सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता,

काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। दुई देशका सेनाप्रमुखहरूबीच जंगीअड्डामा औपचारिक भेटवार्ता भएको हो। भेटवार्तामा दुई सेनाबीचको घनिष्ठ सम्बन्धलाई कायम राख्दै द्धिपक्षीय रक्षा सहकार्य विस्तार जोड दिइएको छ।

नेपाली समकक्षी थापासँगको भेटमा सेनाध्यक्ष नरवणेले बिगतका सम्झौताअनुसार नेपाली सेनालाई सैन्य सहायताको आपूर्तिमा थप सहजीकरण गर्नेसमेत प्रतिवद्धता व्यक्त गरेका छन्। यसअघि सेनाध्यक्ष नरवणेले दुईवटा फिल्ड अस्पतालका लागि आवश्यक एक्सरे मेसिनसहितका सामग्री पनि समकक्षी थापालाई हस्तान्तरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालमा बनेको एक लाख थान मेडिकल मास्क तथा शान्तिका प्रतिक भगवान गौतम बुद्धको प्रतिमा हस्तान्तरण गरेका थिए।

जंगीअड्डामा दुई सेनाप्रमुखबीच एक्लाएक्लै वार्ता भएपछि प्रतिनिधिसहित शिष्टाचार छलफल तथा नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज)सहितको छलफल भएको थियो। भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिका बारेमा विशेष प्रस्तुतिकरण गरिएको थियो। सेनाप्रमुख नरवणेले बुधबार पनि सेनापति थापासँग अनौपचारिक परामर्श गरेका थिए।

भारतले नेपाली सेनाको संस्थागत विकास, तालिम तथा अप्रेशनल पक्षमा निरन्तर सहयोग गर्दै आएको छ। नेपाली सेनाले प्रयोग गर्ने हतियार तथा गोलीगठ्ठाजस्ता घातक र अरू गैरघातक सैन्य सामग्रीहरू भारतबाट आपूर्ति हुने गरेको छ। दुवै देशका सैनिक अधिकारीहरू एक अर्काको देशमा तालिमका लागि आउने जाने क्रम पनि निरन्तर छ। नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास‘अपरेसन सूर्य किरण’निरन्तर चल्दै आएको छ। त्यसैगरी नेपाली भारतीय सेनामा सातवटा गोर्खा रेजिमेन्ट अन्तर्गत लगभग ४० वटा बटालियन रहेका र त्यसमा ४० हजारभन्दा बढी नेपाली वा नेपाली मूल भएका व्यक्तिहरू कार्यरत रहेका छन्।

सेनापतिको निम्तामा बुधबार काठमाडौं आइपुगेका सेनापति नरवणे बिहीबार जंगी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी भएका छन्। भारतीय सेनाप्रमुख जनरल नरवणेलाई जंगीअड्डमा सम्मान गारद प्रदान गरिएको छ। बिहीबार सैनिक मुख्यालयमा भारतीय सेना प्रमुख नरवणेले नेपाली सेनाको सम्मान गारद ग्रहण गरेका हुन्।

बिहान सैनिक मञ्‍चको वीर स्मारकमा पुष्पगुच्छा चढाउनुका साथै वीर सहितप्रति श्रद्धाञ्‍जलि अपर्ण गरे। यसै अवसरमा उनले जंगी अड्डा परिसरमा ओखरको विरुवा पनि रोपे। दिउँसो जंगी अड्डामा आयोजित एक कार्यक्रममा नरवणेले नेपाली सेनालाई भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तारण गरे।क्रममा नेपाली सेनाका तर्फबाट महारथी पूर्णचन्द थापाले पनि भारतीय सेनाको लागि नेपालमै निर्मित १ लाख थान मेडिकल मास्क र शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा हस्तान्तर गरे।

आज साँझ नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ। शुक्रबार उनी स्वेदेश फर्किने कार्यक्रम छ। शुक्रबार प्रधानमन्‍त्रीसँगे विशेष भेटवार्ताको कार्यक्रम छ भने शुक्रबार नै उनी शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा जाने कार्यक्रम छ।

भर्खरै

सम्बन्धित खबर

Language »