सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिप्लब नेकपाले पाटी पुनर्गठन दिवस भब्य रुपमा मनाउदै

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुनर्गठन दिवस भव्य रुपमा मनाउने भएको छ । मङ्सिर ८ गते सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा मनाउने तयारी गरिएको नेकपाले जनाएको छ ।
स्रोतले दिएको जानकारीअनुसार ८ गतेसम्म देशव्यापी प्रचारप्रसार, प्रदर्शन, सभाहरू र उत्सव आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाउन लागिएको हो । नेपालमा दस वर्षसम्म चलेको जनयुद्धका उपलब्धिहरूलाई धराशायी बनाउने गरी जनयुद्धको मूल नेतृत्व वैचारिक, राजनीतिक, साङ्गठनिक र सांस्कृतिक रूपले पतनको दिशामा गएपछि २०६९ सालमा क्रान्तिकारीहरूको पहलमा नयाँ पार्टी नेकपा–माओवादी गठन गरिएको बताईएको छ ।
प्रचण्ड–बाबुरामले जनयुद्धको जहाजलाई सुरक्षित अवतरण गराउन नसकेर संसदीय भासमा डुबाएपछि मोहन वैद्य ‘किरण’ को नेतृत्वमा ठूलो हिस्साले विद्रोह गर्दै नयाँ पार्टी निर्माणको घोषणा गर्यो तर पुरानै विचार र प्रवृत्तिको निरन्तरता देखिएको भन्दै विप्लवको नेतृत्वमा २०७२ साल मङ्सिर ८ गते क्रान्तिविरोधी प्रवृत्तिसँग सम्बन्धविच्छेद गर्दै फेरि नयाँ पार्टी नेकपा माओवादी गठन गरेको बताईएको छ ।

त्यसको एक वर्षपछि २०७३ साल भदौ ७ गते कम्युनिस्ट न्युक्लियससँग भएको क्रान्तिकारी ध्रुवीकरणपछि नेकपा (माओवादी) बनेको थियो । थबाङमा सम्पन्न भएको आठौँ महाधिवेशनपछि यो पार्टी नेपाल कम्युनिस्ट पार्टीका रूपमा अघि बढिरहेको छ । नेत्र बिक्रम चन्द विप्लवको नेतृत्वमा क्रान्तिकारी आन्दोलनको नयाँ पहल गरिएको दिन मङ्सिर ८ हो ।

मङ्सिर ८ नेपालको क्रान्तिकारी आन्दोलनमा देखिएका अनेकौँ उतारचढावहरूका बीचमा क्रान्तिकारीहरूले नयाँ पहलको सुरुआत गरेको ऐतिहासिक दिन हो भने अर्कोतिर तत्कालीन माओवादीले जनमुक्ति सेना गठन गरेर ठूलाठूला सैनिक ब्यारेकहरूमाथि हमला सुरु गरेको दिन पनि हो । नेकपाका महासचिव विप्लवका अनुसार आत्मसमर्पणवादी, विसर्जनवादी र पुँजीवादीहरूको हमलामा परेर माओवादी पार्टी विसर्जनको दिशामा पुगेपछि नेकपाको नेतृत्वमा नयाँ पहल गरिएको दिन हो मङ्सिर ८ गते । यो एक ऐतिहासिक वीरता, बलिदानको सन्दर्भ र अवसरको दिन पनि हो ।यो अवधिमा नेकपाका १ दर्जन हाराहारी नेता–कार्यकर्ताहरूको बलिदान भैसकेको छ भने सयौँ नेता–कार्यकर्ता जेल र हिरासतमा छन् ।

पार्टीको आठौँ महाधिवेशन काठमाडौँमा उद्घाटन भएर थबाङमा बन्दसत्र र लिबाङमा घोषणासभा सम्पन्न गर्दै सम्पन्न एको थियो । महाधिवेशनपछि नेकपा अझै सशक्त भएर सबैखाले शोषण, दमन र उत्पीडनका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नु नेपालको आवश्यकता भएको निष्कर्षसहित अघि बढिरहेको छ ।

नेकपाले गरेका लोकप्रिय कामहरूबाट अत्तालिएको सरकारले लगाएको प्रतिबन्धको सामना गरिरहेको पनि २ वर्ष पुग्नै लागेको छ तर सरकारले जतिसुकै दमन, धरपकड, गिरफ्तार, जेल, नेल, यातनाजस्ता हर्कत अपनाए पनि विद्रोही नेकपा यो देशको सशक्त वैकल्पिक र क्रान्तिकारी शक्तिका रूपमा जनताको आशा र भरोसाको केन्द्र बन्दै अघि बढिरहेको बताईएको छ ।

स्रोतले दिएको जानकारीअनुसार पार्टीको सातौँ पुनर्गठन दिवस देशव्यापी रूपमा भव्य कार्यक्रम गरी मनाइने भएको छ । ८ गते पार्टी पुनर्गठनको दिन पारेर देशभर उत्सव मनाइने बताईएको छ ।

केपी वली सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागेको पूर्वसन्ध्यामा मनाइन लागेको पार्टी पुनर्गठन दिवसमा सरकारी अत्याचार, दमन, भ्रष्टाचार, कमिसन, घुसखोरीको भण्डाफोर गर्नुका साथै जनताको घरघरसम्म पुगेर राष्ट्रियता, जनतन्त्र र जनजीविकामाथि आएको सङ्कट समाधानका लागि एकीकृत जनक्रान्तिको अत्यावश्यकताका विषयहरू झन् तीव्र रूपमा उठाइने बताईएको छ ।

माओवादीको खरानीबाट ६ वर्षअगाडि नेपाल कम्युनिस्ट पार्टीको पुनर्गठन गरेको भन्दै जनताले आफ्नो मुक्ति, देशको स्वाधीनता र वैज्ञानिक समाजवादी सभ्यताको नेतृत्व, साधन र दस्ता प्राप्त गरेको बताएका छन् । पार्टी पुनर्गठन हुनु ऐतिहासिक महत्वको क्षण भएको र यसैको नेतृत्वमा एकीकृत जनक्रान्ति अघि बढिरहेको भन्दै यसलाई दमनले रोक्न नसक्ने महासचिव विप्लवको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »