सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रचण्डसँगको सम्झौताले एउटा ब्रिफकेश नै भरिएको छ, संसद पुनःस्थापना हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालसँगको सम्झौताले आफ्नो एउटा ब्रिफकेश नै भरिएको बताएका छन् । बुधबार ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलामा ओलीले दाहालसँग थुप्रै सम्झौता गरिसकेकाले कति सम्झौता गर्ने भन्दै प्रश्न गरेका हुन् ।

उनले भने, ‘प्रचण्डसँगको सम्झौताले मेरो एउटा ब्रिफकेश भरिएको छ । कति सम्झौता गर्नु ?’ पार्टी एकता गर्दाको आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने सहमति भए पनि पछि दाहालले नै पार्टीको कार्यकारी अध्यक्ष मागेर आफूलाई ५ वर्ष सरकार चलाउन भनेर सम्झौता गरेको ओलीले बताए ।

‘ पार्टीको कार्यकारी अध्यक्षको प्रस्ताव पनि उहाँले नै सचिवालयमा राख्नुभयो । मैले हुन्छ भनिदिए ,’ ओलीले भने, ‘भोलिपल्ट मैले गल्ती गरेँ कि क्या हो कमरेड भनेर मलाई भन्नुभयो । ‘

पार्टीको केन्द्रीय समितिले गरेको निर्णय अनुसार महाधिवेशन गर्ने भनिए पनि दाहालकै कारणले सारिएको उनले बताए ।

यसैगरी अध्यक्ष केपी शर्मा ओलीले संविधानअनुसार नै संसद विघटन गरेकाले अब पुन:स्थापना हुन नसक्ने बताएका छन् ।

आफू पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा ओलीले संविधानअनुसार विघटित प्रतिनिधिसभा पुन:स्थापना नहुने बताएका हुन् । आफू बहुमतको दलको नेता भएर संसद विघटनको सिफारिस गरेको र राष्ट्रपतिले विघटन गरेकाले अब पुन:स्थापना नहुने बताए ।

नेकपाको अर्को पक्ष पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुन:स्थापनाका लागि सडक आन्दोलन घोषणा गरेको सन्दर्भमा ओलीले भने, ‘संविधानअनुसार विघटन भएको संसद पुन:स्थापना हुँदैन । संविधानको धारा ७६ अनुसार ६४ प्रतिशत बहुमत भएको दलको नेताले सिफारिस गरेकाले संसद विघटन भएको हो । ३४ प्रतिशतमा विकल्प छैन त्यसैले संसद पुन:स्थापना हुँदैन,’ उनले थपे, ‘संविधानको धारा ८५ मा यसअघि विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको म्याद ५ वर्षको हुनेछ भनिएको छ । त्यसैले विघटन भएको संसद पुन:स्थापना हुन सक्दैन ।’

अब नेपालमा गणतन्त्र, लोकतन्त्र र संविधानलगायतका उपलब्धि खतरामा नपर्ने ओलीको भनाइ थियो । उनले अहिले मुलुकमा राजतन्त्र नभएकाले यी उपलब्धिमाथि खतरा नभएको बताए ।

दाहाल र नेपाल पक्षले आफूलाई काम गर्न नदिएकाले संसद विघटन गर्नुपरेको प्रधानमन्त्रीको भनाइ थियो । उनले अब सँगै मिलेर चुनावमा जानुपर्ने धारणा राखेका छन् । विगतमा भएका कुरा बिर्सेर मिलेर चुनावमा जानुपर्ने धारणा उनको थियो ।

दाहालले सत्तामात्रै खोजेको र वरिष्ठ नेता नेपालले जहिल्यै सम्मानमात्रै खोजेको मुलुकको हित नदेखेको ओलीको भनाइ थियो ।

संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले संसद पुन:स्थापना नहुने ठोकुवा गरेका हुन् । सर्वोच्चको संवैधानिक इजलासले उक्त विषयमा सरकारसँग संसद विघटनको कारण मागेको छ । पुस २२ गतेदेखि उक्त मुद्दामा नियमित सुनुवाइ तय भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »