सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय न्युज च्यानहरू विरूद्ध राजनीतिक र कानुनी उपचार खाेज्नु पर्ने अवस्था आउँछः प्रवक्ता युवराज खतिवडा

काठमाडाैँ । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर बन्द गर्ने निर्णय गरेको म्याक्स डिजिटल टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

नेपालमा विदेशी च्यानल अनुमति लिएका केवल अपरेटरहरुले भारतीय न्युज च्यानलहरु बन्द गरेका हुन् । डिस होम,म्याक्स टिभी लगायत अन्य केवल अपरेटर कम्पनीहरुले छलफल गरेर नै अफवाह फैलाउने भारतीय न्युज च्यानलहरु बन्द गरेको शर्माले जानकारी दिएकाे हाे ।

भारतबाट प्रशारण हुने न्युज च्यानल बाहेक अन्य च्यानलहरुको प्रशारणमा रोक नलगाइएको शर्माले जानकारी दिएकाे छ । पछिल्लो समयमा केही भारतीय न्युज च्यानलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओ‌ली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर आपत्तिजनक समाचार सामग्री प्रशारण भएपछि यसको विरोध भइरहेको छ ।

सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल-चीन सम्बन्धबारे प्रचार गरिरहेका सामग्रीबारे राजनीतिक र कानुनी उपचार खोज्ने अवस्था आउनसक्ने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतीय संचार माध्यमले प्रधानमन्त्री ओली, नेपाल-चीन सम्बन्धलाई लिएर भारतीय संचार माध्यमका सामग्रीबारे सोधिएको प्रश्नमा भने, ‘दुर्भाव फैलाउन र चरित्र हत्या गर्ने, मर्यादालाई आँच पुर्‍याउने, प्रतिष्ठा घटाउने गरी गरिएका समाचारको भर्त्सना गर्छौं ।’

मन्त्री खतिवडाले थपे, ‘सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा मिडिया आफैं अनुशासनमा बसोस् । उसले स्वस्थ र सही समाचार मात्रै सम्प्रेषण गरोस् भन्ने हुन्छ ।’

भारतीय संचार माध्यमले प्रकाशित र प्रचार गरिरहेका सामग्रीबारे कूटनीतिक, राजनीतिक र कानुनी बाटो खोज्ने अवस्था आउने मन्त्री खतिवडाले बताए । ‘यो कुरामा कूटनीतिक माध्यम पनि परिचालन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अस्वस्थ र हाम्रो राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र नेपालीहरूको स्वाभिमानमा आँच पुर्‍याउने किसिमका समाचारहरू सम्प्रेषण नगर्न सबै मिडियाहरूलाई हामी अनुरोध पनि गर्छौं । त्यसमा छिमेकी देशका मिडियाहरू पनि पर्छन् । राजनीतिक र कानुनी दुवै उपचार खोज्नु पर्ने हुन्छ ।’

पछिल्लो समय भारतीय संचार माध्यमहरूले प्रधानमन्त्री र नेपालका लागि चिनियाँ राजदूतलाई लिएर आपत्तिजनक सामग्री तयार पारेर प्रचार गरिहरेका छन् । त्यसलाई लिएर नेपालमा भारतीय मिडियाको आलोचना भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »