सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘मैले केही बिराएको छैन, जनचेतना फैलाउने मेरो काम नै हो’ :डा. शेरबहादुर पुन

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना अस्पताल बनाएको छ ।

शनिबार मात्र एक संक्रमित निको भएर घर फर्किइन् भने एक संक्रमित उपचाररत छन् । कोरानाको आशंका पनि अधिकांश बिरामी त्यहीँ पुग्छन्, अस्पतालहरू पनि त्यहीँ रिफर गर्छन् ।

अरु अस्पतालभन्दा टेकुमा बढी चाप छ । स्वास्थ्यकर्मीहरूको खटाइ पनि बढी छ । थोरै संख्यामा रहेको पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), एन ९५ मास्क कम खपत होस् भनी २४ घण्टे ड्युटी गर्छन् । घर परिवार र समाजको दबाब र तनाव पनि छँदैछ ।

त्यसका बाबजुद टेकु अस्पतालका स्वास्थ्यकर्मीहरू कोरोनाविरुद्ध अग्रप‌ङ्क्तिमा खटिएका छन् । त्यसरी खटिएकामध्ये एक डाक्टर शेरबहादुर पुनलाई सरकारले भने स्पष्टीकरण सोधेको छ ।

अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजकसमेत रहेका पुनलाई सञ्चार माध्यममा कोरोनाबारे व्यक्त धारणालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिखित स्पष्टीकरण सोधिएको हो । उनलाई जगेडा राख्ने तयारी छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की भने टेलिफोनबाट बोलाउँदा नआएपछि पत्र काट्नु परेको बताउँछन् । उनी भन्छन्, ‘मन्त्रालयले आफ्नो विधि र प्रक्रियामा रहेर काम गर्न पनि नपाउने ? विज्ञको सल्लाह लिन पो बोलाएको हो कि ?’

डा. पुन भने केही दिनयता मन्त्रालयमा बोलाए पनि केका लागि हो भन्ने थाहा नपाएको बताउँछन् । ‘केही दिनयता अस्पतालको प्रशासनबाट मन्त्रालयमा कुरा गर्न बोलाएको छ भन्ने जानकारी आएको थियो, तर जान पाएको छैन’, उनले भने ।

डाक्टरको मुख थुन्ने प्रयास

डिसेम्बरको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले इटाली हुँदै स्पेनसम्म फैलियो । त्यसपछि युरोपली मुलुकहरूमा पनि कोरोनाको महामारी फैलियो । नेपालमा पनि माघ १० मा पहिलो संक्रमित भेटिएको थियो ।

तर, त्यसपछि दुई महिना संक्रमण देखिएन । यो पूर्व तयारीका लागि नेपालले पाएको समय थियो । तर, त्यसअनुसार सरकारले काम गर्न सकेन । कोरोनाको जोखिम, सरकारले गर्नुपर्ने पूर्वतयारी लगायतका विषयमा सञ्चार माध्यमहरूमा निरन्तर खबर आइरहे । त्यसमा काहीँ न काहीँ डा. पुन पनि जोडिन्थे ।

हाइटीमा नेपाली सेनामाथि झाडापखाला लगाएको आरोप लाग्दा खण्डन गरेका डा. पुन सरुवा रोग विशेषज्ञ हुन् । साथै टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक भएकाले सञ्चारमाध्यमहरूले उनलाई पनि सोध्थे । उनले पनि आफूले जानेको विषय सहज रुपमा सञ्चारकर्मीहरूसँग सेयर गर्थे ।

त्यहीकारण उनी मन्त्रालयको तारो बने । डा. पुन मात्र होइन, सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूको सञ्चारमाध्यममा नाम आयो कि मन्त्रालयले कोरोनासँग सम्बन्धित धारणा नराख्न निर्देशन दिने गरेको पाइएको छ ।

त्यही कारणले अस्पताल प्रशासन र डाक्टरहरू सामान्य जानकारी दिन हच्चिन थालेका थिए । डा. पुन स्वय‌ंले पनि सञ्चार माध्यममा धारणा दिन इन्कार गर्न थालेका थिए ।

तर, संक्रमण बढ्दै जाँदा अलमल पनि बढेपछि उनले विज्ञको हिसाबले धारणा राख्न थाले । ‘मैले प्राविधिक कुरा मात्रै बोल्ने गरेको छु’ डा.पुन भन्छन्, ‘विज्ञको नाताले आफूले जानेको जानकारी दिँदा कारबाहीमा परिन्छ भने के भन्नु र ?’

आफूले कसरी परीक्षण गर्दा राम्रो नतिजा आउँछ, वैज्ञानिक आधार कस्तो हुन्छ मात्रै भनेको भन्दै उनले भने, ‘मैले कहिल्यै पनि सरकारको विरोध गरेको छैन ।’

कोरोनाबारे डाक्टर नबोले को बोल्ने ?’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी कोरोना भाइरसका विषयमा जनतालाई चिकित्सकले नै पर्याप्त जानकारी दिनुपर्ने बताउँछन् ।

डा. मरासिनी महामारी, रोग, ‍औषधि जस्ता कुरामा जनताले डाक्टरकै भनाइमा विश्वास गर्ने बताउँछन् । मन्त्रालयले आफ्नो कमजोरी र असक्षमता लुकाउन कसैलाई ‘बलिको बोको’ बनाउन नहुने उनको सुझाव छ ।

‘कोरोनाका विषयमा नबोलेका हुनाले नै समस्या आएको हो’ डा. मरासिनी भन्छन्, ‘यस्तो महामारीका बेला कोरोनाको विषयमा डाक्टर नबोले को बोल्ने त ?

भर्खरै

सम्बन्धित खबर

Language »