सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदेशबाट फर्किएको ४२ औं दिनपछि धादिङका एक युवकमा आरडीटी परीक्षण पोजिटिभ

धादिङ। दक्षिण कोरियाबाट फर्केका धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते (मार्च ४)मा दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए ।

आफू कोरियाबाट फर्केको ४० दिन भएको बताउने उक्त युवाको आज र्‍यापिड टेस्ट गर्दा नतिजा पोजेटिभ आएको वडा नम्बर ३ का वडाध्यक्ष रुद्रमान श्रेष्ठले जानकारी दिए। उनले युवकलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको बताए। ‘एम्बुलेन्स तयारी हुँदैछ। केहीबेरमा टेकु अस्पताल पठाउँदैछौं,’ उनले भने।

सामाजिक संस्थामा काम गर्ने युवक झन्डै दुई महिना कोरिया बसेर फर्किएको बुझिएको छ। उनी कोरियाबाट आएर सोझै हेटौंडा पुगेको र त्यहाँबाट धादिङ फर्किएको भन्ने छ। विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ । ‘नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गर्दैछौं,’ उनले भने, ‘थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउँदैछौं ।’

फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ । ‘उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए । उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए । स्थानीयहरुले गुनासो गरे पछि त्यतिबेलै स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई लिएर घरमै गएका वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर सफाई दिएका थिए । वडाध्यक्ष श्रेष्ठले आफूहरुसँग त्यसबेला परिक्षण गर्ने कुनै साधन नभएकोले त्यसै फर्किएको बताएका छन् ।

आज भने युवकको र्‍यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको छ। ती युवक हाल परिवारका अन्य तीन सदस्यसँग घरमा बसोबास गर्दै आएका थिए । सदरमुकाममा पसल गरी बस्ने बाबुआमाहरु पनि लकडाउन पछि घरै गएका छन् ।

मंगलबारबाटै ज्वालामुखी र बेनीघाटमा परिक्षण आरम्भ गरिएको छ भने नीलकण्ठ नगरपालिकामा ५०, गल्छीमा ३६, नेत्रावतीमा ३६, त्रिपुरासुन्दरीमा २०, धुनीबेंसी नगरपालिकामा १४, गजुरीमा ७ र गंगाजमुनामा ३ जना समेत जम्मा १ सय ६६ जनाको स्वाब परिक्षण नेगेटिभ देखिएको थियो ।

क्वारेन्टिनमा राखिएका गल्छीमा १ जना र गजुरीमा २३ जनालाई बुधबार नै बिदाई गरेपछि जिल्लाका सबै क्वारेन्टिनहरु शून्यमा झर्नेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »