सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माटो जोगाउने अभियान सबैको हितमा – मन्त्री राई

नेपालगञ्ज, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई गृह जिल्ला बाँकेमा भएका विभिन्न कार्यक्रममा सहभागी भई सोमबार राजधानी फिर्ता हुनुभएको छ ।

सोमबार पनि उहाँ नेपालगञ्जमा भएका कार्यक्रममा सहभागी हुनुभयो । एक कार्यक्रममा उहाँले माटो जोगाउने अभियान देश र जनताको हितमा रहेको बताउनुभयो ।

उहाँले माटोको विभिन्न मानवीय गल्तीका कारण माटोको उर्वराशक्ति घट्दै जानु भविष्यका लागि निकै चिन्ताको विषय भएको जनाउँदै माटोको संरक्षण र संवर्धन गर्न सबै नेपाली जागरुक हुनुपर्नेमा जोड दिनुभयो । नेपालको माटो जोगाउन काठमाडौँबाट शुरु गरिएको माटो जोगाउ अभियान पूर्व र पश्चिमको यात्रापछि सोमबार नेपालगञ्ज पुग्दा जीभिएन कलेजमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले माटो जोगाउनका लागि निति नै बनाउने सोच वर्तमान सरकारको रहेको पनि बताउनुभयो ।

उहाँले यो अभियान सञ्चालन गर्ने नविन पुनमगरलाई सम्मान गर्दै माटोको संरक्षण र संवर्धन गरेर उर्वराशक्ति बढाउनु भनेको देश र जनतालाई पनि जोगाउनु हो, भन्नुभयो ।यस्ता अभियानलाई सरकारको सम्बन्धित निकायले पनि सहयोग र समर्थन गर्दै आएको उहाँले सो अवसरमा बताउनुभयो । नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टले माटो जोगाउने अभियान निकै राम्रो अभियान भएको जनाउँदै सो बारेमा नागरिक मात्र नभई सरकार पनि जागरुक बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अभियान बारे जानकारी गराउँदै अभियानकर्ता नवीन पुनमगरले माटो जोगाउने विश्वव्यापी अभियानबाट प्रेरणा लिएर गत जेठ ३० गते काठमाडौँबाट तीन हजार ५०० किलोमिटर दौड लगाउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताउनुभयो । उहाँले अभियानअन्तर्गत काठमाडौँबाट पूर्वका तराई र पहाडी जिल्लामा पुगेर पश्चिमको कन्चनपुरको सीमानासम्म पुगेर फर्किएको जनाउँदै सोमबारसम्म तीन हजार किलोमिटर दौड पूरा भैसकेको बताउनुभयो ।

बाँकेबाट दाङ, लुम्बिनी, रुपन्देही हुँदै नवलपरासीमा पुग्दा तीन हजार ५०० किलोमिटर पूरा हुने र नवलपरासीमै यो अभियान समापन गरिने योजना रहेको बताउनुभयो । जथाभावी शहरीकरण, बसाइँसराइ, वन फडानी, अनावश्यक प्लटिङ गरेर जग्गा बाँझो राख्ने र कृषिमा आधुनिक मल खाद्यको प्रयोगले माटो मर्दै गएको जनाउँदै अभियान सञ्चालक पुनमगरले बाहिरबाट माटो देखिए पनि भित्रभित्रै बालुवामा परिणत भएर उर्वराशक्ति अति नै कम भइसकेको बताउनुभयो । अहिलेबाटै सबैले सचेत भएर सरकारले गम्भीर भएर माटो जोगाउन नकस्सिने हो भने केही वर्षपछि उत्पादन घट्दै गएर भोकमरीको सामना गर्नुपर्ने चेतावनी विज्ञहरुले दिएको पनि पुनमगरले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »