सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रुद्रमती नदीको ६ बर्षे सफाइ अभियानबाट ४ हजार ६ सय मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौं । रुद्रमती (धोबीखोला) सफाइ अभियानले ३१२ हप्ता अर्थात् ६ बर्ष पूरा गरेको छ । २०७० फागुन ३ गतेबाट शुरु भएको सफाई अभियानका क्रममा नदी र आसपास क्षेत्रबाट ४ हजार ६ सय मेट्रिक टन फोहोर संकलन तथा व्यवस्थापन भएको छ । यस अवधिमा सफाइका लागि ३५० संस्थागत र १ लाख ५६ हजारको व्यक्तिहरु सहभागी भएको छ । शनिबार महानगरको वडा नं. ९ स्थित सेतोपुलमा, सफाई अभियानमा विशेष योगदान गर्ने संस्थाहरुलाई सम्मान गर्ने गरी आयोजना गरिएको विशेष समारोहमा यस सम्बन्धि जानकारी दिइएको हो । कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सफाइ अभियानमा स्थानीय र सरोकारवालालाई प्रतिवद्धता गराउनुभएको भएको थियो भने पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले आगामी २१ हप्ते महाअभियानका कार्यक्रम घोषणा गर्नुभएको थियो ।

त्यस क्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले — सफाइ अभियानमा रुद्रमती समन्वय समितिले पु¥याएको योगदानको प्रशंशा गर्दै नदीमा स्वच्छ पानी प्रवाह गराएपछि परिणाम देखिने बताउनुभयो । नदीमा ढल मिसाइएको छ । नदी आसपासका सार्वजनिक जग्गा मिचिएका छन् । यसले नदी र मानिस दुवैको सभ्यता गुमाउँछ, उहाँले एकीकृत बिकासमा जोड दिँदै भन्नुभयो — सरकार र स्थानीय दुवैले आफ्ना—आफ्ना ठाउँबाट दायित्व पूरा गर्नुपर्छ । त्यस क्रममा बोल्दै पूर्व मन्त्री थापाले भन्नुभयो — सडक किनारामा राखिएको डस्टबिनमा फोहोर फाल्नुको सट्टा सडकमा फाल्नेलाई महानगरले सफा गरेन भन्ने नैतिक दायित्व नहुने बताउनुभयो ।

महानगरलाई सफाइको काम मात्र गर भनेर पूर्वाधार बिकासको जिम्मेवारी नदिने हो भने यसले कहिल्यै परिणाम ल्याउँदैन । कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो — हामीले सफा गरेको ठाउँमा अर्को आएर खाडल बनाइदिन्छ । त्यहाँ त्यत्तिकै फोहोर भइहाल्छ नि । पूर्वाधारको काम पनि महानगरमा आउने हो भने कहाँ कसरी पूर्वाधार बनाउने र सफा कसरी गर्ने महानगर आफैंले योजना बनाउँछ । यसले दिगो सफाइ हुन्छ । सफाइ अभियानका बारेमा धारणा राख्दै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले भन्नुभयो — सफाइ अभियान गरेर होइन, फोहोर नगरौं अभियान चलाएर मात्र नगरलाई स्वच्छ बनाउन सकिन्छ । एकाथरी फोहोर गरिरहने, अर्कोथरी फोहोर गरिरहने भएपछि सफाइको काम कहिल्यै सकिँदैन ।

त्यस क्रममा रुद्रमती समन्वय समितिका सहसंयोजक बासुदेव मरासिनीले ६ बर्षे अभियानको प्रस्तुति गर्दै, नदी सफाइका अतिरिक्त नदीको सुन्दरता, हरियाली विकास र ट्राफिक व्यवस्थापन, धोबीखोला करिडोर निर्माण लगायतका कार्य उपलब्धी हासील भएको बताउनुभयो । त्यस्तै समितिका सदस्यसचिव रोहितराज गिरीले, सफाईमा चेतना बढाउन र अभियन्ताहरुलाई उत्प्रेरित गर्न अभियान ५० औं हप्ता, १००, १५०, २०० र २५० हप्ता पूरा भएको अवसरमा बिशेष कार्यक्रम आयोजना गरिएको र यसको निरन्तरताका लागि आगामी २१ हप्ताका लागि बिशेष कार्यक्रम घोषणा गरिएको बताउनुभयो । सहभागिताका कोणबाट सफाइ अभियान अनुकरणीय छ । कार्यक्रममा फोहोरमैला व्यवस्थापन संघका अध्यक्ष ध्रुव आचार्यले महानगरसँग निजी र सामुदायिक संघ संस्था मिलेर नै यति उपलब्धी भएको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा रुद्रमती नदीले छोएका काठमाडौं र बुढानिलकण्ठ नगरका वडाध्यक्ष, वडासदस्य, सफाइ अभियन्ता, टोल सुधार समिति तथा सामुदायिक संघसंस्था, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेनाको सहभागिता थियो । कार्यक्रममा उपत्यकामा सञ्चालन भएको नदी सफाइ अभियानमा आवद्ध संघ संस्था र रुद्रमती नदी सफाइमा आवद्ध संघसंस्था तथा व्यक्तिलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

रुद्रमती सफाइको आगामी २१ हप्ते महाअभियान
मुहानदेखि दोभानसम्म विशेष सरसफाई कार्यक्रम सञ्चालन हुने सफाइ महाअभियानको आगामी २१ हप्तामा रुद्रमती नदी आसपासका विद्यालयका विद्यार्थीहरुको सहभागितामा रुद्रमतीको बारेमा निबन्ध प्रतियोगिता गर्ने, नदी किनारमा बृक्षारोपण र हरियाली प्रबर्धन गर्ने लगायतका कार्यक्रम आयोजना हुनेछन् ।

त्यस्तै सफाईलाई उत्सबको रुपमा र नदी संरक्षणमा सबैको चासो बढाउन २०७७ असार २७ गते रुद्रमती सफाई अभियानको ३३३ हप्ताको अवसरमा रुद्रमती किनारमा हातेमालो कार्यक्रम गर्ने कार्यक्रम तय गरिएको छ । काठमाडौं महानगरपालिका वडा ३० क्षेत्र, वडा ७ को कालोपुलदेखि रातोपुल सम्मको क्षेत्र र वडा ९ को रातोपुलदेखि सेतोपुलसम्मको क्षेत्रलाई श्रोतमा फोहर वर्र्गीकरण, विशेष सरसफाई र सफाईमा आम नागरिकलाई जिम्मेवारी बढाउने लक्ष्य राखिएको छ । यसबाट ती क्षेत्रहरु सरसफाईका कोणबाट नमूना क्षेत्र बनाउने अभियानको लक्ष्य हो ।
यस्तै रुद्रमती नदी किनारको उपयुक्त स्थानमा रुद्रमती स्मारक÷पार्क निर्माण गर्ने र सफाई स्तम्भको घोषणा कार्यक्रम पनि महाअभियानका क्रममा राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »