सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विदेशमा अलपत्र नेपालीको उद्धारमा एक साता उडान तालिका थप, ४२ चार्टर उडान हुने

काठमाडौँ / २८ असार
सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न तेस्रोपटक एक साताका लागि उडान तालिका थपेको छ ।आगामी बुधबारदेखि ६ वटा मुलुकबाट ४२ वटा उद्धार उडान हुँदैछन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) छाउनीका अनुसार आगामी बुधबार (असार ३१) देखि सुरु हुने उद्धार उडान साउन ६ गते मंगलबारसम्म सञ्चालन हुने छ । सीसीएमसीले सार्वजनिक गरेको तालिका अनुसार युएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मेलेसियाबाट नेपाली नागरिकलाई उद्धार गरिने छ ।

सीसीएमसीले उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको निर्देशक समितिले गरेको शुक्रबारको निर्णय अनुसार तालिका सार्वजनिक गरेको उल्लेख गरेको छ । सरकारले नियमित हुने व्यवसायिक उडान साउन ६ गतेसम्म रोकेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार सीसीएमसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा तेस्रोपटकको उद्धार उडान तालिका सार्वजनिक गरेको हो ।

कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने सरकारको अभियानको आज अन्तिम दिन (असार २८) हो । तेस्रो चरणको उद्धार उडान सुरु हुनअघि सरकारले दुई दिन उडान रोकेको छ । यो दुई दिन सरकारले उद्धार उडानमा भएका कमी कमजोरीमा समीक्षा गर्ने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »