सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिनिधिसभाले पास गरेकोे विधेयक आइतबार राष्ट्रिय सभामा पेश

काठमाडौँ। भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि सोहीअनुसार संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिमार्जन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । शनिबार प्रतिनिधिसभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएको विधेकयक अब राष्ट्रिय सभामा गएको छ । प्रतिनिधिसभाले शनिबार नै उक्त विधेयक पारित भएको सन्देश राष्ट्रियसभामा पठाएको छ ।

राष्ट्रिय सभामा उक्त विधेयकमाथिको कारबाही आइतबारबाट सुरु गर्ने तयारी भइरहेको छ । प्रतिनिधिसभाको सन्देशसहित नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रस्तुत हुने भएको छ ।

राष्ट्रिय सभाको आइतबारको बैठकको सम्भावित कार्यसूचीमा ‘राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ लाई सभा समक्ष टेबुल’ गर्ने रहेको छ ।

संघीय संसदमा सहायक प्रवक्ता दशरथ धमलाले दिएको जानकारीअनुसार राष्ट्रिय सभामा संविधान संशोधन विधेयकमाथि आइतबार नै सैद्धान्तिक छलफल गर्न तयारी भइरहेको छ । त्यसपछिको प्रक्रियाबारे उनले भने, ‘राष्ट्रिय सभामा पनि संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल हुन्छ । त्यसपछि संशोधनका लागि ७२ घण्टाको म्याद हुन्छ । संशोधनको समय सकिएपछि प्रतिनिधिसभामा भएकोजस्तै राष्ट्रिय सभा बैठकमा दफावार छलफल गरेर पारित गर्ने प्रक्रिया हुन्छ ।’

राष्ट्रिय सभाले संशोधन विधेयक पारित भएको सन्देश प्रतिनिधिसभालाई पठाउनेछ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउनेछन् ।

राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेपछि संशोधन कार्यान्वयनमा आउछ । त्यसपछि नेपालको निसान छापमा नयाँ नक्सा राखेर कामकाजमा आउनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »