सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोतियाविन्दु भएका नेपालगञ्जका सबैको निशुल्क शल्यक्रिया गरिने

नेपालगन्ज, नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगर भित्र बसोबास गर्ने मोतियाविन्दु भएका सबै नागरिकको निशुल्क शल्यक्रिया गर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ ।
सोका लागि पहिलो चरणमा उपमहानगरका वडा नम्बर १ देखि ९ सम्मका वडाहरुमा मोतियाविन्दु छनोट शिविरको आयोजना गर्ने निर्णय गरेर यही असोज २७ गतेबाट शिविर आयोजना गरिने नेपालगञ्जका उपमेयर कमरुद्दीन राईले बताउनुभयो ।


उहाँले स्थानीय निर्वाचनको बेला जनता समाजवादी पार्टीले तयार गरेको घोषणा पत्रमा उपमहानगरका सबै नागरिकको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गराइने भनि प्रतिवद्धता गरिएकोमा सोही पुरा गर्न यो कार्यक्रम ल्याईएको बताउनुभयो ।


आर्थिक अवस्था कमजोर भएका उपमहानगरभित्रका विपन्न नागरिकले आर्थिक अभावले मोतियाविन्दुको अपरेशन गराउन नसकि समस्यामा परेकोले उनिहरुलाई सहजताका लागि सबैको निशुल्क अपरेशन गराइने बताउनुभयो ।
उपमेयर राईले छनोट शिविरहरुका आँखा जाँच गराउन जानका लागि पनि सबै नागरिकलाई आग्रह गर्नु भएको छ । उहाँले निर्वाचनमा गरिएका सबै प्रतिवद्धताहरु क्रमशः पुरा गर्दै जाने पनि बताउनुभयो ।
वडा कार्यालयहरु र उपमहानगरको सिफारिसमा मोतियाविन्दु देखिएका सबैको निशुल्क शल्यक्रिया गरिने उपमहानगरपालिकाले जनाएको छ ।
यसअघि सो कार्यका लागि उपमहानगरपालिकाले असोज ११ गते नेपाल नेत्र ज्योतीसंघद्धारा सञ्चालित फत्तेवाल आँखा अस्पतालसंग सम्झौता गरेको थियो ।
उपमहानगरपालिकाले दिएको जानकारी अनुसार असोज २७ गते वडा नम्बर १, कात्तिक १ गते वडा नम्बर २, कात्तिक २ गते वडा नम्बर ३, कात्तिक ४ गते वडा नम्बर ४, कात्तिक ४ गते वडा नम्बर ५, कात्तिक १४, १५, १६ र १७ गते क्रमशः वडा नम्बर ६,७,८ र ९ का शहरी स्वास्थ्य केन्द्रमा छनोट शिविरको आयोजना गरिने छ ।
अन्य वडाहरुको हकमा दोस्रो चरणमा गरिने गरि केहीदिनपछि सुचना निकालिने उपमेयर राईले बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »