सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भरतपुर काेराेना अस्पतालमा अख्तियारकाे छापा

चितवन । भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा केहि दिन अगाडी सिसि टिभि फुटेजमा कर्मचारीले नै सामानहरू अाेसार्दै गरेकाे भिडियाे सार्वजनिक भएकाे थियाे । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले छापा मारेको छ ।

मंगलबार दिउँसो तीन बजेतिर अख्तियारको टोली अस्पताल परिसर छिरेर विभिन्न विषयमा सोधपुछ सुरु गरेको हो। यस विषयमा अख्तियारले थप विवरणहरु बाहिर ल्याएको भने छैन।

चैत ७ गतेदेखि सञ्चालनमा आएको सो अस्पताल भरतपुर महानगरपालिकाको तत्वधानमा तयार भएको थियो। चैत २१ गते सो अस्थायी अस्पताल पनि भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो। सरकारी अस्पतालले बैशाख १ गतेदेखि त्यहाँको व्यवस्थापन सम्हालेको हो। कर्मचारीहरुले सामानहरु ओसारेको भिडियो सोमबार र्साजनिक भएको थियो। अस्पताल पक्षले भने सामान चोरी भएको नभई प्रकृयाअनुरुप सामानहरु ओसारेको दाबी गर्दै आएको छ। बुझबुजारथका क्रममा भएको सामान ओसारपसारको भिडियो दृश्यलाई ‘नियतवस अतिरञ्जित तरिका’ले सार्वजनिक गरिएको अस्पताल व्यवस्थापनले दावी गरेको छ।

अस्पतालको सामानहरु ओसारेको दृश्य सञ्चारमाध्यमहरुमा आएपछि सत्यतथ्य छानबिन हुनु पर्ने माग उठेको थियो। नेपाली कांग्रेस चितवनले यस्तो माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ।

भरतपुर अस्पतालका कर्मचारी फणिन्द्र खानाल र सञ्जय बराल तथा भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले समानहरु प्याक गरेको र बाहिर लगेको दृश्य भिडियोमा कैद भएको छ। ‘हामीले दिनरात खटेर काम गरेको हो। काम गर्नु पर्ने निश्चित समय थिएन। कार्यदलले केही सामाग्रीहरु लैजानु भनेपछि हामीले रातमा पनि निकालेर सम्बन्धित ठाउँसम्म पुर्‍याएको हौं,’ अधिकृत सूर्य तिवारीले भने।

अस्पताल सञ्चालनमा आएसँगै कोरोना नियन्त्रण कार्यादल निर्माण भएको थियो। कार्यादलका सदस्यसचिवको आदेशअनुसार नै आफूहरुले काम गरेको तिवारीले बताए। कार्यादलका सदस्यसचिव एवं भरतपुर अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीले पनि कोरोना अस्पतालमा रहेका केही सामाग्रीहरु कार्यदलमार्फत् प्रयोगमा आउने गरेर बाहिर राखेको बताए।

‘अस्थायी अस्पतालमा भएका सामाग्रीहरुमध्ये ३० प्रतिशत झिकेर भरतपुरको कोराना नियन्त्रण कार्यादलमार्फत् आवश्यक परेको ठाउँमा दिने भन्ने निर्णय अनुसार केही सामानहरु झिकिएका हुन्,’ डा।अधिकारीले भने। सिसिटिभीको फुटेजमा देखिएको समान ओसारेको दृश्य त्यही भएको उनको दाबी छ।

कोरोना नियन्त्रण कार्यादलले पनि मंगलबार प्रेस विज्ञप्ति निकालेर यही कुरा भनेको छ। ‘कार्यदलका सामाग्री ओसारपसार र स्टोर गर्ने समय प्रकृयाको सिसिटिभी फुटेज लिक भएको हो,’ विज्ञप्तिमा भनिएको छ। कार्यादलको बैठकमा यो विषयमा कुरा उठेपछि छानबिन गर्न भन्दै तीन सदस्यीय छानबिन टोली पनि बनाएको विज्ञप्तिमा जनाइएको छ।

नेपाली कांग्रेस चितवनले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई बुझाएको ज्ञापनपत्रमा सर्वपक्षीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरिएको छ। कांग्रेसले अधिकार सम्पन्न समिति बनाएर अस्पतालको हालसम्मको खर्च विवरणहरुको पनि छानबिन गर्न माग गरेको छ।

भिडियोमा देखिएका कर्मचारीहरु निलम्बन हुनु पर्ने पनि कांग्रेसले माग गरेको छ। कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म एक करोड २६ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »