विराटनगर,असार १८
आन्तरिक राजस्व कार्यालय विराटनगरले बन्दाबन्दीमा उद्योग–व्यवसाय सञ्चालन गर्ने तर समयमै कर दाखिला नगर्ने उद्योगी–व्यवसायीको सूक्ष्म छानबिन सुरु गरेको छ । बन्दाबन्दीको समयमा सरकारी निकायमा जानकारी गराएर उद्योग–व्यवसाय सञ्चालन गर्ने त्यस्ता उद्योग तथा व्यवसायले समयमै कर बुझाए वा नबुझाएको छानबिन गरिने भएको हो ।
आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख कर अधिकृत विमल सापकोटाकाले सरकारले सञ्चालनका लागि तोकेका वा जिल्ला प्रशासन कार्यालयमा सञ्चालन जानकारी गराएका उद्योगको अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मोरङका तीनवटा मदिरा उद्योगले आन्तरिक राजस्व कार्यालयमा जानकारी गराएर बन्द गरेका थिए । उनीहरूको नियमन गर्ने निकाय परेकाले जानकारी गराएका हुन् ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर वा सरकारले खोल्नका लागि छुट दिएका उद्योगी–व्यवसायीले कारोबार गरेर पनि कर नबुझाएको हुनसक्ने सम्भावनालाई कार्यालयले अध्ययन गर्नेछ । मोरङमा खाद्यान्न, प्याकेजिङका १७ वटा उद्योगले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छन् भने त्यसबाहेक संस्थागत रूपमा समेत उद्योग सञ्चालनका लागि अनुमति प्रदान गरिएको छ ।
विभागले मूअकर, अन्तःशुल्क र करकट्टीको रकम तथा चैत मसान्तसम्मको आयकरको दोस्रो किस्ता बुझाउन जेठ २५ गतेसम्मको सूचना निकालेको थियो । त्यो सूचनालाई आधार बनाउन आनाकानी गरेका उद्योगी–व्यवसायीका लागि असार ७ गतेसम्मको म्याद थप गरिएको थियो ।