सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्तीसोनारीका कोरोना प्रभावित बिद्यार्थीका लागि घुम्ती शिक्षक परिचालन गरिदै


बाँके(राप्तीसोनारी), राप्तीसोनारी गाउँपालिकाले बिद्यार्थीलाई घरमै बसेर पढ्ने वातावरण बनाउन घुम्ती शिक्षक परिचालन गर्ने भएको छ ।

गाउँपालिका शिक्षा समितिको बुधबार बसेको बैठकले सामाजिक दुरी कायम गरेर बिद्यार्थीलाई पुस्तक वितरण गरी सम्बन्धित बिद्यालयका शिक्षकलाई सेवा क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको हो ।

‘सामाजिक दुरी कायम गरेर बिद्यार्थीलाई पहिला पुस्तक वितरण गर्ने, त्यसपछि बिद्यार्थीमा पढाईको स्तर कस्तो छ, भनेर तहगत शिक्षकहरु अनुगमन गर्न जानेछन्,’ गाउँपालिका शिक्षा शाखा प्रमुख जीवन न्यौपानले भन्नुभयो । अबको एक साताभित्रमा बिद्यार्थीको हातमा पुस्तक वितरण गरिसक्ने निर्णय बैठकले गरेको छ ।
शिक्षा शाखा प्रमुख न्यौपानेका अनुसार बिद्यार्थीको पढाई स्तर बुझ्न शिक्षकहरु हप्ताको दुई÷तीन दिन अनुगमन गर्न जानेछन् ।

उहाँले भन्नु भयो, ‘त्यसरी अनुगमनमा जाने शिक्षकले बिद्यार्थीको पढाईको अवस्था राम्ररी बुझनेछन्, साथै बिद्यार्थीलाई गृहकार्य दिएर पढ्न लगाउँछन् ।’ सामुदायिक र संस्थागत(बोर्डिङ) स्कुलका बिद्यार्थीलाई लक्षित गरेर घुम्ती शिक्षक परिचालन गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनु भयो ।

‘कोरोना भाइरसका कारण भएको लकडाउनका कारण घरमा बसिरहेका बिद्यार्थीहरु कुन अवस्थामा छन्, पढाईमा कत्तिको ध्यान दिइरहेका छन्, बिद्यार्थीको पढाई क्षमता विकास गर्न घुम्ती शिक्षक परिचालन गर्न लागिएको हो,’ बस्नेतले भन्नुभयो ।
घुम्ती शिक्षामा तहगत शिक्षकलाई सम्बन्धित बिद्यालयले परिचालन गर्नेछ । गाउँपालिका क्षेत्रमा ५४ वटा सामुदायिक र १६ वटा संस्थागत बिद्यालय सञ्चालनमा छन् । शिक्षा शाखा प्रमुख न्यौपानले हरेक बिद्यालयबाट तह अनुसार शिक्षक परिचालन हुने र उनीहरुले नै बिद्यार्थीलाई पालैपालो पढाउने बताउनु भयो ।

‘बिद्यालयले तह अनुसार कक्षा १ देखी १० सम्म हेर्ने फरक फरक शिक्षकलाई आफ्नो सेवा क्षेत्रमा खटाउँछ,’ उहाँले भन्नुभयो ।
शिक्षा समितिका अध्यक्ष एवम् राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले लामो समयसम्म अवरुद्ध भएको बिद्यार्थीमा पढ्ने वातावरण तयार गर्न घुम्ती शिक्षक परिचालन गर्ने निर्णय गरिएको बताउनु भयो । ‘कोरोना भाइरसको महामारीका कारण बिद्यार्थीहरु अझै केही महिनासम्म बिद्यालयमा उपस्थित हुन सक्ने अवस्था छैन, यस्तो बेलामा बिद्यार्थीलाई पुस्तक वितरण गरेर उनीहरुलाई घरमै पढ्ने वातावरण बनाउन घुम्ती शिक्षक परिचालन गर्न लागिएको हो,’ अध्यक्ष थारुले भन्नुभयो ।

गाउँपालिकाले शिक्षाको स्तर माथी उठाउन विगतदेखी नै उच्च प्राथमिकता दिदै आएको बताउँदै उहाँले कोरोना भाइरसको महामारीको समयमा पनि गाउँपालिकाले बिद्यार्थीलाई बैकल्पिक शिक्षाको ब्यवस्था गर्दै आएको स्पष्ट पार्नुभयो ।
गाउँपालिकाको सहयोगमा स्थानीय रेडियो भूवर भवानी ९८.८ मेगाहर्जबाट कक्षा १ देखी १० सम्मको र एस.इ.ई. विशेष रेडियो शिक्षा कार्यक्रम गत बैशाख दोस्रो साताबाट सञ्चालनमै रहेको छ । रेडियोबाट हरेक दिन बिहान ८ बजे एस.इ.ई. विशेष र दिउँसो ३ बजेदेखी ५ बजेसम्म कक्षा १ देखी १० सम्मको ट्युसन कक्षा चलिरहेको छ ।

रेडियोबाट सञ्चालन भइरहेको ट्यसन कक्षालाई यथावत राख्दै घुम्ती शिक्षक परिचालन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख न्यौपानेको भनाई छ । ‘रेडियो शिक्षा कार्यक्रम प्रभावकारी देखिएको हुँदा अभिभावकलाई थप जानकारी गराउने निर्णय भएको छ,’ उहाँले भन्नुभयो ।

उक्त बैठकमा समितिका पदाधिकारी, राप्तीसोनारी क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानाध्यापक, प्रिन्सिपल लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »