सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रेस काउन्सिल नेपाल र अनलाइन टिभी पत्रकार सङ्घबिच छलफल

काठमाडौँ । प्रेस काउन्सिल नेपाल र अनलाइन टिभी पत्रकार सङ्घ नेपालबिच आज छलफल भएको छ । अनलाइन सञ्चारमाध्यमबाट सम्प्रेषित समाचार सामग्रीका विषयमा काउन्सिलले चाल्नुपर्ने आगामी कदमका विषयमा छलफल भएको हो । पछिल्लोसमय अनलाइन, युट्युब, अनलाइन टिभीमा प्रसारित समाचार सामग्री पत्रकार आचारसंहिताभन्दा बाहिर रहेर प्रकाशन गरिएको विषयमा दुई पक्षबिच छलफल भएको काउन्सिल सचिवालयले जनाएको छ । काउन्सिलले सूचीकरणको प्रक्रियामा आउन र मर्यादित पत्रकारिता गर्ने विषयमा यही जेठ १० गते बसेको बोर्ड बैठकले गरेको निर्णयबारे सङ्घलाई जानकारी गराइएको थियो ।

अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारी, पत्रकार शोभराज बराल, सरोज गिरी, पुण्य गौतम, कुशलभ केसी। र मिलन खत्री तथा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल र उपप्रशासकीय अधिकृत रामशरण बोहराबिच भएको छलफलमा पत्रकार आचारसंहिता विपरीतका अनलाइन, युट्युब र अनलाइन टिभीका गतिविधिलाई नियमन गर्नेबारे सहमति भएको छ ।

यसैबिच छलफलका क्रममा सङ्घले काउन्सिललाई पत्रकारिताको दायरामा रहेका युट्युब च्यानललाई पत्रकारिताकासम्बन्धी कानुन र त्यसबाहेकलाई अन्य कानुनअनुसार कारबाही गर्न अनुरोध गर्दै ध्यानाकर्षण बुझाएको छ । ‘केही युट्युब च्यानलबाट अति उच्छृङ्खल, अशिष्ट, अपाच्य र सञ्चार माध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको र त्यस्ता सामग्रीप्रति आपत्ति जनाउँदै कारबाही गर्न तथा यस्ता विकृति न्युनिकरण गर्न आम रूपमा सुझाव आइरहेकोले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमहरूलाई पत्रकारितासम्बन्धी कानुन र त्यसभन्दा बाहिरकालाई अन्य कानुनअनुसार कारबाही गर्नरगराउनुहुन अनुरोध छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकामा पछिल्ला दिनमा ‘प्रयाङ्क’का नाममा थप विकृति देखिन थालेको भन्दै सङ्घले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारबाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको जानकारी दिनुभयो ।


प्रेस काउन्सिल नेपालको अफिसियल वेवसाइटबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »