सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसको विशाल सभा

काठमाडौं। विशाल मिलन केन्द्र काठमाडौं वडा नम्बर ४ मा प्रतिनिधिसभा विघटनविरुद्ध आज नेपाली कांग्रेसले विशाल सभा गरेको छ । वडा इकाई समिति काठमाडौं महानगरपालिका ४ ले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सरकारको अलोकतान्त्रिक र असंवैधानिक गतिविधिको विरोधमा देशव्यापी रुपमा प्रदर्शनमा उत्रन आग्रह गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि पार्टी सह महामन्त्री प्रकाशशरण महतले नेकपा कुरा गर्ने सवालमा कांग्रेसभन्दा धेरै जान्ने भएको बताए । उनले अब जनताले कामको लागि हो भने कांग्रेसलाई मतदान गर्नुपर्नेमा पनि जोड दिए । नेता महतले सरकारले हिजो निर्वाचनमा जाँदा सुखी नेपाली र समृद्ध नेपालको नारा लगाएको भए पनि त्यो उनीहरुको लागिमात्र सीमित भएको उल्लेख गरे । महतले अन्तर्राष्ट्रिय शक्ति केन्द्रको चलखेल गर्ने देश नेपाल भएकोमा समेत आपत्ति जनाए ।

त्यसैगरि, वडा इकाई सभापति रामप्रसाद न्यौपानेले कोरोना महामारीका बेलामा जनतालाई राहत दिनुपर्नेमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिले भ्रष्टाचार गरेकाले त्यस्तालाई अब झुक्किएर पनि मतदान नगर्न आग्रह गरे । कांग्रेस केन्द्रीय समितिले घोषणा गरे अनुसार आज प्रत्येक वडा समितिले आयोजना गरेको आन्दोलनको कार्यक्रममा न्यौपानेले आफ्नै क्षेत्रबाट जितेका नेकपाका उम्मेदवार पोखरेल भ्रष्ट भएकाले अब पनि उठन आउन सक्ने औल्याउदै जिम्मेवार भएर मतदान गर्न नागरिकलाई आग्रह गरेका छन् । पोखरेल वडा नम्बर ४ पनि समेटिएको काठमाडौं निर्वाचन क्षेत्र ५ बाट निर्वाचित भएका हुन् । विशाल मिलन केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले सरकारले संविधान मिच्ने काम गरेकाले यो भन्दा ठूलो दुर्घटना अरु केही पनि नहुने बताए । न्यौपानेले नेकपाले नेतृत्व लिएका स्थानीय तहमा भ्रष्टाचार व्यापक भएको समेत आरोप लगाए । उनले आगामी निर्वाचनमा नेकपालाई जनताले फेरि पनि झुक्किएर मतदान नगर्ने समेत दाबी गरे । नेपाली कांग्रेसले देशलाई संकट पर्दा जहिले पनि निकास दिएको भन्दै उनले कांग्रेसको इतिहासलाई पनि हेर्न सर्वसाधरणलाई आग्रह समेत गरे ।
आफ्ना पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको पालामा संविधान बनेको स्मरण गराउँदै उनले कांग्रेसको नेतृत्वमा नै देश र जनताको हित हुने गरी सबै खाले क्रान्ति भएको समेत स्पष्ट पारे । उनले कम्युनिष्टको यस्तै गतिविधि रहिरहने हो भने उ अब इतिहासमा सीमित हुने धारणा राखे ।

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का उपसभापति भैरव सापकोटाले नेकपाले संविधानमाथि प्रहार गरेकाले जनताको विश्वास गुमाउँदै गएको बताए । आफ्नै सांसद् धेरै भएको प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामाथि घात गरेको उनको भनाई छ । काठमाडौं ५ को (क) प्रदेशका सभापतिसमेत रहेका सापकोटाले हिजो केही होला कि भनेर कम्युनिष्टलाई मतदान गर्नेहरु अहिले निराश भएको टिप्पणी गरे । सापकोटाले कम्युनिष्टको सरकार इतिहासमै कलंकित र दुर्गन्धित भएको पनि उल्लेख गरे । उनले सत्तामा पुगेर जनताको हित गर्छौं भन्ने कम्युनिष्टले आफ्नै मात्र हित गरेकाले उनीहरुको एजेण्डासमेत केही नभएको दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी पूर्व सभासद् रमा गुरागाइले जनताले बनाएको संविधान केपी शर्मा ओलीले लत्याएको आरोप लगाइन् ।

भर्खरै

सम्बन्धित खबर

Language »