सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भूमण्डलीकरणको बदलिँदो स्वरुप र नयाँ राजनीतिक विकल्प

राजन तिमल्सिना

समकालीन विश्वमा युगान्तकारी परिवर्तनको तीब्रतासंगै पुराना राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक मूल्य मान्यता र अवधारणाहरु क्रमशः विघटन हुदै गइरहेको छ । विशेषतः पछिल्लो चार दशक यता बिकास भएको विज्ञान प्रविधिको चमत्कारीक बिकासले मानव समाजको मूल प्रवृति नै फेरिएको छ । मानव समाज बिकासका ऐतिहकसिक चरणहरुमा परिस्कृत भएका दार्शनिक र शैद्धान्तिक मूल्य मान्यताहरुले नयाँ विश्वको ब्याख्या गर्न असमर्थ भएको छ ।

उदीयमान विश्वमा बिज्ञान प्रविधिक क्रान्तिले सिर्जना गरेका नयाँ नयाँ चुनौतीहरुको सामना गर्न पुरानो राजनीतिक दर्शन र शिद्धान्तलाई नयाँ कसी लगाउनु आवश्यक भएको छ । भूमण्डलीकृत विश्वमा विज्ञान प्रविधिक क्रान्तिले सिर्जना गरेका नयाँ नयाँ संकट र चुनौतीहरुको सामना गर्न पुरानो राजनीतिक दर्शन, शिद्धान्त, कार्यनीति र रणनीतिको ठाउँमा आ-आफ्नो देशको सापेक्षतामा मौलिक कार्यनीति, रणनीति, शिद्धान्त, विचार र संगठनात्मक स्वरुपलाई नयाँ स्तरमा विकास गर्न ढिला भैसकेको छ ।

विगतमा मानव मस्तिष्कले कल्पनै नगरेको प्रविधिको बिकाससंगै यस अघिका सैद्धान्तिक र दार्शनिक मान्यताहरु पुराना भैसकेका छन । यसलाई नयाँ ढंगको थप ब्याख्या बिश्लेषण विना आजको दुनियाँलाई बुझ्नै नसकिने भएको छ । विश्वमा समाजवादी व्यवस्थामा मात्र होइन कि पूँजीवादी व्यवस्थामा पनि ठूलै संकट बिघटन आईरहेको छ ।

पूँजीवादी व्यवस्थाको विकल्प भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । परंपरागत समाजवादले समकालीन विश्वका अन्तरविरोधको मुकाविला गर्न असमर्थ भैसकोको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा श्रृजित तामाम अन्तरविरोधहरुको वैज्ञानिक आधार खोजी नयाँ ऐतिहासिक विकल्प पेश गर्नु वैज्ञानिक समाजवादको प्रमुख उद्धेश्य हो ।

भूमण्डलीकृत बिश्वमा विज्ञान प्रविधिको बिकासले सामजको एउटा वर्गलाई संभ्रान्तवर्गमा रुपान्तरण गराएको छ भने अर्को वर्गले त्यसको उपयोग मात्र गर्न सक्छ, त्यसवाट फाईदा लिन सकेको छैन । बिश्वका १ प्रतिशत धनाढ्यहरुको हातमा बिश्वको ९९ प्रतिशत श्रोत साधन र सम्पती केन्द्रित भएको छ भने बिश्वका ९९ प्रतिशत श्रमजीवी जनताको हातमा १ प्रतिशत भन्दा कम श्रोत साधन सम्पति रहेको तथ्य भर्खरै सार्वजानिक भएको छ ।

प्रविधिको बिकाससंगै वातावरणीय बिनासले ठूलो सन्त्रास निम्त्याउनुको साथै यसले सिंगै भौतिक जगत र मानव समुदायलाई समेत चुनौति दिइरहेको छ । विश्वमा राजनीतिक, आर्थिक, वित्तीय र बजार कब्जा गर्ने होडवाजीमा पूँजीवादीहरुको आपसी टक्कराव र भिडन्तले बिनासकारी प्रविधिमा ठूलो लगानी गर्दै आएको छ । प्रविधिले एकातिर उत्पादन र बजारीकरणमा सहजता ल्याएता पनि अर्कोतर्फ पर्यावरणीय चुनौती र मानव स्वास्थ्यमा नकरात्मक असर समेत पूर्याउको छ ।

२०औं शताब्दीमा शुरु भएको साम्राज्यवादी पूँजीवादका केही बिशेषता बाँकी रहेता पनि सारतः त्यसको समग्र चरित्रमा ठूलो फेरबदल आइसकेको छ । विज्ञान प्रविधि र विश्वको राजनैतिक रंगमंचमा आएको गुणत्मक परिवर्तनको कारण आजको यूगलाई बिसुद्ध साम्राज्यवादी यूग मात्रै भन्नु पछौटे मानसिकताको उपज हुन जानेछ ।

आजको विश्वमा साम्राज्यवाद मात्रै होईन कि एकीकृत भूमण्डलीकृत वित्तीय र व्यापारीक पूँजीवादको बिकास भएको छ । भूमण्डलीय वित्तीय र व्यापारीक पूँजीवादका आफ्नै मौलिक आयम र विशेषताहरु छन । विश्वमा भूमण्डीकृत पूँजीवादले नवउदारवादको जामा लगाई सिंगै विश्वको राजनीतिक, आर्थिक, बित्तीय, धार्मिक, सास्कृतिक, सामरीक प्रभुत्व कायम गर्दै विज्ञान प्रविधिको माध्यमबाट विश्वलाई आफ्नो कब्जामा लिएको छ । भूमण्डीकृत वित्तीय र व्यापारीक पूँजीवादको मूल विशेषता भनेको नवउदारवादी नीति मार्फत विश्वभरिका अविकसित, अल्पविकसित, विकासोन्मुख साना तथा कमजोर देशहरुलाई एकलैटी रुपमा दोहन गर्नु र पूँजीनेवेश बनाउनु हो ।

पश्चिमा पूँजीवादीहरुले विश्वमा आएको आर्थिक र वित्तीय संकटमोचको लागि लागू गरेको नवउदारवादी नीतिको कारण अविकसित, अल्पविकसित, विकासोन्मुख, साना र कमजोर देशहरुले ठूल्ठूला अभाव र संकटको सामना गर्नु परेको छ । पश्चिमा पूँजीवादीहरुको भूमण्लीकृत वित्तीय र व्यापारीक पूँजीवाद मार्फत पूरै विश्वमा छाडा साँढे बनी आफ्नो बर्चस्व कायम गर्न बिबिध हतकण्डा प्रयोग गर्दै आएको छ ।

यसले नवउदारवादी नीति मार्फत यस्ता देशहरुलाई रातारात मालामाल हुने उधारो सपना बाडेर भूमण्डलीकरण (Globalization) को प्रचारमा प्रतिक्रियावादी सत्ता र तिनका दलाल अर्थशास्त्रीहरु जोडतोडले लागेका छन ।

भूमण्डलीय पूँजीवादहरुले साना, कमजोर अबिकसित र गरीब मुलुकहरुमा खुलेआम व्यापारीक, आर्थिक, बित्तीय र औद्योगीक प्रभुत्व जमाई त्यस्ता मुलुकलाई पूँजीनिवेश बनाउने भूमण्डलीय रणनीति (Gobal Strategy) का साथ नवउदारवादीे नीति लागू गर्न ठूलो दवाब श्रृजना गरेका छन् ।

