सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिप्लव लाई खुल्ला पत्र

चुडा बहादुर खड्का – मिलन

महासचिव कमरेड बिप्लब , रातो सलाम। “खै कहाँ बाट लेख्न शुरु गरौं र कहाँ अन्त्य गरौं ” यो पहिलो पत्रलाई। म अहिले ४३ बर्षको हुँदा लगभग २२ बर्ष बितिसकेको छु । तपाईसंङ्ग र तपाइँले लिएको बिचारसंङ्ग पृत र मीत लगाउदै वर्गीय साइनो जोडिएको छ ।

 यो २२ बर्षको लामो अबधिमा मैले के दिएँ, के लिएँ अनि के पाँए के गुमाए, पाँए त केबल चुडा बहादुर खड्का बाट “कमरेड मिलन” मात्र त्यसको लेखाजोखा त गरेको छैन, तर मेरो भावनात्मक लगानीबाट हिउँ भन्दा चिसो, आगो भन्दा तातो, रगत भन्दा रातो , सगरमाथा भन्दा अग्लो कुनै नाता बन्ने र पुग्ने ठाउँ भए बनिसकेको ! र’ पुगिसकेको हुन्थ्यो होला कमरेड ।

यसको मतलब कमरेड – कयौं जितमा म हाँसेको छु र हारहरुमा रोएको छु। तपाई संङ्ग रुँदारुँदै हाँसेको छु र हाँस्दाहाँस्दै रोएको छु, कालकोठरीमा ३१ महिना छट्पटाहट्मा जेल जिबन बिताएको छु! कालकोठरीका दिनहरु कहिले उल्लासमा त, कहिले त्रासमा बिताएको छु कमरेड ! हुनत म हाम्रा अहिलेका द्रोणचरित्र प्रदर्शन गर्ने छेपारे कमरेडहरुले भने’ जस्तो कार्यकर्ता त हुनै सक्दिँन नै यो भन्ने अधिकार राख्छु, कि राख्दिन थाहा छैन, तर तपाईको योजनामा मैले आफुलाई महासमरको यात्री बन्न बाट कहिल्यै टाढा राखेको छैन। त्यसैले त निरन्तर निरन्तर साथ साथमै छु,र रहने प्रतिबद्धता गरेको छु कमरेड ! यो भन्दै र लेख्दै गर्दा, म संझन्छु तपाईंसंङ्गका ती दिनहरूमा कमरेडहरु- कोहि लडिरहेका छन,कोहि सहिद भए, कोहि गद्दार भए, कोहि रोडमा छन त कोही महलमा छन। समय सँङ्ग , परिवर्तन सँङ्ग धेरैमा धेरै थरि परिवर्तनहरु देखेँ , शायद प्रकृतिको नियम नै भएर होला, यसमा मलाई कुनै गुनासो र दुखेसो छैन र गर्दिन पनि ।

तर कमरेड , तपाईं जस्तै म पनि अलि बढी भावनामा बहने गर्छु। मलाई सम्भ्रान्त सामान्तहरुको सुखी जीवनमा आँखा पर्दैन, डाहा लाग्दैन, तर जब दु:खी मजदुरहरु र गरिब किसानहरु देख्छु तब मलाई दु:खले छुन्छ र मेरो आँखा रसाउँछ! कमरेड ! तपाईँले त धन्न थाम्नु भएको छ, एकीकृत जनक्रान्ती हाँक्दै गर्दा प्रतिबन्ध लगाएर यो प्रतिबन्धले २ पटक आफू पनि दलालको हात परेको छु, बिस्तारवादी र साम्राज्यवादीहरुले आतंककारी जस्तै कत्लेआम गर्न खोज्दा पनि हार्नु भएन, जितेरै छाड्नु भो ।

आफ्नो एजेन्डा स्थापित गरेरै छाड्नु भो। अझै देसीविदेशी प्रतिक्रियावादीहरुले सिध्याउन खोजिरहेकै छन। त्यो बेला आफन्त जिवनसंगिनी ,छोराछोरीको अबस्था त्यस्तो छ, बाह्र जना कमरेडहरु ले सहादत प्राप्त गर्नु भएकोछ, त्यो भन्दा ठुलो बज्रपात के नै हुन्छ र जीबनमा, तै पनि तपाईँ ! अलिकति पनि बिचलित नभई लडिनरहनु भएको छ। त्यसैले त तपाई क्रान्तिको नायक बिप्लव हुनु भएको छ। नेपाली क्रान्तिका नायक हुनु , भएको छ आशाको केन्द्रबिन्दु हुनु भएको छ , तर कमरेड ! धेरैले धेरै फाइदा उठायो तपाईंको महानता र सोझोपनाको। माग्नेलाई दिँदा दिँदा आफू रित्तिदै जानुभो , आफ्नो दरो खुट्टा हुँदाहुँदै परालको खुट्टामा उभिन खोज्दा धेरै चोटि लड्नुभो ! धेरै खरानी घस्नेलाइ बिश्वास गर्दा अनगिन्ती धोकाहरु पाउनुभो ! माथि मात्रै हैन कमरेड, ‘यहाँ तल सम्मै त्यस्तै छ , त्यस्तै सुनिन्छ, भनिन्छ र देखिन्छ । तपाई त माथीकै लडाइँमा ब्यस्त हुनुहुन्छ , तलको बिचित्र कहिले देख्ने र कहिले सुन्ने कमरेड ? सबै त त्यस्ता छैनन् कमरेड ! तर धेरै जसोमा कसैले कसैलाई चिन्दैनन्, गन्दैनन् र मान्दैनन् । सल्लाह दियो ,सल्लाह लियो ,राम्रो कुरा गर्यो भने ! गुट बनाउन खोज्यो भनेर छिर्किनी लाउँछन,लडाउँछन र बाटो छेक्छन् । प्रगतिमा डाहा, ईर्ष्याको त’ के कुरा गर्नु र ?

यहाँ यस्तै त्यस्तै छ, “यसरी पार्टी बन्ला महासचिव कमरेड ?” हिजोआज तपाईंले कमान्ड गर्नुभाको पार्टीमा सामन्तवादका ठेकेदार र अवसरवादी प्रवेश हुँदा, फुलमाला र अबिर जात्राका साथ स्थान मिल्नेछ । “म जस्तै एउटा चेपुवामा परेको क्रान्तिकारी योद्धालाई तपाईंको मिसन पुरा गर्न, पु:न पार्टिकाे काममा फर्कन खोज्दा किन विभेद हुन्छ? मलाई त केही छैन कमरेड, सान को जिवन नभए नि खोस्रदा खान पुग्ने खोरिया छ, त्यसैले कर्तव्यनिष्ठ नै छु जस्तो लाग्छ, डर पटक्कै छैन, रत्तिभर ! संसद, मन्त्री भएर ठुलो नेता बन्ने, धोको छैन मेरो। मृत्यु पश्चात् एउटा झण्डाको अाशमा सकेको सेवा गरिनैराको छु ! गरिबका कलिला बालबालिकाहरुको भविष्यप्रति चिन्तित छु – त्यसैले त लेख्छु, बोल्छु र लड्छु ,अन्याय र अत्याचारको विरुद्धमा। एकमुठी सास रहेसम्म लेखिनै रहने छु, बोलिनै रहने छु र लडिनै रहने छु! कमरेड।

असत्यको जित र सत्यको हार कहाँ पो भएको छ र! यहाँ । हामीले कहिले पो हारेका छौं र ? पटक-पटक प्रचण्ड, बाबुराम , वैद्य र बादल प्रति चिन्ता हैन, प्रवृत्तिको हो,संस्कारको हो कमरेड ! विचारमा खोट छैन , बाटोको अबरोध पन्छाउदै अघि बढ्ने हो। ढिला नगरौँ कमरेड ! जो जहाँ छ, त्यही बसेर निर्मम समिक्षा गरौँ, गराऔँ र प्रश्न गरौँ कमरेड ! हसिँयाबाट छुट्टिएको हथौड़ा, वादबाट छुट्टिएको बिचार , नितिबाट छुट्टिएको नेतृत्व, जनताबाट छुट्टिएको नेता, मुटुबाट छुट्टिएको मनलाई जोड्न ढिला नगरौँ । बादल फाटेपनी आकाश खसेको छैन, बेर्ना सुकेपनी बीउ मरेको छैन सबै सम्भब छ, कमरेड! देश र जनताको लागि हामीले जित्नै पर्छ र जित्छौ? लेखाईको प्यास अलिकति पनि तृप्त नहुँदै , अलि लामो भए जस्तो लाग्यो कमरेड ! त्यसैले बाँकी भेटमा वा अर्को पत्रमा कोर्ने बाचा गर्दै कलम बन्द गर्छु। क्रान्तिकारी अभिवादन सहित! उहीँ तपाइको क्रान्तिमा सहभागी चुडा बहादुर खड्का – मिलन

भर्खरै

सम्बन्धित खबर

Language »