सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मेरो अनुभव: महाभूकम्प देखि कारोना कहर सम्म

सुजाता ढुङ्गेल  

जीवनको पच्चिसौं वसन्त पार गर्दासम्म धेरै कुराको अनुभव भयो, केही मिठा, केही तिता, केही उराठलाग्दा त केही डरलाग्दा । माईक्रोबायोलोजीमा स्नातकोत्तरको शोध अनुसन्धान गरिरहेकी मैले आजका मितिसम्म धेरै कुरा भोगे जस्तो महसुस हुन्छ । प्रसङ्गको सुरुवात वि. सं. २०७२ साल बैशाख १२ गतेको महाभूकम्पबाट गर्न चाहन्छु । बैशाख १२ गते शनिबारको त्यो दिनको मध्यान्ह अझै पनि यो मानसपटलमा हिजोकै दिन जस्तै गरि ताजा छ । त्यो दिनको लगभग एघाह्र्र बजेर पचास मिनेटको भुकम्प मानौ पृथ्वीले आफ्नो सम्पूर्ण रिस र वितृष्णा निकालेको त्यो क्षण सम्झदा आज पर्यन्त पनि आङ सिरिङ्ग हुने गर्छ । त्यस दिनको करिब ७.८ रेक्टर स्केलको भूकम्प साँचै विनासकारी रहेछ । मध्य नेपालको अधिकांश क्षेत्रमा निकै ठूलो क्षती पुगेको जानकारी रेडियो अनि टेलिभिजनबाट प्रसारण हुने समाचारबाट पाईयो ।

नेपालको ऐतिहासिक धरोहर धरहरा, काठमाण्डौ उपत्यकामा रहेका तीन वटै दरबार क्षत्रैहरु, रानीपोखरी देखि लिएर विकासका पूर्वाधारहरुसँगै ठूलो धनजनको क्षती भएको र घरबार भग्नावशेष मात्र बाँकी रहेको खबर पनि सोही दिनको बेलुकी सञ्चार माध्यमहरुबाट खबर पाउँदा अब हामी कोहि पनि बाँकी रहन्नौ कि भन्ने डरले निकै सताएको थियो । त्यस माथि झन् बारम्बार आइरहने भुकम्पका पराकम्पनहरुले सो डरलाई अझै उचाईमा पु¥याईरहेको थियो ।

भूकम्पको धङ्धङीले नछोड्दै नेपालीहरुलाई सोही वर्षको असोज महिनाको पहिलो हप्ता देखि छिमेकी मुलुक भारतले गरेको नाकाबन्दीले सम्पूर्ण नेपालीलाई पुनः मर्माहत बनाएको थियो । नाकाबन्दीले पनि हामी जस्तो सोझा साझा नेपाली जनतालाई मानसिक आघात नै पु¥यायो । सानो सियो देखि लिएर खाना पकाउने एल. पि. ग्याँस लगायत यातायातका साधनको लागि अपरिहार्य ईन्धन सम्मको अभाव खेप्न बाध्य हुनु प¥यो । तत्कालीन समयमा यस्तो महसुस हुन्थ्यो कि मानौ यो जीवनमा देख्न र भोग्न बाँकी केहि पनि छैन होला । कति खेप्नु यो मानसिक तनाब जस्तो लाग्थ्यो ।

विगतको १० वर्षे जनयुद्ध र त्यस पछिको राजनीतिक संक्रमणकालको अन्त्य हुनै लाग्दा नेपाली जनताहरु झनै प्रताडीत बन्न पुगे । अभावै अभावको भूमरीले आत्मनिर्भर हुने, सुखी र सम्बृद्ध हुने कुरा सपनामा मात्र सिमित हुने हो कि जस्तो महसुस भईरहेको थियो । परनिर्भरतामा बृद्धि हुँदै जान्छ कि भन्ने कुराले साह्रै झक्झकायो ।

लगभग पाँच महिना पछि देशले नाकाबन्दीबाट मुक्ती पायो र समयसँगै नाकाबन्दीले दिएको पिडालाई शरीरमा लागेको घाउमा खाटा बसे जस्तै गरि पिडा भुल्दै बिस्तारै जनजीवन सामान्यीकरण हुँदै गयो ।

जीवन चक्र समयक्रमसँगै २०७२ सालको भुकम्पले आफ्नो वार्षिकोत्सव मनाई सक्दा पनि यसको गड्गडाहट मेरो मानसपटलमा चर्कोनै थियो । बल्ल अहिले आएर यसको गर्जन मेरो मस्तिष्कबाट मधुरो हुदै गएको छ । नदिको वहाव जस्तै जीवनमा जस्तो सुकै उथल पुथल आए पनि सहनै पर्ने र हरेक समस्यालाई चुनौति ठानी अघि बढ्नै पर्ने वाध्यात्मक अवस्था थियो ।

प्रसङ्गलाई अब म २०७६ सालको उत्तराद्र्ध तर्फ जोड्न चाहान्छु । चैत्र महिना लागिसकेको थियो । मनमा भिन्न खालको उर्जा पनि थियो एकातिर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा स्नातकोत्तरको शोध अनुसन्धान गर्ने कार्यलाई अन्तिम गन्तब्यमा प¥याउँदै थिए भने अर्को तिर म वि.सं.२०७७ सालमा प्रवेश गर्दैछु र जिवनको नयाँ आयामहरुलाई स्वागत गर्ने र मनमा थुप्रै थाँति बसेका इच्छा आकांक्षाहरु पुरा गर्नेछु भन्ने अठोटले छुट्टै हर्ष दिइरहेको थियो । हुन त कोभिड–१९ को प्रभाव नेपालमा पर्न नथालेको पनि होइन तथापी अन्य देशहरु जस्तो त्रासदी र बन्दाबन्दीको स्थिती हाम्रो देशमा शुरु भैनसकेकाले मनमा त्यति विघ्न चिन्ताले सताइसकेको पनि थिएन । तर हेर्दाहेर्दै नेपालमा पनि चैत्र ११ गते देखी बन्दाबन्दी घोषणा गरियो । अनि बन्दाबन्दीसँगै मेरो भविष्यमा स्नातकोत्तर उर्तिण गरेर माईक्रोबायोलोजीष्ट भएर देशको विज्ञानको क्षेत्रमा एउटा कुशल अनुसन्धानकर्ता बन्ने मेरो चाहाना माथि नै बन्दाबन्दी लागेको जस्तो अनुभव भयो ।

हुन त यो अहिलेको महामारीको परिस्थितिमा सम्पूर्ण मानव जगतलाई नै एक किसिमको मरिन्छ कि बाँचिन्छ भन्ने निराशापनले नछोएको पक्कै होइन होला तथापि मानव स्वभाव न हो आफ्नो चाहनाको अगाडी अरुको समस्या पनि अलिक सानो नै लाग्ने रहेछ सायद । हप्ता, महिना हुँदै अब त चौथो महिना पनि यसै गरि वित्यो एवं रितले पाँचौ महिना पनि वित्न लाग्दै गर्दा राजधानी काठमाडौँ लगायतका विभिन्न स्थानहरुमा २०७७ साल भदौ ३ गते रातिको बाह्र बजे देखि लागु हुने गरि पुनः निषेधाज्ञा जारि गरियो । यस पंक्तीकारले यति गन्थन कोरीसक्दा नेपालमा पनि कोभिड–१९ ले आफ्नो हैकम पूर्ण रुपमा चलाउन थालिसकेको आभाष हुन थालेको छ । करिब अड्तिस हजार भन्दा पनि बढी मानिसमा कोरोना संक्रमण देखाइसकेको छ भने करिब सवा दुई सय भन्दा बढी मानिसको ज्यान लिईसकेको छ । हेर्दाहेर्दै जीवनमा मास्क, स्यानिटाइजरको प्रयोग तथा साबुन पानीले हात धुने लगायत शरीरको रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बृद्धिका लागि बेसार पानीको सेवन, शारीरिक व्यायाम अनि योगको महत्व बुझ्न थालेकी छु ।

जीवनका हरेक कठिन परिस्थितिले पनि केहि राम्रो पाठ सिकाउँछ भनेझै यस कोभिड–१९ को महामारिले सम्पूर्ण मानव जातिलाई सरसफाई, सन्तुलित खानपान, शारीरिक व्यायाम देखि लिएर सकारात्मक सोचले मात्र अघि बढ्न सकिन्छ भन्ने कुरालाई स्पष्ट पारेको छ । आज आएर आफुले अध्ययन गरेको विषय माईक्रोबायोलोजी निकै महत्वपूर्ण रहेछ भन्ने लागेको छ । हुन त हामी जस्तो दक्ष जनशक्ति लाई देशले उचित व्यवस्थापन गर्न नसकेको तथ्य सर्व विदितै छ । हाम्रो देशमा पनि यस्ता किसिमका भाइरस,ब्याक्टेरीया जस्ता सूक्ष्म जीवाणुहरुका विषयमा शोध अनुसन्धान गर्न सक्ने निकायहरु विगत देखि नै अस्तित्वमा छन् र ती निकायहरुको समयानुकुल क्षमता विस्तार गर्न आवश्यक आधुनिक उपकरणहरु आयात गरि उत्पादीत जनशक्तिलाई परिचालन गरिएमा कोभिड–१९ जस्ता महामारी नियन्त्रण गर्न हामी नेपाली नै सक्षम हुनेछौँ । तथापि एक माईक्रोबायोलोजीष्ट भएको नाताले यस कोभिड–१९ जस्ता महामारीको अवस्थामा आफुले अध्ययन गरेका र बुझेका कुरा आफनो वरपर छरछिमेकमा समेत चेतना फैलाउने काममा लागि रहेकी छु । जसमा मास्कको उचित प्रयोग, निरन्तर साबुन पानीले हात धोइरहने, आफुसँग उपलब्ध भए सम्म स्यानिटाइजरको प्रयोग गर्ने, सन्तुलित खानपानमा जोड दिने, सूरक्षित आईसोलेसनमा बस्ने, रोगको शंका लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई परिक्षण गर्ने र सकारात्मक सोेच लिएर अघि बढ्ने जस्ता कुराहरु पर्दछन् ।

अन्त्यमा हामी नेपालीले धेरै कुरा भोग्यौ अनि देख्यौ र थाहा छैन भविष्यमा पनि कति कुरा देख्न भोग्न बाँकी नै छ होला । तर यी भोगाइहरुले यति सिकायो कि समय सधैं आफ्नो गतिमा हिँडिरहन्छ र अध्ँयारो पछि उज्यालोको किरण पनि पक्कै छाउँछ । त्यसैले सकारात्मक सोच लिई अघि बढनुको विकल्प देखिदैन ।

 मिति – २०७७/०५/१५

भर्खरै

सम्बन्धित खबर

Language »