धनी, सम्पन्न र शक्तिसाली राष्ट्रलाई त्यस्ता देशहरुले खुल्ला बजार, खुल्ला लगानी, सस्तो कच्चा पर्दाथ र सस्तो श्रम उपलब्ध गराउनु पर्ने, उत्पादित माल बेरोकटोक बेच्न पाउनु पर्ने, सार्बजानिक र सरकारी कलकारखाना, उद्योग र सस्थानहरु नीजिकरण (Privatisation) गर्नुपर्ने शर्त बन्देज लादेर सहयोगको बहानामा यी देशहरुमा प्रबेश गर्दछन् ।

भूमण्डलीय पूँजीवादले नवउदारवादको नीति अनुशार मालहरु, सेवाहरु र पूँजीलाई राष्ट्रिय सीमाभित्र सीमित नगरी वस्तु र सेवाको ब्यापारमा उदारीकरण (Liberalisation), नीजिकरण ( Privatisation) र बिश्वब्यापीकरण (Globalization) को नाटकद्वारा साना, कमजोर, अबिकशीत र गरीब देशहरुमा भित्रिई त्यस्ता देशहरुको स्वाधीनता र स्वतन्त्रता माथि हस्तक्षेप गदर्छन । भूमण्डलीकृत पूँजीवादले लागू गरेको नवउदारवादी नीतिको कारण सरकारी र सार्वजानीक क्षेत्रका उद्योग, संस्थान र सेवा क्षेत्रलाई निजीकरण गराई त्यस्ता देशलाई आर्थिक रुपमा टाट पल्टाउने र ऋणको चक्रव्यूहमा फसाँएर परनिर्भर बनाई आफ्नो काबुमा राख्ने गर्दछ ।

भूमण्डलीकृत वित्तीय र व्यापारीक पूँजीवादको प्रमुख बिचार (Gobal Doctrine) उदारीकरण र नीजिकरण हो । भूमण्डलीकृत पूँजीवादले आर्थिक, वित्तीय, औद्योगिक, व्यापारीक र सैन्य नियन्त्रण कायम गर्न बिभिन्न रणनीतिक चाल चाल्दै आएको छ । यसले आर्थिक, वित्तीय, औद्योगिक र व्यापारीक नियन्त्रण कायम राख्न बिश्व बैक (World Bank–WB), एशियाली बिकास बैक (Asian Development Bank–ADB), अन्तर्राष्ट्रिय मुद्रा कोष (The International Monetary Fund–IMF), बिश्व ब्यापार संगठन (World Trade Organization–WTO) र बहुराष्ट्रिय निगम/कम्पनी (Multi–National Companies–MNC) हरु परिचालन गरेको छ ।

साथै सैन्य नियन्त्रण कायम गर्ने उदेश्यले नेटो (North Atlantic Treaty Organization–NATO), सेन्टो ( South-East Asian Treaty Organization-SEATO) र सिटो (Central Treaty Organization–SENTO) जस्ता सैन्य संगठनहरु क्रियाशिल गराएको छ । भूमण्डलीकृत वित्तीय तथा व्यपारिक पूँजीवादले सहजै आफ्नो भूमण्डलीय रणनीति लागू गर्न नसके पछि अन्त्यमा शैन्य बलको माध्यमद्वारा हस्तक्षेप गर्र्दछन् । जसको नमूना इराक, अफगानिस्थान, सिसिया, मध्यपूर्व ल्याटिन अमेरिकी देशमा मात्रै होइन विश्वका अन्य कयौ मुलुकले यसको सामना गरिरहेका छन ।

सन् १९९० यता नेपालले नवउदारवादी नीति अवलम्बन गर्दै आएको छ । यस्तो नीति लागू हुनु अघि र लागू भए पछिको आर्थिक, औद्योगिक र वित्तीय स्थितिको तुलनात्मक अध्ययन गर्ने हो भने नेपाल क्रमशः कंगालीकरण हुदै गएको छ ।

राजनीतिक पार्टीको लगाम लगाएका अर्थशास्त्रीहरुको आर्थिक विश्लेषण हेर्दा काल्पनिक र बनावटी प्रगतीको डेटाहरु पेश भएको पाईन्छ । वास्तबमा नेपालमा बहुराष्ट्रिय पूँजी, परराष्ट्रिय पूँजी र दलाल पूँजीलाई कर छुट र विभिन्न सहुलीयत दिएर राष्ट्रिय पूँजीलाई निरुत्साही गर्दै आएको छ, जसको कारण राष्ट्रिय पूँजीले प्रतिश्पर्धा गर्न नसकी धाराशाही भएको छ । एकातिर बहुराष्ट्रियपूँजी, परराष्ट्रिपूँजी र दलाल पूँजीले राष्ट्रिय पूँजीलाई निलीरहेको छ भने अर्कोतिर वित्तीय पूँजीले औद्योगिक पूँजीलाई निलीरहेको छ ।

नेपालमा नवउदारवादी नीतिको कारण सार्वजानिक उद्योग, संस्थान र सेवा क्षेत्रको नीजिकरणले देशलाई पूरै परनिर्भर र पराश्रृत बनाएको छ । विगतमा नेपाल कपडा, सिमेन्ट, छालाजुत्ता, धागो, चिनी, कागज, इट्टा टायल, टायर, कृषि औजार तथा उपकरण, खाद्यन्न आदीमा लगभग आत्मानिर्भर थियो । देशमा लाखौले रोजगारी पाएका थिए, त्यसपछिको समयमा पचासौं लाख युवा देशबाट बाहिरन बाध्य भए । आज हामी नवउदारवादी नीतिको कारण कुन ठाँउमा पुयौं समिक्षा हुन आवश्यक छ ।

यीनै उल्लेखित राष्ट्रिय र अन्तराष्ट्रिय वस्तुस्थितिको विवेचनाबाट हामी कुन निश्कर्षमा पुग्दछौ भने शोषण, असमानता, विभेदमा आधारीत केन्द्रीकृत भूमण्डलीकृत नवउदारवादी पूँजीवादले पूरै विश्वको अर्थतन्त्र र बजार कसरी कब्जा गर्दछ र साना, कमजोर अबिकसित र गरीब मुलुकहरुलाई कसरी दोहन गर्दछ भन्ने कुराको पुष्टि गर्दछ ।

नेपालको सन्दर्भमा समाजवाद उन्मुख संविधानको विषयमा ठूलै चर्चा चल्यो तर समाजवादको मोडालिटीको विषयमा कुनै बहस भएन । नेपालमा समाजवाद र प्रजातान्त्रिक समाजवादको पक्षपोषण गर्ने काग्रेस, एमाले र माओवादी जस्ता राजनीतिक शक्तिहरुसंग समाजवाद सम्वन्धि कुनै खाका र भिजन छैन । उनीहरु खोक्रो समाजवादको गफ चुटेर जनतालाई भ्रमित पारिरहेका छन ।

त्यस्ता राजनीतिक पार्टीहरुको नीति, कार्यक्रम, दस्तावेज र घोषणपत्रमा समाजवादको मोडेल र त्यसका विशेषताको वारेमा केहि उल्लेख पाइदैन । आदर्शवादी र आध्यात्मवादीले जीवनभर गरेको कर्म (काम) को फल मरेपछि मात्र पाईन्छ भनि आशै आसमा जीवनभर शोषण गर्दछन् । काल्पनिक समाजवादीहरुले पनि क्रान्ति सम्पन्न भएपछि मात्र समाजवाद लागू गर्न सकिन्छ भनि परिवर्तनलाई सुदुर भविश्यको कल्पनामा सीमित गर्दछन । यी दुबै रुढिवादी सोचाइको उपज मात्र हो ।

आज हामीहरु परंपरागत समाजवाद होइन की वैज्ञानिक समाजवादको प्रस्थानविन्दु के हुन सक्छ र नेपालको मौलिक विशेषताहरु के के हुनसक्छ यस विषयमा नयाँ शिराबाट अध्ययन गरिरहेका छौ । समाजवादलाई सहि रुपमा लागू गर्ने हो भने साइत हेरेर सुदुर भविश्यको विषय बनाउनु हुदैन त्यसलाई आजैबाट क्रमशः कार्यन्वयनमा ल्याउनु पर्दछ ।

विश्वका विकसित शिद्धान्त, विचार, कार्यनीति र राजनीतिक कार्यक्रम सबै देशमा समान ढंगले लागू गर्न सकिदैन । आ–आफ्नो देशको भिन्नभिन्नै राजनीतिक, आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक, वर्गीय, भौगोलिक र मनोवैज्ञानिक विशेषता र आयमहरु आधारमा यसलाई लागू गर्न सकिन्छ । यीनै विशेषताको आधारमा देशको मौलिक राजनीतिक कार्यदिशा र समाजवादको मौलिक ढाँचा निर्धारण गर्नु पर्दछ ।

नेपाली समाजको वर्ग विश्लेषणमा ठूलो फेरवदल भैसकेको छ । श्रमिकवर्गको परिभाषालाई नयाँ ढंगले परिभाषित नगरी समाजको समग्र चरित्र बुझ्न सकिदैन । कृषि क्षेत्रमा कार्यरत आम जनशक्तिलाई श्रमिककै रुपमा नहेरी नेपाली समाजको वास्तविक वर्ग विश्लेषण गर्न सकिदैन । नेपालमा आधारभूत वर्गको रुपमा कृषि श्रमिक रहेकोले उनीहरुको समस्यालाई सहिरुपमा सम्बोधन नगरी नेपाली समाजको रुपान्तरण हुन सक्दैन । त्यसैगरी वाह्य रोजगारी रहेको जनसंख्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन ।

नेपाली समाजमा समग्र क्षेत्रमा विचैलियाहरुको वोलवाला छ त्यसमध्ये पनि सबभन्दा बढि कृषि श्रमिकहरु बिचौलीयहरुको शोषण र उत्पीडनमा परेका छन । देशमा मैलाउदो बचौलीया प्रणाली बिरुद्घ धावा नबोली नेपाली अर्थव्यवस्थामा सुधार ल्याउन सकिदैन । यस्ता सवैखाले विकृती र अव्यवस्थाको विरुद्घ नेपाली राजनीतिमा मौलिक कार्यनीति र रणनीतिको बिकास गरेर नेपालीलाई स्वतन्त्र, स्वाधीन, आत्मानिर्भर समृद्ध देश बनाउन सकिन्छ ।

नेपाल बहुजातीय, बहुभाषी, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विवधताले भरिपूर्णा देश हो । नेपाली समाजको आफ्नै मौलिक सामाजिक संरचना र विशेषताहरु छन । नेपाली मौलिक विशेषताका आधारमा नेपाली राजनीति व्यवस्थालाई कसरी जनताको हितमा प्रयोग गर्ने त्यसको नीति र कार्यक्रम कस्तो हुने भन्ने प्रश्न नै मूलतः वैज्ञानिक समाजवादको मूल विषयवस्तु बन्नु पर्दछ ।

आज देशको पछिल्लो परिस्थितिले नै नेपालमा नयाँ राजनीतिक प्रणालीको माग गरिरहेको छ । देशमा र्सिजना भएको बिद्यमान समस्याको हल गर्न नसक्ने राजनीतिको प्रणाली केवल देश र जनतालको लागि बोझ सिवाय केही होईन । यो मक्किसकेको ब्यवस्थालाई जति रंगरोगन गरेर टालटुल पारे पनि आखिर यसले आफ्नो चरित्र अनुसारको भूमिका निर्वाह गर्दछ । प्रजातन्त्र, गणतन्त्र वा लोकतन्त्र जे भनेपनि राज्यको अधार संरचना परिवर्तन भएको छैन । राज्यको उपरिसंरचनामा सामान्य परिवर्तन भएपनि श्रमजीवी वर्गको प्रतिनिधित्व हुन सकेको छैन ।

