सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके क्षेत्र नं २ चुनावी मैदानमा उत्रिएका ‘हेभी वेटको परीक्षा

नेपालगन्ज, मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक छाइसकेको छ। चुनावी परिणाम आफ्नो पोल्टामा पार्न सबै उम्मेदवार अनि उनका दलहरू चुनावी कार्यक्रममा व्यस्त छन्।
त्यसमा पनि बाँके क्षेत्र नं २ को चुनावी माहोल अझ रोचक छ । प्रतिनिधिसभाका लागि यो क्षेत्रमा पाँच जना स्वतन्त्र उम्मेदवारसहित १५ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

नेपालगञ्ज बजार र डुडुवा गाउँपालिकाका केही वडाहरू समेटिएको क्षेत्र नं. २ मा एमाले र राप्रपाले चुनावी तालमेल गरेका छन् भने अरू दल र उम्मेदवारहरू एक्लाएक्लै छन्। प्रतिनिधिसभाका लागि दोस्रोपटक पनि चुनावीमैदानमा आएका जनता समाजवादी पार्टीका नेता मो.इस्तियाक राईलाई चुनौती दिँदै एमाले र राप्रपाका साझा उम्मेदवार राप्रपाका महामन्त्री धवलशमशेर राणा, कांग्रेसका सुदीपनरसिंह राणा र शिवसेनामा आवद्ध दिवाकर खनाल दरिला प्रतिष्पर्धामा उत्रिएका छन्।अहिलेसम्म यो क्षेत्रमा एउटै उम्मेदवारले दोहोर्‍याएर चुनाव जितेका छैनन्। प्रधानमन्त्रीसमेत रहेका स्व. सुशील कोइराला यो चुनावी क्षेत्रका मतदाताले हरेक चुनावमा नयाँ मान्छेलाई परिक्षण गरिरहेका छन्। मधेस आन्दोलनअघि नेपाली कांग्रेसको राम्रो पकड रहेको यो क्षेत्रमा त्यसपछि कांग्रेसी मत तितरबितर भयो । हालैको स्थानीय चुनावलाई हेर्ने हो भने नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका प्रमुखमा कांग्रेसले जितेको छ। सत्ता साझेदारको गठबन्धनबाट नेपालगञ्ज उपमहानगरमा जितेपनि डुडुवामा भने कांग्रेस एक्लै लडेको थियो। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जसपाका इस्तियाक राईले २१ हजार ५ सय ७५ मत ल्याएर चुनाव जितेका थिए। एमालेको समर्थनमा चुनाव लडेका पशुपतिदयाल मिश्रले १५ हजार ९ सय ५१ मत ल्याएका थिए।
त्यस्तै नेपाली कांग्रेसको समर्थनमा उठेका राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मतमात्रै ल्याएका थिए। मिश्राले ल्याएको मत एमालेको मात्रै थिएन। राप्रपाको पनि आफ्नोमात्रै मत होइन। अहिलेको चुनावमा केही मत बढेको छ। तर इस्तियाक राईलाई पनि आफ्नो पार्टीको भोटले मात्रै जित्न मुश्किल छ।
स्थानीय निर्वाचनमा नेपालगञ्जमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रशान्त विष्टले २३ हजार ४ सय ६० मत ल्याएका थिए। गठबन्धनका उपमेयरका उम्मेदवार जसपाका कमरुद्दिन राईले १७ हजार ९ सय ५० मत ल्याए। एमालेका पशुपतिदयाल मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए भने उपमेयरमा शान्ति ढकालले १० हजार ९ सय १५ मत ल्याएकी थिइन्। राप्रपाका नन्दलाल बैश्यले ७ हजार ५ सय ९८ र उपमेयरमा विन्दु चर्तिमगरले १० हजार १ सय ३५ मत ल्याएकी थिइन्।
डुडुवा गाउँपालिकामा कांग्रेसका नरेन्द्र चौधरीले ६ हजार २ सय ७२ मत ल्याएर जिते। जसपाका भण्डारीलाल यादवले ५ हजार १ सय २५ र एमालेका सरोजकुमारी यादवले ३ हजार ७ सय १९ मत ल्याएका थिए । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतलाई हेर्दा नेपालगञ्जमा जिकज्याक र डुडुवामा अलि प्रष्ट देखिन्छ। नेपालगञ्जमा कमरुद्दिन र डुडुवामा भण्डारीलालको मतलाई जसपाको मत मान्दा २२ हजार ७ सय मत हुन्छ।
नेपालगञ्जमा कांग्रेसका प्रशान्त र डुडुवामा नरेन्द्रको मत जोड्दा २९ हजार ७ सय ३२ हुन्छ। एमालेका पशुपतिदयाल र सरोजकुमारी, राप्रपाका नन्दलालको मत जोड्दा २२ हजार ९ सय ९२ हुन्छ। नेपालगञ्जमा कांग्रेससँग जसपा, माओवादी, नेकपा समाजवादी, जनमोर्चा मिसिएकाले एउटा पार्टीको मत यति हो भन्ने यकिन हुँदैन। त्यसमा पनि मो. इस्तियाक र धवलशमशेरको व्यक्तित्व उस्तै छ। यी दुई नेताले व्यक्तिगत मत धेरै तान्न सक्छन्। स्थानीय तहको उम्मेदवारलाई हेरेर यी दुईको मतलाई आकलन गर्न अपुग हुन्छ।
पटक–पटक मन्त्री भएका राई, नेपालगञ्जको दुई पटक मेयर भएका राणाको व्यक्तिगत प्रभावले नतिजामा प्रभाव पार्छ । संगठन बलियो नै रहेको कांग्रेसले सुदीपनरसिंह राणालाई अघि सारेको छ । कोइरालाको निर्वाचन क्षेत्रमा देउवाले एक्लौटी गर्दा सुदीपनरसिंहलाई आफ्नैभित्र चुनौती पनि देखिन्छ । सत्ता गठबन्धन टुटेपछि अन्तिममा मात्रै सुदीपनरसिंहले टिकट पाएका थिए । नेपालगञ्जमा शिवसेनासमर्थित उम्मेदवार दिवाकर खनालले पनि आक्रमक प्रचार गरिरहेका छन् । जसपा र कांग्रेस कमिटि गठन र पार्टीलाई मिलाउन लागि पर्दा धवल र दिवाकरले प्रचार प्रसार गरिरहेका छन् । दिवाकरले हिन्दु मतलाई एकत्रित पार्ने प्रयास गरिरहेका छन् । उनले अहिलेसम्म नेपालगञ्ज बजारबाहिर प्रचार प्रसार गरिरहेका छन् ।
मो. इस्तियाक आफूले मन्त्री हुँदा नेपालगञ्जको धेरै विकास गरेकाले आफ्नो प्रतिस्पर्धी कोही नरहेको दावी गर्छन् । राणाको दुई पटक मेयर हुँदा नेपालगञ्जमा सयौं वर्ष हुन नसकेको विकास गरेको दावी छ । सुदीपनरसिंहको कांग्रेसको मतलाई एकत्रित गर्दा नै चुनाव जित्ने भनाई छ । दिवाकरले पनि जनताले एकपटक आफूलाई जिताउने दावी गर्छन ।
जुन उम्मेदवारले जे दावी गरेपनि नेपालगञ्जको मत स्थिर नरहेकाले यसपालीको चुनाव कसले जित्छ भन्न सकिने अवस्था छैन । नेपालगञ्जको चुनावलाई पार्टीको केन्द्रीय तहबाट निगरानी भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »