सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजनीतिक उपचार खोज्ने नेकपा (माओवादी केन्द्र)काे निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार खोज्ने भएको छ।

शनिबार पार्टी हेडक्वाटर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संघर्ष गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवम् राष्ट्रघाती कदमविरुद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गर्न प्रतिबद्ध छ।’

प्रचण्डले राष्ट्रियता र सार्वभौमसत्ता पक्षधर सबै दल र बुद्धिजीविलाई संघर्ष गर्न अपीलसमेत गरेका छन्।

‘माओवादी केन्द्र राष्ट्रिय सार्वभौमिकता एवम् स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुनविद्, मानवअधिकारवादी, पेशाकर्मीलगायत आम जनसमुदायलाई एकतावद्ध भएर राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिन र संघर्ष गर्न हार्दिक अपील गर्दछ’, प्रचण्डले सार्वजनिक गरेको विज्ञप्तिमा थप भनिएको छ।

माओवादीले राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै कोभिड महामारीबाट नागरिकको जीवन रक्षा गर्न एकीकृत अभियान चलाउने निर्णयसमेत गरेको छ।

सबै तहमा कोभिड सेवा इकाई गठन गर्ने स्वयम्सेवका परिचालन गर्ने निर्णयसमेत माओवादीले गरेको छ। माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोनालाई अनदेखा गरेर आन्दोलन नगर्ने निर्णय भएको प्रष्ट पारे।

भर्खरै

सम्बन्धित खबर

Language »