वैज्ञानिक समाजवादले पूँजीवादी व्यवस्था र पुरानो ढंगको समाजवादले हल गर्न नसकेका राजनीतिक, सामाजिक, आर्थिक र वर्गीय अन्तरविरोधको हल गर्ने मौलिक विधि खोज्दछ । नेपालको सन्दर्भमा “राजनीतिलाई स्वाधिनतासंग जोडने, अर्थतन्त्रलाई आत्मानिर्भरतासंग जोड्ने र राष्ट्रिय सुरक्षालाई जनप्रतिरक्षासंग जोडेर बन्ने कार्यनीतिको आधारमा वैज्ञानिक समाजवादलाई विकसित गर्न सकिन्छ ।

नेपालमा भएका अथाह प्रकृतिक श्रोत साधनको समूचीत उपयोग गर्दै देशमा राज्यद्वारा संरक्षित कालोवजारी, तस्करी, चुहावट र भष्ट्रचारलाई जंग्गी कानुनद्वारा नियन्त्रण गर्ने बिधिको बिकास नगरी नेपाली राजनीतिलाई नयाँ ट्याकबाट हिडाउनै सकिदैन । नेपालका विद्यमान राजनीतिक पार्टीहरु बाह्य देशको प्रभावमा परिचालित हुँदै आएका छन । पूँजीवादी पार्टीहरु इण्डो-पश्चिमा पूँजीवादी देशहरुको निर्देशनमा परिचालित छन भने बामपन्थी पार्टीहरु रुस र चीनको राजनीतिक प्रणालीको नक्कल गर्दै आएका छन । कुनै पनि राजनीतिक पार्टीले आफ्नो मौलिक राजनीतिक प्रणालीको विकास गर्न सकेका छैनन् ।

नेपाली राजनीतिमा मौलिकढंगको कार्यनीति र कार्यक्रमको विकास नगरि राज्यको चरित्र परिवर्तन गर्न सकिदैन । नेपाली मौलिकतामा आधारित क्रान्तिकारी कार्यनीति र रणनीतिको बिकास अहिलेको मूल पक्ष हो । नेपालका विद्यमान नियम कानुन केवल देखावटी र शासकवर्गको सत्ताकवाच बहायक अरु केहि होईनन् । यस्ता नियम कानुन पुराना, अव्यवहारीक र अन्तरविरोधी छन्, जसको कारण समजमा भएका अपराध, विकृती र विसंगती रोक्न असमर्थ छ । देशमा देखावटी राजनीतिक परिवर्तन भएको छ तर राज्य र शासकवर्गको चरित्र, कार्यशैली, जीवनशैली, संस्कार र संस्कृति पुरानो राणाकालीन नै छ ।

देशमा एकपटक सांसद मन्त्री राष्ट्रपती लगाएतका पोष्टमा पुगेपछि आजीवन पेन्सन पाउने र जनताले एउटा सिटामोल समेत राज्यबाट नपाउने राजनीतिक प्रणालीबाट जनताले के आशा गर्ने ? नेपालको जनबिरोधी राजनीतिक प्रणाली र शासन ब्यवस्था रहेसम्म देश र जनताको उन्नती र प्रगती असंभव छ । नेपाली मौलिकता र विशेषता सहितको वैज्ञानिक समाजवादका मौलिक रणनीति र कार्यनीतिको सहि ढंगले विन्यास गर्नु पर्दछ । मक्किएको राजनीतिक विचारधारा र राजनीतिक व्यवस्थाको ठाँउमा नयाँ मौलिक विचार, कार्यदिशा, कार्यनीति, कार्यक्रम, संस्कार र संस्कृतिद्वारा नयाँ नेपालको मार्गचित्र (Road Map) कोर्न सकिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »