सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मजदुरकाे पिडाः मरेकाे कुखुरा हामीलाई दिनुस्

बागलुङ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा काम गर्दै आएका दुई दर्जन बढी मजदुर अहिले अलपत्र छन् । चैत्र दोस्रो साता देश लकडाउन भए पछि कामविहीन भएका उनीहरूलाई अहिले कामको मात्र होइन, मामको समेत पिरलो थपिएको छ ।

लकडाउनभन्दा एक साता अघि मात्र कैलालीबाट मध्यपहाडी लोकमार्गमा काम थालेका १९ जना मजदुर अहिले जिल्लाको काठेखोला गाउँपालिका १ र बागलुङ नगरपालिका वडा नम्बर ३ खहरेमा अलपत्र छन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा काम गर्न दिने सहज नीति लिए पनि ठेकेदार सम्पर्कविहीन भएका कारण मजदुरहरु अब काम गर्ने नगर्ने अन्यौलमा छन् । ठेकेदारले खरिद गरिदिएको ६ बोरा चामलबाहेक नुन, दाल, तरकारी, खुर्सानी सकिएको एक साता भइसकेको लोकमार्गमा कार्यरत कैलाली गौरीगंगा गाउँपालिका ७ मुसरिया मनकापुरका दिलकुमार रोकाले बताए । ‘कामविहीन भएको एक महिना हुन लाग्यो, ठेकेदारले दिएको चामलबाहेक अरु खानेकुरा सकिएको छ,’ उनले भने, ‘तत्काल हामीलाई चाहिँदैन अरुलाई दिनुस् भनेका छौँ । तर तरकारी, खुर्सानीबिना भात खाएको साता दिन भइसक्यो, अब त बाच्नै गाह्रो हुन्छ कि भन्ने डर लाग्न थालेको छ ।’

लकडाउन थपिँदै जाने बुझेपछि हिँडेरै घर जाने तयारी गरिए पनि बीच बीचमा रोकेको जानकारीपछि आँट नगरेको अर्का मजदुर श्याम रसाइलीले बताए । ‘हिँड्दै गए १० दिनमा त पुगौँला भन्ने सरसल्लाह भएको थियो,’ रसाइलीले भने, ‘बीच बाटोमा के खाने ? कसैले रोके फेरी अलपत्र पर्ने हो की भन्ने पिरलोले यतिकै बसेका छौँ ।’

दाल तरकारीको चरम अभाव बढ्न थालेपछि उनीहरुले निर्माणाधीन लोकमार्ग नजिकैको कुखुराको पोल्टि फर्ममा मरेका कुखुरा माटोमा नगाडी आँफूलाई दिन फर्म सञ्चालक शिव खड्कालाई आग्रह गरेका थिए । यस्तो आग्रहपछि मानव सेवा आश्रमका अभिभावकसमेत रहेका खड्का झस्किए । ‘लोकमार्गमा कार्यरत मजदुर आएर दाइ मरेका कुखुरा नफाल्दिनु, हामीलाई दिनुस् भनेर अनुरोध गरे,’ सञ्चालक खड्काले थपे, ‘बुझ्दै जाँदा तरकारी सकिएको धेरै दको भएको रहेछ, अनि तत्काल जिल्लामा अभियन्तासँग मिलेर केहि राहत हुने गरी सामान दिएका छौँ।’

स्थानीय सरकारले आफ्ना पालिकाका गरिब, विपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई पहिलो चरणको राहत बाँडे पनि बाह्य जिल्लाबाट आएकाको बल्ल तथ्यांक संकलन गरिरहेको छ । काठेखोला गाउँपालिकाको वडा नम्बर १ र बानपा ३ को वडा कार्यालयले नाम टिपेर लगे पनि अहिलेसम्म कुनै राहत नपाएको नवराज तामाङ बताउँछन् ।

देशका गौरवका आयोजनामा समर्पित मजदुर अलपत्र परेर भोकै बस्नुपर्ने अवस्था नआओस् भन्नका लागि विभिन्न व्यक्तिको सहयोगमा फुड बैंक सञ्चालन गरिएको र त्यसबाट सहयोग गर्न सकिने अभियन्ता राम शर्माले बताए । ‘यो जोखिमपूर्ण अवस्थामा श्रम गर्ने मजदुरलाई राज्यले अपनत्वको भाव उत्पन्न गराउन सक्नुपर्छ’ उनले भने, ‘तर गौरवकै आयोजनामा काम गर्ने मजदुरहरु यस्तो अवस्थामा हुनु दुखद कुरा हो, स्थानीय सरकार गम्भीर बन्नुपर्छ ।’

आयोजना निर्माणका ठेकेदार सम्पर्कविहीन भएपछि उनीहरु अहिले पनि काम छोडेर घर जान आतुर छन् । तर जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले मजदुरहरुलाई तत्काल घर जाने बाहेकको विकल्पमा सबै खालको सहयोग गर्न तयार रहेको बताए । ‘मैले मजदुरहरुको यो समस्याका बारेमा आयोजनाका इञ्जिनियरसँग पनि कुरा गरिसकेको छु, यदी तत्काल यताबाट भएन भने पनि हामीले अब भोकै बस्ने अवस्था आउन दिन्नौँ’, एसपी भट्टले भने ।

दिल शिशिरले तयार गरेका रिर्पाेट अन्नपुर्ण अनलाइनबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »