सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

माेक्तानले दाेङस्यालाई भन्न नसकेकाे मनकाे कुरा “एदा गोर्की ताम”

काठमाडौँ । तामाङ चलचित्र क्षेत्रमा महानायकको रुपमा चिरपरिचित नायक अमिर दोङ लगायत “एदा गोर्की ताम” म्यूजिक भिडियोको टिमले प्रमुख अतिथि तथा तामाङ समुदायमा स्वर सम्राट भनेर चिनिने गायक तथा संगीतकार चन्द्रकुमार दोङलाई खादाद्वारा सम्मान गरेर कार्यक्रम सुरु गर्नुभएको थियो । अन्य औपचारिक कार्यक्रम भन्दा अलि पृथक र नौलो परम्पराको शुरुवातको अनुभव उपस्थित सबैले गरेका थिए ।

म्युजिक भिडियाे सार्वजनिक कार्यक्रममा नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष तथा गायक विश्व दोङ विशेष अतिथिको रुपमा हुनुहुन्थ्यो भने अन्य व्यक्तित्वहरूकाे पनि उपस्थिती रहेका थिए।

कार्यक्रममा हाँस्यकलाकार कुईसाङ रुम्बाले स्वागत मन्तव्यकाे माध्यमबाट सबैलाई शुभकामना दिनु भएको थियो साथमा नव मोडल सागार मोक्तानले म्यूजिक भिडियोको छायाङ्कनको समयमा भएको घटनाक्रमको अनुभुति सुनाएर सल्लाह, सुझाव अनि म्यूजिक भिडियोलाई सेयर गरिदिन पनि अनुरोध गर्नु भएको थियो भने संगीतकार तथा गायक विशाल काल्तेनले यो गीतमा संगीत भरेको अनुभुति देखि लिएर छाँयाङ्कन समयसम्मको अनुभव सबैको सामु सेयर गर्नु भयो ।

विशेष अतिथि विश्व दोङले “एदा गोर्की ताम” म्यूजिक भिडियोलाई सफलताको शुभकामना दिँदै भन्नुभयो “साँच्चिकै रुपमा हामी प्रचार-प्रसारको क्रममा तामाङ संचार जगतमा मात्र नभएर पत्रकार मिलन लामा दोङले भने जस्तै राष्ट्रिय मुलधारको संचार जगतसम्म जानको लागि गृहकार्य गर्नुपर्ने आजको आवश्यकता हो । हामीले हाम्रो दायरा फराकिलो बनाउँदै लैजानु पर्छ ।”

यसैगरी नेपाल आदिवासी जानजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले पहिचानको अस्तित्वको लागि हतियार बिनाको लडाइँ गरिरहेको तर बम, बारुद भन्दा बलियो हतियार गीत संगीतलाई प्रयोग गरेर अन्तिम लडाईँको तयारीमा रहेको बताउनु भयो ।

कार्यक्रमका आकर्षक व्यक्तित्व तथा प्रमुख अतिथि चन्द्रकुमार दोङले विगत र वर्तमानको बारेमा अनुभव सुनाउनु भयो । उहाँले हिजोको दिनमा तामाङ गीत संगीतलाई फरक धारबाट लैजानु पर्छ भन्दा गाली गर्नेहरु आज त्यही बाटोमा लागेको देख्दा खुशी लागेको सुनाउनु भयो ।

यसरी प्रमुख अतिथि तथा अतिथिहरुले आफ्ना अनुभवहरू सुनाउँदा नायक अमिर दोङले भने छोटकारीमा धन्यवाद शब्द बोलेर कार्यक्रम टुङग्याउँदा कार्यक्रम स्थल हाँसोले गुन्जायमान भएको थियो र सबै गलगल हाँसेर तालीले स्वागत गरेका थिए ।

हुन त तामाङ म्यूजिक भिडियोहरु दैनिक जस्तो नै विभिन्न च्यानलहरुबाट प्रसारण भैइरहेका हुन्छन् तर “एदा गोर्की ताम” म्यूजिक भिडियोका टिमले धेरै मिहिनेत गरेको देखिन्छ । छायाङ्कनको दृश्यहरु हेर्दा पनि कुनै कसर बाँकी राखेका पाइँदैन । नव मोडल सागर मोक्तान एक सफल व्यवसायी पनि हुन् ।

समग्रमा गीत राम्रो बनेको छ । मनको कुरा भन्न प्रयासरत मायालुको मनोभावलाई प्रस्तुत गरिएको यस युगल प्रेम गीतमा आफ्नो मनको कुरा निस्फिक्री भन्न आफ्नो मायालुलाई आह्वान गरिएको छ । पोखराको विभिन्न रमणीय ठाउँहरूलाई सुन्दर ढंगले क्यामेरामा कैद गरिएको यस म्युजिक भिडियोमा दर्शक श्रोताले साँच्चै नै मनोरञ्जन लिन सक्नेछन् भने यस गीतको भिडियो सम्पादन औषत मात्रै रहेको छ ।

गीतको भिडियो हेर्दा कुनै फिल्मको गीतको भिडियो हेरेको आभाष हुन्छ । कलाकारहरुको अभिनय राम्रै छ र यो भन्दा अझै राम्रो गर्न सक्ने पक्ष प्रष्टै देखिन्छ । तामाङ भाषाको गीत भएको कारण गीतमा “निस्फिक्री”, “निर्धक्क” जस्ता शब्द प्रयोग नगरेको भए गीत अझै उत्कृष्ट हुने थियो भन्ने हाम्रो अपेक्षा हो । आगामी दिनमा अझै राम्रा म्युजिक भिडियोको अपेक्षा सहित “एदा घोर्की ताम” टिमलाई सारा खबरको तर्फबाट सफलताको शुभकामना !

भर्खरै

सम्बन्धित खबर

Language »