सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्याटरले ‘एन्कर’ इनिङ्स खेल्नै सकेनन्,नतिजा तीन हार

काठमाडौं । नेपालको ब्याटिङ एकदमै फितलो रह्यो । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले बनाएको स्कोर हो – १८०, १४६, १३६ र १२८ । हेर्दा टी(२०) क्रिकेटको जस्तो यो स्कोर ५० ओभरको खेलमा सामान्य हो ।

स्कटल्याण्डमा खेलेका ४ खेलमा ब्याटरले जिम्मेवारी निभाउन नसक्दा नेपाल सामान्य स्कोरमा नै आउट भयो । नेपालले कुनै पनि खेलमा पूरा ५० ओभर ब्याटिङ गर्न सकेन ।

तर यही ब्याटिङले पनि धन्न एक खेल जित्यो । तीन खेलमा हार बेहोर्‍यो ।

नेपालको लक्ष्य यस शृंखलामा तीन खेल जित्ने थियो । तर हात लाग्यो यसको विपरीत नतिजा । नेपालको भागमा तीन हार रह्यो । शृंखलाको तयारीका लागि क्यानडा जानुअघि कप्तान सन्दीप लामिछानेले त्यहाँ राम्रो तयारी हुने अनी नेपालले क्षमता अनुसार खेलेर स्कटल्याण्डमा आश्चर्य गर्ने बताउँदै तीन खेल जित्ने लक्ष्य रहेको बताएका थिए ।

नेपालले आश्चर्य त गर्‍यो यस मानेमा कि नेपालले क्षमता भन्दा धेरै तल्लो स्तरको ब्याटिङ गर्दा तीन खेलमा पराजित भयो । चार खेलमा सम्भावित ८ अंक मध्ये नेपालले एक जितबाट २ अंक मात्र जोड्यो ।

स्कटल्याण्डलाई उसैको भूमिमा ओडीआईमा हराएर ऐतिहासिक जित रच्नु नै नेपालको एक मात्र सफलता रह्यो । त्यस खेलमा पनि बलरले राम्रो गर्दा ब्याटरलाई केही सहज भएको थियो र जित सम्भव भयो ।

नेपालको ब्याटिङ अहिले निकै नै कमजोर बनिसकेको छ भन्ने शृंखलाका चार खेल हेर्दा स्पष्ट हुन्छ । नेपालले कुनै खेलमा पूरा ओभर ब्याटिङ गर्न सकेन । नामिबिया विरुद्ध २२१ र २०० रनको लक्ष्य पछ्याउँदा पराजित भयो ।

आइतबार स्कटल्याण्ड विरुद्धको खेलमा नेपालको ब्याटिङ झनै कमजोर बन्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५।५ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो । स्कटल्याण्डको लागि उक्त लक्ष्य खासै कठिन बनेन । लक्ष्य नै थोरै भएपछि नेपाली बलरको पनि केही सीप चलेन ।

पहिलो खेलमा कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएपछि नामिबियालाई नेपालले ४७।३ ओभरमा २२० रनमा अलआउट गरेको थियो । तर ब्याटिङमा कमजोर प्रदर्शन रह्यो । फलस्वरुप नेपाल ४६।५ ओभरमा १८० रनमा आउट भयो । बरिफ शेखले अविजित ५० रन बनाएपनि लक्ष्य भेट्न पर्याप्त भएन ।

दोस्रो खेलमा नेपालले टस जित्दै घरेलु टोली स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएको थियो । जसलाई बलरले सही सावित गर्दै स्कटल्याण्डलाई ४२।५ ओभरमा १४४ रनमै अलआउट गर्न सफल भयो । यसमा सोमपाल कामी र आदिल आलमले ३(३ विकेट लिए । कप्तान सन्दीपले २ विकेट लिए । जवाफमा आसिफ शेखले ७१ रन बनाएपछि नेपालले २५।५ ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाउदै लक्ष्य पूरा गरेको थियो ।

तर तेस्रो खेलमा फेरि नेपालको ब्याटिङ फ्लप जस्तै रह्यो । कप्तान सन्दीपको ४ र सोमपाल कामीको २ विकेटमा नेपालले नामिबयालाई ४९।२ ओभरमा १९९ रनमा अलआउट गरेको थियो । तर ब्याटिङमा उही कमजोर प्रदर्शन दोहिरिँदा नेपाल ३७।५ ओभरमै १३६ रनमा अलआउट भयो । नेपालको इनिङ्स ध्वस्त पार्न नामिबियाका बर्नार्ड स्कोल्ट्सजले ५ विकेट लिए । नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाएका थिए ।

चौथो खेलमा स्कटल्याण्ड विरुद्ध पनि नेपालको खराब ब्याटिङले निरन्तरता पायो । हम्जा ताहिर र मार्क वाटको स्पीन जोडीले नेपालको इनिङ्स ध्वस्त पार्दै नेपाल ३५।५ ओभर मात्र क्रिजमा टिक्दै १२८ रनमै अलआउट भयो ।

जवाफमा कायल कोएत्जर र कलुम म्याक्लोडले उत्कृष्ट ब्याटिङ गर्दै स्कटल्याण्डलाई जिताए । कलुमले २९ बल खेल्दै १० चौका र ३ छक्का मद्दतमा ६४ रन बनाए । कोएत्जरले अविजित ४४ रन बनाए ।

नेपालका कप्तान सन्दीप र सोमपाल कामीले समान १ विकेट लिए । सन्दीप र सोमपालले मात्र नेपालले खेलको चारवटै खेलमा विकेट लिएका थिए । सन्दीपले कूल ११ विकेट लिँदा सोमपालले ८ विकेट लिए ।

लिग टु शृंखलामा नेपालको प्रदर्शन अहिले मात्र कमजोर होइन । यो त कमजोर प्रदर्शन ९कमजोर ब्याटिङ० को निरन्तरता पनि हो । गत मार्चमा युएईमा भएको शृंखला अनी गत जुनमा अमेरिकामा भएको शृंखलामा पनि नेपालको ब्याटिङ कमजोर थियो ।

ब्याटरले ‘एन्कर’ इनिङ्स खेल्नै सकेनन्

स्कटल्याण्डमा नेपालको ब्याटिङ त फ्लप नै भयो । सामान्य क्रिकेट हेर्नेलाई पनि यो थाहा छ । ५० ओभरको खेलमा ओपनर नै टिक्न नसक्नु अनी त्यसले अरु खेलाडीमा दबाब पर्दा नेपालको ब्याटिङमा समस्या भइरह्यो । मिडल अर्डरले इनिङ्स होल्ड गर्नै सकेन ।

विकेट जाँदा ‘एन्कर’ इनिङ्स खेल्न सक्ने नेपालका कुनै ब्याटर नै भएनन् । क्रिजमा जाने केही बल खेल्ने अनी खराब सट खेलेर आउट हुने यही क्रम जारी रह्यो । ओपनर नटिक्दा तेस्रो र वा चौथो नम्बरको ब्याटरले लामो क्रिजमा टिक्दै लामो समय ब्याटिङ गर्नु ‘एन्कर’ मानिन्छ । तर नेपालको टिममा त्यो भूमिकामा रहेका दुवै खेलाडी देव खनाल र उपकप्तान रोहित पौडेल यस पटक असफल बने ।

ब्याटिङ कमजोर हुँदा नेपालको बलिङ राम्रो देखिएको जस्तो लाग्नु स्वभाविक हो । तर बलिङमा पनि सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् । क्रिकेट खेल जित्न यसका तीनवटै क्षेत्र ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा एकरुप प्रदर्शन गर्नुपर्ने हुन्छ । जुन नेपालको पछिल्ला खेलहरुमा देखिन छाडेको छ ।

कुनै समय एकजुट भएर विपक्षी विरुद्ध मैदान उत्रने नेपाली क्रिकेट टिम अहिले आफूहरु नै एकजुट भएर प्रदर्शन गर्न नसक्दा त्यसमा विपक्षीले फाइदा उठाइरहेको छ ।

नेपालको लिग टु को अर्को शृखंला कहिले खेल्ने आधिकारिक मिति तय भएको छैन । तर सम्भवत आगामी सेप्टेम्बर(अक्टोबरमा २ तथा अर्को वर्ष फेब्रुअरीमा २ शृंखला खेल्ने छ ।

भर्खरै

सम्बन्धित खबर

Language »