सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भीमसेनको यौन अंग भनेर भक्तपुरमा हाेलीकाे भ्रम पुर्ण प्रचार

भक्तपुर । होली सुरु भएपछि भक्तपुरको एउटा भ्रमपूर्ण कथालाई दोहोर्‍याइन्छ, तेहेर्‍याइन्छ। अहिले भक्तपुरमा होलीको यस भ्रमले व्यापकता पाउँदै आएको छ। भ्रममै सबै रमाइरहेका छन्, सन्तुष्टि लिइरहेका छन् र सञ्चारमाध्यम पनि यसै कथाले भरिएका छन्।

होली सुरु हुनु सातदिन अघिदेखि पूर्णिमासम्म भक्तपुर-९ दत्तात्रयस्थित भीमसेनको मन्दिरमा पुरुषको लिंग आकारको काठ झून्ड्याइन्छ। जसलाई आजभोलि भीमसेनको यौन अंग भनेर अत्यधिक प्रचार गरिएको छ।

त्यही काठको लिंग छोप्न रातो कपडा पनि राखिन्छ। रातो कपडामा उक्त काठ छिर्ने गरी प्वाल पारिएको छ। जसलाई पछिल्लो समय द्रोपतीको यौन अंग नामाकरण गरिएको छ। जुन तोडमोड गरिएको मनगढन्ते कथामात्रै भएको संस्कृतिविद्हरू बताउँछन्।

उनीहरूका अनुसार भीमसेन मन्दिरमा पहिले उक्त काठमात्रै प्रदर्शन गरिन्थ्यो। पछि यसले धेरै अश्लीलता प्रदर्शन भयो, भीमसेन मन्दिर पुग्ने महिलालाई असहज भयो भनी रातो कपडाले छोपियो तर उल्टै उक्त कपडामा प्वाल पारियो र महिलाको यौन अंग जस्तै देखिने गरी चित्रसमेत कोरिएको संस्कृतिविद्हरूको दावी छ।

उनीहरूका अनुसार भक्तपुरको होली भने साहसी महिलाको कथा हो र सोही महिलाको वीरताको प्रतीक हो। अहिले प्रचारमा आएजस्तो भक्तपुरको होली अश्लील नभइ श्लील पर्व भएको संस्कृतिविद् ओमप्रसाद धौभडेल दावी गर्छन्।
‘भक्तपुरको दत्तात्रयको भीमसेन मन्दिरमा होलीका अवसरमा हुने क्रिया अश्लील होइन, श्लील हो’, उनले भने, ‘कालान्तरमा यस क्रियालाई तोडमोड गरेर अश्लील बनाइयो। यथार्थलाई छोपेर भ्रम छरियो। मानिस यसमै रमाउन थाले र यो नै होली पर्व हुन थाल्यो।’

उनका अनुसार भीमसेन मन्दिरमा होलीका सन्दर्भमा हुने क्रियाको छुट्टै कथा (किम्बदन्ती) रहेको छ। जुन किम्बदन्तीले महिलाको साहसलाई उजागर गरेको छ।

यस्तो छ किम्बदन्ती

मानिसहरूलाई खानलाउन समस्या नभएको समय थियो। दुःख र मेहनत धेरै गर्न नपर्ने भएकाले उनीहरू भोगविलासतर्फ ढल्कँदै गए। त्यस समय एक पुरुष सारै कामुक हुन थाल्यो। उनी यति कामातुर हुन थाले कि दैनिक काम वासना तृप्त गर्नुपर्ने अवस्था आयो। हुँदाहुँदा उनले देखेका केटी तथा महिलामाथि काम वासना तृप्त गर्न जबरजस्ती बलात्कार गर्न थाले। बलात्कारको घटना नियन्त्रण बाहिर गयो। सबै त्राहिमाम भए। यत्तिकैमा एक महिलाले साहस गरेर ती पुरुषलाई सजाय दिने सोचिन्। उनले दृढ निश्चय गरिन् कि ती पुरुषलाई ठीक पारेरै छाड्छु। आफू दृढ निश्चयी भएपछि ती महिलाले कामातुर पुरुषलाई यौन सम्बन्धको प्रस्ताव गरिन्। महिलाको प्रस्तावबाट मोहित भएर उक्त पुरुष उनीसामु आए।

पुरुष कामातुर भएर सर्वाङ्ग नांगो भइ आएपछि महिलाले पुरुषको यौन अंग च्वाट्टै काटिदिन्छिन्। ती महिलाले पहिले आफ्नो साथमा हतियार तयार राखेको ती पुरुषले पत्तै पाउँदैनन् र आफ्नो यौन अंग गुमाउँछन्। महिलामाथि जबरजस्ती बलात्कार गर्ने कामातुर पुरुषको यौन अंग काटिएको देखाउन नगर परिक्रमा गराइन्छ। सबै महिलाले आफूहरू बलात्कारी पुरुषबाट मुक्ति पाएकोमा खुसीयाली मनाउँछन्। अबिर जात्रा हुन्छ।

यसरी महिलाको साहस उजागर हुने होली पर्व अहिले महिलाको साहस तुहाउने पर्वमा रूपान्तरित भएको गुनासो गर्छन् संस्कृतिविद् धौभडेल। ‘यथार्थभन्दा भ्रममा रमाउने चलन बढ्यो’, उनी भन्छन्, ‘अरु पुरुषहरूलाई समेत महिलामाथि जबरजस्ती गरे यसरी नै यौन अंग काटिइन्छ भन्ने देखाउन पहिले बर्सेनि उक्त लिंगको प्रदर्शनको व्यवस्था गरिएको सजिलै अनुमान लगाउन सकिन्छ।’

तर यो प्रदर्शन विभिन्न कालखण्डमा मोडिएर हालको अवस्थामा आएको उनले स्पष्ट पारे। ‘महिलाले गरेको साहसको खुसीयालीमा मनाइने होली अहिले महिलाले उल्टै डरत्रास पाल्नुपर्ने र महिलामाथि पुनः जबरजस्ती र दमन हुने स्थिति आउनु विकृति हो’, संस्कृतिविद् धौभडेल भन्छन्।

उनका अनुसार मल्ल राजा जगतप्रकाशले सत्रौं शताब्दीमा आएरमात्रै भीमसेन मन्दिर निर्माण गराएका थिए तर उक्त होलीको चलन भने त्योभन्दा धेरै पहिलेदेखि सुरु भइसकेको थियो।

‘त्यसैले भीमसेन मन्दिर निर्माणपछि मात्रै होली पर्व मोडिएर आएको हो’, उनले थपे। संस्कृतिविद् धौभडेलका अनुसार भीमसेन मन्दिरमा पहिले काठको लिंगमात्रै थियो। ‘मन्दिर पुग्ने महिलाले असहज अनुभव गरेपछि काठलाई कपडाले छोपियो र त्यही कपडामा पछि बीचमा प्वालसमेत पारियो र योनीको चित्र कोरियो’, उनले थपे, ‘त्यसैले अहिलेको क्रियाकलाप मौलिक होली पर्वको विकृत रूप हो।’

काठमाडौं उपत्यकामा तिथिअनुसार पूर्णिमाको सातदिनअघि ‘चीर स्वायगु’ भनेर होली सुरु भएको जनाउ दिइन्छ। ‘चीर स्वायगु’ को शाब्दिक अर्थ पनि ‘यौन समागम’ हुने संस्कृतिविद् धौभडेल बताउँछन्।

उनका अनुसार काठमाडौंको बसन्तपुरमा गरिने ‘चीर स्वायगु’ पनि प्रतीकात्मक रुपमा ‘यौन समागम’नै हो। ‘लिंग रूपी काठलाई सप्तरंगी कपडाका टुक्राहरु बाँधेर योनी रुपी प्वालमा ठड्याउनु पनि यौन समागमकै कार्य हो’, संस्कृतिविद् धौभडेल भन्छन्, ‘यो गुप्त कार्य हो, जसले गर्दा अश्लील लाग्दैन तर भक्तपुरको भीमसेन मन्दिरमा हुने कार्य खुला हुन गयो र यो अहिले अश्लील बन्न थाल्यो।

भर्खरै

सम्बन्धित खबर

Language »