सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरीले दर्ता गर्न मानेन सांसद अपहरणको उजुरी,राज्य नै अपराधीकरणमा लागेको बाबुराम भट्टराईको आरोप

काठमाडौँ। प्रहरीले पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ दल नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाहेरी लिन अस्वीकार गरेको छ ।

आफ्ना सांसद सुरेन्द्र यादव गरेको भन्दै जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर टेकु पुगेको समाजवादी पार्टीका नेताहरु पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितको टोली दर्ता नभएपछि फर्किएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले मुद्दा दर्ता गर्न नसकिने भन्दै ‘जहाँ जानु छ जानुस्’ भन्दै जाहेरी लिन अस्वीकार गरेका थिए। ज्ञवाली आइतबार मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हाल्न पुगेका थिए।

टेकुस्थित प्रहरी परिसर पुगेका जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोका अनुसार एसएसपी ज्ञवालीले ‘जहाँ जानु छ जानु, म यो कसुरमा जाहेरी दर्ता गर्न सक्तिनँ’ भनेका थिए। एसएसपी ज्ञवाली टेकु पुग्नुअगावै जाहरी दिन नेताहरु पुगेका थिए। त्यसको ३ घण्टापछि ज्ञवाली कार्यालय पुगेका थिए।त्यसअघि ज्ञवाली गृह मन्त्रालय गएका थिए।

जाहेरी दिन प्रहरी परिसरमै पुगेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा लेखेका छन्- यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरणसम्बन्धी मुद्दा पीडित व्यक्तिले महानगरीय प्रहरी परिसर काठमाडौंमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?

यसैबीच जाहेरी दर्ता नभएपछि नेताहरु टेकुबाट बाहिरिएका छन्। जनता समाजवादी पार्टीका ने राजेन्द्र महतोले सत्ता र शक्तिको आडमा प्रहरीले जाहेरी लिन नमानेको प्रतिक्रिया दिए। ‘कानुनी राज सकिएको यसले पुष्टि गर्छ, हामी सडकबाटै अपराधमा संलग्न विरुद्ध उत्रिन्छौं,’ उनले भने, ‘मु द्दर्ता गरेर सत्यतथ्य पत्ता लगाउ भन्दा किन प्रहरीले टेर्दैन? यही हो कानुनी राज? यही हो अपराध विरुद्धको शून्य शहनशीलता?’ महतोले आरोपितलाई जोगाउन माथिबाटै दबाब आएर जाहेरी नलिएको आरोप लगाए।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्‍याएका थिए। पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन्।

समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »