सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुर हत्या प्रकरण : जग्गा हेर्ने निहुँमा लुटपाट, ७ दिनपछि तीनजना पक्राउ

काठमाडौं। जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्रेको हो ।

गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले जानकारी दिए ।

एसएसपी थापाका अनुसार वाईवालाई मुख्यगरी कुटपिट गर्ने रमेश तामाङ हुन् । प्रेम तामाङले वाईवालाई समात्न सहयोग गरेका पाइएको एसएसपी थापाले बताए । महाशाखाले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लुटपाट गर्ने खुलेको एसएसपी थापाले बताए । तडकभडक देखाउनुपर्छ भन्ने मनासय बोकेर बिहान–बिहान जिम जाने । अनि जग्गा हेर्ने भन्दै लुटपाट गर्ने उनीहरुको दैनिकी रहेको खुलेको छ।

यस्तो थियो घटना ?
सुडालस्थित आफ्नै घरमा वाईवाको किराना र मदिराको पसल छ । बुधवार अर्थात २१ असोजमा मध्यान्ह पसलमा आएका दुईजनाले बियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए । वाईवा जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडे ।

घरबाट करिब ५ सय मिटर माथि इँटाभट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरे । निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले लगाएको गरगहना र मोबाइल लुटेर उनीहरु भागे ।

कुटपिटबाट गम्भीर घाइते वाईवालाई स्थानीयले देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरियो । ग्रिनसिटीमै उपचारका क्रममा बिहीबार उनको मृत्यु भयो ।

लगत्तै महाशाखाको टोलीले वाईवाको हत्यामा संलग्न व्यक्तिहरुको खोजीकार्यमा परिचालन भयो । अन्ततः ७ दिनको प्रयासपछि चन्द्रको हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी थापाले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »