सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रचण्ड देउवालाई भेट्न पुगे, सरकार गठन र साझा कार्यक्रमबारे छलफल

काठमाडौं । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार गठन तथा सञ्चालन र साझा कार्यक्रमका विषयमा छलफल भएको छ ।प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार पाँच दलीय गठबन्धनको ‘म्यान्डेट’, मन्त्रिपरिषद् विस्तार, सरकारका साझा कार्यसूचीका विषयमा छलफल भएको छ ।सरकारको प्रभावकारी सञ्चालन तथा गठबन्धन दल सरकारमा सहभागिताका विषयमा पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच कुराकानी भएको छ । नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल जारी रहेको बताइन् । प्रधानमन्त्री देउवालाई भेट्नुअघि अध्यक्ष प्रचण्डले कोटेश्वरस्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँंग छलफल गरेका थिए । शीर्ष नेताहरूबीच सरकारमा गठबन्धन पार्टीको सहभागिता, सरकार सञ्चालनका लागि साझा कार्यसूची, सरकारको कामकारबाहीमा प्रभावकारिता, कोरोना महामारी नियन्त्रण, आर्थिक चलायमान बनाउने र यसअघिका संवैधानिक नियुक्ति बदर गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।काँग्रेस सभापति देउवाको नेतृत्वमा सरकार गठन र प्रतिनिधि सभा पुनस्र्थापना गर्न सक्रिय गठबन्धन पार्टीका नेताहरूले केही दिनमै सरकारलाई पूर्णता दिई कोरोना महामारी नियन्त्रण, मनसुनजन्य विपत् व्यवस्थापन र आर्थिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको जनाएका छन् ।सर्वोच्च अदालतको असार २८ को फैसलापछि प्रधानमन्त्री देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको एक साता भएको छ । प्रधानमन्त्री देउवासहित पाँच सदस्यीय मन्त्रिपरिषद् विस्तार हुन बाँकी छ ।नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले नेकपा (एमाले)को नेपाल–खनाल समूहलाई पनि सरकारमा सहभागी हुन यसअघि नै आह्वान गरिसकेको छ । तर नेपाल–खनाल समूहले सरकारमा सहभागिताबारे निर्णय लिइ नसकेको बताएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

भर्खरै

सम्बन्धित खबर

Language »