मौलवीहरूलाई पनि लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम राख्न उनले आग्रह गरेका छन् ।

‘वीरगञ्जस्थित जामे मस्जिदमा रहँदै आएका तीन भारतीयमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको सन्दर्भमा थप सचेतना अपनाउनु उपयुक्त हुन्छ,’उनले भनेका छन्’कतिपय मस्जिदहरूमा अझै पनि नमाज पढ्नका लागि धेरै संख्यामा मानिसहरू उपस्थित हुने, सामाजिक दूरी कायम नराख्ने लगायत अन्य सावधानीका उपायहरू नअपनाउने गरेको देखिएको,सुनिएको छ। जुन अत्यन्तै चिन्ताको विषय हो ।’

कोरोना भाइरसको महामारीसँग लड्न तत्कालका लागि लकडाउनको पालना गर्दै सामाजिक दूरी कायम राख्नु निर्विकल्प उपाय भन्दै पूर्व शहरी विकास मन्त्री राईले सामान्य अवस्थामा गर्दै आएका आफ्ना कतिपय दैनिक गतिविधि यतिबेला पनि नियमित गर्न खोजियो भने कोरोना भाइरस संक्रमण थप विस्तार हुन सक्ने बताएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »