सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लकडाउनको बेलामा खाद्यान्न चाहिएमा यी माध्यमबाट घरैमा मगाउनुहोस

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि देशभर लागू गरिएको बन्दाबन्दीमा मानिसहरू अहिले घरमै क्वारेन्टिनमा बसेका छन्। अत्यावश्यक उपभोग्य वस्तु किनमेलका लागि दिनको निश्चित समय तोकिएको छ। तर, संक्रमणको जोखिम र सुरक्षालाई ध्यानमा राख्दै कतिपयलाई घर बाहिर निस्किन सहज नहुन सक्छ। यिनै उपभोक्तालाई लक्षित गरेर विभिन्न सुपरस्टोर र अनलाइन पसलले खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको होम डेलिभरी सेवा दिइरहेका छन्।

बन्दाबन्दीको समयमा भाटभटेनी, बिगमार्ट, सेल्सबेरी जस्ता सुपरमार्केटहरुले खाद्यान्नको होम डेलिभरी गरिरहेका छन्। यस्तै, अनलाइन पसल दराज एक्सप्रेस, फूडमान्डु, फूडमारियो, निम्बस लगायतले पनि खाद्यान्न, तरकारी, मासु, तेल जस्ता सामानको होम डेलिभरी गर्न थालेका छन्।

सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि गएको सातादेखि ई-कमर्श क्षेत्रमा पाइला राख्दै चामल, कर्णालीको सिमी लगायतका वस्तु घरैमा लगिदिने सेवा शुरु गरेको छ। अहिले काठमाडौं चक्रपथभित्रका सेवाग्राहीको लागि मात्रै सामान अर्डर र होम डेलिभरीको सुविधा दिएको खाद्यका बिक्री वितरण शाखा प्रमुख लालमोहन ठाकुरले बताए। जीरा मसिनो, सोना मन्सुली लगायतका चामल बिक्री गरिरहेको खाद्यले नेपालफूड डट जीओभी डट एनपी वेबसाइटबाट कम्तिमा रु.२ हजार र अधिकतम रु.५ हजार बराबरको अर्डर लिएर घरैमा निःशुल्क पुर्‍याइदिन्छ। सामान खरीद गरेपछि डिजिटल भुक्तानी मात्र स्विकार्ने खाद्यले जनाएको छ।

काठमाडौं उपत्यकामा ११ वटा र उपत्यका बाहिरका प्रमुख शहरमा १८ वटा सुपरस्टोर रहेको भाटभटेनीले सबैतिरबाट होम डेलिभरी सेवा दिइरहेको अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए। सेवाग्राहीलाई संक्रमणको जोखिम मोल्दै घरबाट निस्कन नपरोस् भनेर यो सेवा शुरू गरेको उनले बताए।

“एउटा परिवारलाई कम्तिमा एक हप्ताभरको लागि आवश्यक खाद्यान्न घरैमा पुर्‍याइदिन खोजिरहेका छौं”, पौडेलले भने। दैनिक करीब दुई हजार घरपरिवार भाटभटेनीको सेवाबाट लाभान्वित भइरहेको उनको दाबी छ। सामानको अर्डर भाटभटेनीको अफिसियल इन्स्टाग्राम, भाइबर पेज, ह्वाट्स एपबाट गर्न सकिनेछ।

दराज एक्सप्रेसले बिगमार्टसँगको सहकार्यमा खाद्यान्न लगायतका सामग्रीको होम डेलिभरी गरिरहेको दराजकी ब्रान्ड मेनेजर एलिना नकर्मीले बताइन्। दराजमा बिगमार्टको छुट्टै अनलाइन स्टोर नै छ। सामान्य अवस्थामा विविध सामानको बिक्री गर्दै आएको दराजले बन्दाबन्दी शुरु भएपछि बजारको आवश्यकता अनुसार खाद्यान्नको पनि होम डेलिभरी गर्न थालेको हो।

निम्बसले निम्बस बजार डट कम मार्फत उपत्यकावासीलाई खाद्यान्न होम डेलिभरी गरिरहेको छ। दैनिक तीन सयदेखि साढे तीन सय परिवारलाई सेवा दिइरहेको निम्बसका मेनेजिङ डाइरेक्टर आनन्द बगरियाले बताए। उनका अनुसार, अनलाइनबाट मात्रै अर्डर गर्न सकिने निम्बसमा रु.२ हजारसम्मको सामान किन्दा रु.२ सय ढुवानी खर्च लिइने र त्यसभन्दा माथिको अर्डर गरेमा निःशुल्क पुर्‍याइदिने व्यवस्था छ।

यस्तै, ग्रामीण भेगका खाद्यान्न र कृषि उत्पादन ल्याएर बिक्री गर्दै आएको ग्रीनग्रोथले अनलाइन मार्फत तरकारी बिक्री गर्दै आएको छ। अर्डर लिएर साताको तीन दिन सोमबार, बुधबार र शनिबार होम डेलिभरी गर्ने गरेको संस्थाले बन्दाबन्दीको समयमा पनि यही तालिका अनुसार सेवा दिइरहेको संचालकमध्येका सौरभ ढकालले जानकारी दिए। उनका अनुसार, कम्तिमा रु.५ सयको तरकारी अर्डर गर्नुपर्छ र यसको तीन दिनपछि ग्राहकको हातमा पर्छ।

बन्दाबन्दीका कारण सप्तरी, महोत्तरी, सिन्धुली लगायतका अधिकांश फार्मबाट तरकारी ल्याउन नपाउँदा अहिले सातामा सय जना सेवाग्राहीलाई मात्र अर्डर पुर्‍याउन सकिरहेको ढकालले बताए। ग्रीनग्रोथको ग्रीनग्रोथ डट लाइफ वेबसाइट, ट्विटर तथा फोनबाट समेत तरकारीको अर्डर गर्न सकिन्छ।

विभिन्न रेष्टुरेन्टसँगको सहकार्यमा तयारी परिकारको होम डेलिभरी गर्दै आएको फूडमान्डुले बदलिएको परिस्थिति अनुसार अहिले तरकारी, फलफूल, फ्रोजन मिट, मासु, अण्डा, बेकरी लगायत सामान घरदैलोमा पुर्‍याउन थालेको छ। फूडमान्डुका संस्थापक मनोहर अधिकारीले अहिले रेष्टुरेन्टहरु सबै बन्द भएकाले सेवाग्राहीको माग अनुसार नयाँ काम शुरु गरेको बताए।

खानाका परिकार घरदैलोमा पुर्‍याउँदै आएको फूडमारियोले पनि बन्दाबन्दीका कारण नियमित सेवा पनि ठप्प भएपछि बजारको माग अनुसार तरकारी र खाद्यान्नको होम डेलिभरी गर्न शुरु गरेको छ। काठमाडौं र ललितपुरका सेवाग्राहीलाई लक्षित गरिएको अनलाइन पसलमा फुडमारियोको एप र फोन मार्फत अर्डर गर्न सकिने कम्पनीका संस्थापक रोहित तिवारीले बताए।

अर्को अनलाइन पसल सस्तोडिलले पनि ग्राहकको अर्डर अनुसार चामल, दाल, विद्युतीय चुल्हो, डाइपर लगायतका समान उपलब्ध गराउँदै आएको छ। सस्तोडिलको सेवाबाट काठमाडौं उपत्यकाभित्रका दैनिक सात सय परिवार लाभान्वित भइरहेको मार्केटिङ मेनेजर प्रज्वल ताम्राकारले बताए। सस्तोडिललाट सामान मगाउन कम्तिमा रु.१ हजार बराबरको सामान अर्डर गर्नुपर्छ। ढुवानी खर्च रु.१ सय लिने गरेको छ।

सस्तोडिलबाट एनएमबी ब्याङ्क र ग्लोबल आईएमईबाट पैसा तिर्दा १५ प्रतिशत रकम सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा हुने ताम्राकारले बताए। यस्तै, सामानको बिल सेल–पे बाट भुक्तानी गर्दा क्रेताले १५ वटा मास्क पाउँछन्।

यस्तै, बन्दाबन्दीकै बीच दुई सातादेखि सेवा शुरु गरेको ग्यापु डट कमले न्यूनतम रु.१ हजार बराबरको सामान अर्डर गर्दा काठमाडौं उपत्यकाका साथै काभ्रेको बनेपासम्म नि:शुल्क डेलिभरी गर्ने गरेको छ। थोकमा सामान ल्याउने गरेकोले बजारमूल्यभन्दा सस्तैमा सामान बिक्री गर्ने गरेको वित्त प्रबन्धक प्रतीक नापितले बताए। उनका अनुसार, दैनिक ५ सयभन्दा बढी अर्डर आउने गरेको छ।

मेरो किराना लगायतका अनलाइन पसलहरुले पनि खाद्यान्न लगायतका अत्यावश्यक वस्तु घरैमा पुर्‍याउने सेवा दिइरहेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »