सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय क्‍वारेन्टाइनमा किरिया बसेको ६ दिनपछि नेपाल आए वासुदेव

काठमाडौँ । लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट किरिया बसेको छैटौं दिन आइतबार दिउँसो नेपाल आएका छन् । जिल्ला प्रशासन कार्यालय, दार्चुलाको पहलमा भट्टलाई आइतबार दिउँसो नेपाल ल्याइएको हो ।

सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो। आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए। तर, भारतीय पक्षले प्रक्रिया पुर्‍याउनु पर्ने भन्दै समय लगाएको थियो। भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै उनी किरिया बसेका थिए।

भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइनस्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्‍यापिड टेस्टको नतिजापछि टुंगिने प्रजिअ पौडेलले बताए ।

‘हामीले उनलाई ल्याउन ताकेता गरिरहेका थियौं। भारततिरको प्रक्रिया लामो भएकाले समय लाग्यो,’ पौडेलले भने।अहिले भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। ‘स्वास्थ्य परीक्षणपछि उनलाई सुरक्षाका साथ घर पुर्‍याउँछौं,’ पौडेलले भने। रिपोर्ट पोजेटिभ आएमा भने अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिने उनले जानकारी दिए ।

रोजगारीका लागि भारत गएका शैल्यशिखर नगरपालिका–१ का भट्ट लकडाउनका कारण धार्चुलास्थित क्वारेन्टाइनमा आश्रय लिइरहेका थिए । यही बसिरहेका बेला केही दिनअघि आमाको मृत्यु भएपछि उनी त्यही काजकिरिया बसेका थिए । भट्टलाई काजकिरियाका लागि नेपाल ल्याउनुपर्ने चौतर्फी दबाव परेपछि प्रशासनको पहलमा आइतबार ल्याइएको हो ।

उनी क्वारेन्टाइनमै क्रिया बसेकाे समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई ल्याउने व्यवस्था मिलाउन दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो। तर, भारतीय पक्षले प्रदेश राजधानी देहरादुन हुँदै दिल्लीबाटै अनुमति चाहिने भन्दै रोकेर राखेको थियो।

लकडाउनपछि दार्चुलापारि धार्चुलामा ५ सय ५० भन्दा बढी नेपाली रोकिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »