सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मनी केयर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं, मनी केयर बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा एक विशेष समारोह बिच काठमाडौंमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बसन्त कुमार पाण्डेको सभापतित्वमा आयोजिय कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री सिपी मैनालीलाई आमन्त्रण गरिएको थियो। पर्यटन व्यवसायी तथा समाजसेवी तिलक लामा, पाटन कलेजका सह-प्राध्यापक डा । रघुबिर बिष्ट, डिभिजन सहकारीका पूर्व प्रमुख हरी वशिष्ठ, व्यवसायी राजन तिमल्सिना, रत्न उप्रेती लगायत विभिन्न जिल्लाका शेयर सदस्यहरु, संस्थाका पदाधिकारीहरुको कार्यक्रममा उपस्थिति थियो।

२०६८ सालमा स्थापना भएको मनी केयर बचत तथा ऋण सहकारी संस्थाले कृषि क्षेत्रमा ठुलो लगानी गर्दै आएको छ । एक हजार पचास जना शेयर सदस्यहरु रहेका यस संस्थाले विभिन्न पेशा र व्यवसायमा स्थापित व्यक्तिहरु आवद्ध गराउँदै आएको छ।

संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय परिवेशमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक ब्याज प्रदान गरि संकलन गरिएको निक्षेप पूँजीलाई सदस्य व्यवसायी तथा उद्यमीहरुको व्यवसाय प्रवर्द्धन गर्ने र सुलभ ब्याजदरमा कर्जा प्रवाह गरी सबल र आत्मनिर्भर व्यवसायी बनाइ संस्थाको हिस्सेदार बनाउने गर्दै आएको छ।

सबैमा बचत गर्ने बानीको बिकास गराई आवश्यक ऋण प्रवाह गर्दै सामुहिक लगानीको आधार निर्माण गर्ने प्रभावकारी योजना यस संस्थाले तर्जुमा गर्दै आएको छ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले देशमा समाजवाद र पूँजीबादको बहस चलेता पनि कृषि र रेमिटेन्स बिना देशले काँचुली फेर्न नसक्ने बताउनु भयो। मनि केयर बचत तथा ऋण सहकारी संस्थाको प्रतिवेदन अनुसार शेयर पूँजी, बचत बढ्दै गएको र आम्दानी भन्दा खर्च कम देखिएको हुदाँ उनले समग्र सहकारी परिवारलाई बधाई दिए। नेपालमा कूल ३४,५०० को हाराहारीमा सहकारी संस्थाहरुको स्थापना भएको तथ्यांक भए पनि ती मध्य सबैले राम्रो काम नगर्नु चिन्ताको विषय भएको जिकिर गर्दै सहकारीको नितिभित्र रहेर मनी केयरले उत्पादन र बिक्री वितरणमा सहभागी हुँदै सफलतापूर्वक कार्यक्रमहरु संचालन गर्दै आएकोमा खुसी व्यक्त गरे।

लेखा समितिका संयोजक चन्द्र प्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न कागज पत्र, भौचर, विवरण, आम्दानी, सम्पत्ती, दायित्व, खाताहरु, सहायक खाताहरु, शेयर दर्ता किताब, बचत तथा निक्षेप हिसाब विवरण, बैंक मौज्दात हिसाब विवरण, नगद खाता विवरण, ऋण लगानी हिसाब, सम्पति हिसाब, संचालक समितिका विभिन्न निर्णयका आधारमा लेखा सुपरिवेक्षण गरिएको जानकारी दिएका थिए। संयोजक पाण्डेले संस्थामा भाका नाघेका ऋणको अवस्था १% मात्र रहेको र संस्थाका संचालकहरुले कुनै सुबिधा वा बैठक भत्ता नलिएको बताए।

त्यस्तै डिभिजन सहकारीका पुर्व प्रमुख हरि वशिष्ठले मनतव्य राख्दै आधुनिक सहकारीको सुरुवात युरोपबाट भए पनि नेपालको लागि पनि सहकारी कुनै नौलो शब्द नभएको ब ताए । करिब सात दशक पहिले नै नेपालमा सहकारी स्थापना भएको भ न्दै २०१३ चैत २० गते बथान नामक पहिलो सहकारी संस्था चितवनमा स्थापना भएको स्मरण गराए ।

अतिथि व्यवसायी राजन तिमल्सिनाले सहकारीको वार्षिक साधारण सभाको सफलताको लागि शुभकामना दिंदै अवसरहरु नेपाल मै रहेको धारणा व्यक्त गरे। उनले ती अवसरहरुको उच्चतम प्रयोग गरि समृद्ध नेपाल निर्माण गर्न सम्पूर्ण नेपालीहरु लाग्नु पर्ने बताए।

अर्का वक्ता अतिथि पर्यटन व्यवसायी तथा समाज सेवी तिलक लामाले संस्थाको हालको टिम संस्थाको उन्नति र प्रगति गर्न सफल रहेको बताउँदै आगामी दिनमा अझ उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरे।

कार्यक्रमको बिचमा विभिन्न कठिनाईहरुको सामना गर्दै जाजरकोट र जुम्ला जस्ता स्थानहरुबाट उत्पादित अर्ग्यानिक खाद्री सामाग्रीहरु संकलन गरि राजधानी लगायत देशका विभिन्न स्थानहरुमा पुर्याएर अतुलनीय योगदान पुर्याउँदै आएका जनक बहादुर चलाउनी र पदम बहादुर थापालाई सम्मान गरिएको थियो।

त्यस्तै महिला उद्यमशिलता बिधामा सुनिता पौडेल र मेनुका पहाडी पनि सम्मानित भएका थिए। कार्यक्रमलाई समापन गर्दै संस्थाका अध्यक्ष वसन्त कुमार पाण्डेले यस संस्थाले विभिन्न जिल्लामा उत्पादन भएका कृषि सामाग्रीलाई उचित बजार व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र यस सहकारीलाई देश कै नमूना सहकारीको रुपमा चिनाउन प्रयत्न गरिरहेको कुरा बताए। उनले यसै वर्ष करिब पाँच सय सदस्यता थप्ने संस्थाको लक्ष्य रहेको समेत जानकारी गराए।  

भर्खरै

सम्बन्धित खबर

Language »