सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

म्याग्दीको पहिरोमा बेपत्ता २० जनाको शव फेला

म्याग्दीको मालिका,धवलागिरी र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ ।

वेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीहरुले पहिरोले पुरिएकाहरुको शव फेला पारेको हो । प्रहरी निरिक्षक डाक्टर चौधरीका अनुसार हालसम्म धवलागिरी–६ मराङका ११, मालिका–७ बिमका ८ र रघुगंगा–६ ठाडाखानीका १ जनाको शव भेटिएका छन् ।

धवलागिरी–६ कल्लेनीका १८ वर्षीय प्रकाश केसी, राम्चेका सुकना लामगादे, आशिस दामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मनबहादुर श्रीपाली, कमला श्रीपाली, सुरक्षा श्रीपाली र सुरज श्रीपालीको शव भेटिएको चौधरीले बताउनुभयो । यसअघि शुक्रबार पहिरोले पुरिएका मराङको ठूलोगाउँका ६२ वर्षीय तुलबहादुर केसीको शव भेटिएको थियो ।

बिमकी बिष्णु शर्मा, इच्छा केसी, गौदेवी नेपाली, विशेष नेपाली, बिरबहादुर नेपाली, उनका ३ महिनाका छोरा, बिष्णु नेपाली, सन्दिप नेपालीको शव भेटिएको प्रहरी निरिक्षक चौधरीले जानकारी दिनुभयो । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो ।

मराङको रिखको पहिरोमा ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, १० वर्षीया करिस्मा जुग्जाली, ८ वषीय कञ्चन जुग्जाली, ५ वर्षीय अर्जुन जुग्जाली, ५५ वर्षीया गौशरा जुग्जाली, २१ वर्षीया दिमा जुग्जाली, ३ वर्षीय दिप्ती जुग्जाली र १ वर्षीय दिवन जुग्जाली वेपत्ता छन् । कल्लेनीका ५१ वर्षीय जनिमा केसी र १६ वर्षीय सबिन पुनको खोजी भैरहेको छ । दुखुखोलाले बगाएर वेपत्ता भएकी मालिका–६ की ४० वषीया गिता रोकाको अवस्था पनि अज्ञात छ ।

वेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक बिकटता र प्रतिकुल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । पहिरोमा परेर घाइते भएका मराङका २ र बिमका १ जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलीकप्टरबाट उद्धार गरिएको छ ।

मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र ७ वर्षका सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भैरहेको छ । ताकममा २, कल्लेनीमा २ र राम्चेमा २ जना घाइतेको उद्दार गर्न बाँकी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »