सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वासुदेवलाई आमाको किरिया गर्न आउन दिन दिल्लीमा मन्त्रीले निर्णय गर्नुपर्ने

दार्चुला । हिउँदमा मजदुरीका लागि भारत छिरेका शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन १५ दिनअगाडि सीमावर्ती क्षेत्र धार्चुला आए।

उनी सीमामा आएको पाँच दिन अघिदेखि नै नेपाल प्रवेश नाका बन्द भइसकेको थियो। त्यसपछि उनी बलुवाकोटको महाविद्यालय क्वारेन्टाइनमा बसे। स्वदेशको साँधमै अड्किएका उनले घरमा फोन गरी पिर नमान्नु भन्दै जानकारी गराएका थिए।

घर फर्कने आशामा बसेका उनले मंगलबार पनि घरमा सम्पर्क गरे। तर, अचानक आमा बितेको खबर पाएपछि उनी बेहोसझैं बने। ‘उनी रोइकराइ गर्छन्। सामान्य अवस्थामा आउन सकेका छैनन्,’ बलुवाकोटबाट वासुदेवसँगै रहेका दिलेन्द्र महताले भने।

मंगलबारदेखि नै उनले आमाको अन्तिम संस्कारमा जान हारगुहार गरेका थिए। तर, नेपाल प्रवेश गर्न सहज नहुँदा प्रवासको शिविरमै उनी सेतो कपडामा किरियामा बसेका छन्। आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन् नै नेपाल प्रवेशको अनुमति नपाएपछि क्वारेन्टाइनमै किरिया बसेका छन्।

घरमा आमा बितेपछि भारतको धार्चुलाको शिविरमा कोरामा बसेका वासुदेव भट्टलाई नेपाल आउन दिन भारतीय मन्त्रीले निर्णय गर्नुपर्ने भएको छ।

शैल्यशिखर नगरपालिका-१ का ३५ वर्षीय वासुदेव भट्टकी आमा मंगलबार बितेकी थिइन्। उनले आमाको अन्तिम संस्कारमा आउन दिन नेपाली अधिकारीहरूसँग बारम्बार आग्रह गरेका थिए। तर लकडाउनका कारण आउन नमिल्ने बताएपछि उनी क्वारेन्टिनमै कोरामा बसेका छन्।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले वासुदेवलाई नेपाल ल्याउन पहल थालिएको बताएका छन्।

‘भारतमा क्वारेन्टिनमा बस्नु भएको उहाँबारे हिजो मलाई जानकारी आयो। बायोडाटासहितको अनुरोध पत्र भारतको एसडिएमको कार्यालयमा पठायौं,’ पौडेलले भने, ‘एचडिएम कार्यालयले आफ्नो तालुक निकायसँग अनुमति लिएर सहजिकरण गर्दैछ। आज प्रकृया पूरा भएर उहाँ आउनुहुन्छ होलाजस्तो मलाई लाग्छ।’

भारतबाट अनुमति पाएपछि नेपाल ल्याउन ढिलो नहुने उनले बताए। ‘किरिया बस्नु भनेको स्वत: सेल्फ क्वारेन्टिन बस्नु हो। स्वास्थ्यकर्मीबाट र्‍यापिड टेस्ट गराएर जिम्मेवार मान्छे लगाएर उहाँलाई क्वारेन्टिन बस्ने व्यवस्था मिलाउने तयारी छ,’ उनले भने।

भारतीय पक्षले भने वासुदेवलाई घर आउन दिनेबारे नयाँदिल्लीबाट निर्णय हुनु पर्ने बताएको छ। भारतको पिथौरागढका जिल्ला मजिस्ट्रेट डाक्टर विजयकुमार जोगदंडेले त्यसको प्रक्रिया अघि बढेको बताए।

‘सम्बन्धित माथिल्लो निकायबाट आदेश प्राप्त हुनुपर्छ। केही समय लाग्न सक्छ,’ उनले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भने,‘दिल्लीस्थित नेपाली राजदूतावासले समन्वय गरेर मन्त्रीस्तरको निर्णय आउनेबित्तिकै काम हुन्छ।’

उनले अहिले भारतको सीमाक्षेत्र सिल रहेकाले कसैलाई पनि आवतजावतको अनुमति जिल्लास्तरबाट दिन नसकिने बताए। नयाँदिल्लीस्थित नेपाली राजदूतावासले भने वासुदेवलाई नेपाल पठाउने पहल गर्न कुनै पनि किसिमको निर्देशन नआएको जनाएको छ।

‘हामीलाई काठमाडौंबाट आएको निर्देशन सीमामा आवातजावत पूर्ण रूपमा बन्द गर्न। नो इफ नो बट भन्ने छ,’ दूतावासका प्रवक्ता हरि ओडारीले सेतोपाटीसँग भने,‘दार्चुलाको स्थानीय प्रशासन, गृह वा परराष्ट्र मन्त्रालय जुनसुकै निकायबाट औपचारिक जानकारी आउनासाथ हामी यहाँ प्रक्रिया सुरू गरिहाल्छौं।’

आमाको किरिया बसेको नागरिकलाई आफ्नो देश लैजान्छौं भन्दा भारतीय पक्षले नरोक्ने बताए। यता परराष्ट्र मन्त्रालयले भने वासुदेवलाई नेपाल फिर्ता ल्याउन पहल गरिदिन गृह मन्त्रालयबाट कुनै अनुरोध नभएको जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »