सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रौतहटमा आज मात्रै ३५ जनामा कोरोना संक्रमण,संक्रमित राख्ने स्थानको अभाव

रौतहट। रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १०५ पुगेको छ ।

आज संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न शहरबाट भर्खरै रौतहट आएका नेपालीहरू रहेका छन् । संक्रमितहरुमध्ये गौर नगरपालिकाका ८ जना र गढीमाई नगरपालिकाका ७ जना, देवाही गोनाही नगरपालिकाका २, ईशनाथ नगरपालिकाका १६ जना, कटहरिया नगरपालिकाका २ जना रहेका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

उनले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरेक हुन् । संक्रमति सबै सम्बन्धित पालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेकाहरू नै छन् । उनका अनुसार संक्रमित पुष्टि भएका सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । तर संक्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने भन्ने समस्या आएको छ ।

जिल्लामा पर्याप्त आइसोलेसन वार्ड नभएकाले अब आज पुष्टि भएकाहरुलाई कहाँ राखेर उपचार गर्ने भनेर छलफल भइरहेको घिमिरेको भनाइ छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाइनमा ३ हजार १ सय ७४ जना रहेका छन् । जसमध्ये २ हजार ९ सय ६३ पुरुष र २ सय ११ महिला रहेका छन् ।

जिल्लामा भारतमा रहेका करिब १० हजार हाराहारी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान रहेको छ । स्वाब परीक्षणको रिपाेर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »