सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११४औं जन्मजयन्ती मनाईयाे


अमन अन्सारी

नेपालगञ्ज , नेपाली साहित्यमा लोकप्रियताका दृष्टिले शिखर चुम्न सफल महाकवि लक्ष्मी प्रसाद देवकोटाको १ सय १४औं जन्म दिवसकाे अवसरमा महेन्द्र पुस्तकालय नेपालगञ्जले आज एक कार्यक्रमका बीच जन्मजयन्ती समाराेह मनाएकाे छ ।
झ्याउरे लयलाई सम्मानित स्थान दिई मुनामदन मार्फत लोकप्रिय भएका देवकोटाकाे शाकुन्तला महाकाव्यले गर्दा देवकोटा दक्षिण एशियाकै अग्ला साहित्यकारका रूपमा चिनिन्छन् ।


‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ भन्ने सरल भावका कारण महाकवि देवकाेटा सारा नेपालीकाे मन मस्तिष्कको सबैभन्दा माथिल्लो तहमा विराजमान छन् ।


पुस्तकालयका अध्यक्ष बलराम यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, भेरी साहित्य समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सिना, लेखक नरेन्द्र जंग पीटर, पूर्व मेयर विजय कुमार गुप्ता, मधु सुदन शर्मा, शशिराम कार्की, राजनीतिक विश्लेषक डाक्टर जनार्दन शर्मा आचार्य, जिल्ला हुलाक कार्यालयका प्रमुख गाेविन्द पाण्डे, मधई सिंह, ज्ञानेन्द्र बहादुर सिंह लगायतका वक्ताहरुले देवकाेटाकाे रचना तथा देवकाेटाकाे व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरेका थिए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य माेहम्मद आरिफ अन्सारी, पुस्तकालय समितिका सदस्य ललिता उपाध्याय, धनमाया लुईंटेलका साथै सल्लाहकारहरु तथा विभिन्न व्यक्तीहरुकाे उपस्थिति रहेकाे थियो ।
देवकाेटाकाे तस्वीरमा माल्यार्पण गरि सञ्चालन भएकाे कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालय उपाध्यक्ष पंकज श्रेष्ठ तथा कार्यक्रम सञ्चालन सचिव मणिदेव अर्यालले गर्नुभएको थियाे ।
वि. सं. १९६६ सालमा जन्मिनु भएकाे देवकाेटाकाे वि. सं. २०१६ भाद्र २९ गते ५० वर्षको उमेरमा निधन भएकाे थियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »